साप्ताहिक संवाददाता
गीतकार सुमन श्रापितको गीतसंग्रह ‘भावनाको खेती’ माथी पोखरामा परिचर्चा गरिएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान नेपालले गत साता पोखरामा एक कार्यक्रमको आयोजना गरी भावनाको खेती माथि परिचर्चा गरेको हो ।
गीतकार संघ नेपालद्वारा ‘वर्ष गीत पुस्तक पुरस्कार’ प्राप्त गर्न सफल गीतकार श्रापितका ‘भावनाको खेती’ भित्र १ सय २८ गीत संग्रहित छन् । बाग्लुङमा जन्मेका श्रापितको सार्वजनिक गीत संग्रहमा देशप्रेम, सामाजिक, आर्थिक, मानिस प्रेम, दु:खसुख लगायतका विषय बस्तु समेटिएका छन् ।
पुस्तकमाथी परिचर्चा गर्दै समिक्षक असफल गौतमले सुमनका गीत सरसरती हेर्दा गीतकार सुमन राष्ट्रवादी सचेत श्रष्टा भएको उल्लेख गरे । गौतमका अनुसार सुमनका गीतमा प्रेमभाव र प्रकृतिलाई पनि समावेश गरिएको छ ।
श्रष्टाको परिचय दिदै गजलकार रुपिन्द्र प्रभावीले सुमन पोखरेली गीतकारको ऐतिहासिक दास्ताबेज राख्न सक्ने गीतका सर्जक भएको बताए । सुमनका गीतमा एउटा हुटहुटी छ ‘उनले भने’ उनि हृदयका गीतकार हुन् ।
वरिष्ठ गीतकार कृष्ण हरि बरालले पोखरा आफैंमा गीत, साहित्य, कला भएका श्रापित सफल गीतकार भएको उल्लेख गरे । पोखराका स्थाननै बिम्ब भएर आँखामा झल्किन्छन् ‘उनले भने’ पोखरामा जता हेरे पनि कवि, लेखक र समिक्षक देखिन्छ ।
साहित्यमा दुई कुरा के र कसरी लाई बढि ध्यान दिनुपर्ने उनको भनाई छ । के लाई कसरी प्रस्तुत गरिएको छ त्यो नै साहित्य भएको उनले बताए । सुमनका गीतका विषयमा बोल्दै बरालले उनका गीतमा अभिव्यक्ति गर्ने शैलीनै आर्कषक रहेको बताए । उनका अनुसार गीतको पुस्तक छाप्नु भन्दा पहिलेनै परिचर्चा गर्नुपर्छ । तर हामी पहिले पुस्तक छाप्छौ अनि मात्र चर्चा गर्छौ यो गलत भईरहेको बरालले बताए । यसको सुधार हुनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै श्रष्टा सुमन श्रापितले सानै देखि आफुलाई गीत लेख्न मन परे पनि औपचारिक रुपमा १९ वर्ष देखि निरन्तर आफुले गीत लेख्दै आएको बताए । आफ्ना गीतमा संगीत भरेर साथ दिनेसंगीतकार बिबि अनुरागीलाई पनि उनले सम्झना गरे । संगीतकार बिबीले सुमनको लेख्ने शैलीसँग आफु चिरपरिचित भएको बताए ।
हिमालयन रिडर्स कर्नर पोखराको हलमा सम्पन्न कार्यक्रममा संगीतकार प्राज्ञ हरिदेवी कोईराला, संगीतकार नबराज बराल लगायतले बोलेका थिए ।
आयोजक संस्थाका उपाध्यक्ष अभिमन्यु विक्रम राणाले स्वागत गरेको कार्यक्रमको अध्यक्षता सप्तरङ्गी प्रतिष्ठान नेपालका अध्यक्ष लोकगायक पदमराज ढकालले गरेका थिए ।