के हो हाइमेन ?
खासमा पूरै वा आंशिक रूपमा बाह्य योनीद्वार ढाक्ने पातलो झिल्ली हो– हाइमेन । यसमा सानो छिद्र हुन्छ । महिनावारीका बेला यहीँबाट रगत निस्किन्छ । जन्मिँदै धेरैजसो बालिकामा हुने यो हाइमेन बाल्यावस्थामा चन्द्रमा आकारको भए पनि आकारमा विविधता भने सम्भव छ । करिब शून्य दशमलव ००३ प्रतिशत बालिकामा जन्मजात हाइमेन हुँदैन । हरेक वर्ष एक मिलिमिटरको दरले हाइमेनको आकार ठूलो तथा लचकदार हँुदै जान्छ । पाँच महिनाको गर्भमै बनिसक्ने हाइमेन स्कुले उमेरमा क्रमश: पातलो, कमलो, नरम एवं पारदर्शी हुँदै जान्छ । शिशु जन्माएर पछि सानो त्यान्द्रो बाहेक हाइमेनको नामोनिशान बाँकी नरहन सक्छ ।
स्त्री जननेन्द्रियको विकासक्रममा हुने कुनै पनि खराबीले हाइमेनमा असर गर्न सक्छ । हाइमेनसम्बन्धी सबैभन्दा ठूलो जन्मजात समस्या हाइमेनमा प्वाल नहुने समस्या हो । बाक्लो हाइमेनमा छिद्र नभै महिनावारीको रगत बाहिरिन नसक्ने अवस्थामा योनीमा रगत जम्मा भै सिर्जना हुने पीडादायक अवस्थालाई क्रिप्टोमेनोरिया भनिन्छ । यस्तो अवस्थामा सानो शल्यक्रिया गरी जमेको कालो रगत निकालिन्छ ।
हाइमेनलाई कुमारीत्वको पर्यायका रूपमा लिइए पनि यो फरक कुरा हो । कुमारीत्व साधारण कुरा जस्तो लागे पनि कतिपय समाजमा पहिलो रातमा रगत नबग्नुलाई लाजमर्दो वा कुरा बेइज्जतीका रूपमा लिइन्छ । कतिपय रुढीवादी समुदायमा बेहुला पक्षका अग्रज महिला वा डाक्टरले हाइमेन छ/छैन जाँच गर्छन् ।
विवाहपछि मात्र यौनसम्बन्ध राख्न स्विकृति दिने कतिपय धार्मिक परम्परामा यदि जान अन्जानमा नियम तोडेको छ भने कडा खालको सजाय भोग्नु पर्ने हुन्छ । त्यस क्रममा पारपाचुके दिने वा मारिनेसम्मका घटना पनि हुनसक्छ । कतिपय देशमा आधिकारिक रूपमै कुमारित्वको प्रमाणपत्र जारी गर्ने नियम छ ।
यस्तो विपत्तिबाट जोगिन कतिपयले चलाखी गरी रगत बगेको देखाउन जनावरको रगत प्रयोग गर्ने, गोप्य अंगमा आपैंmले घाउ बनाउने आदि काम गर्छन् । बाध्यतामा परेका वा धनाढ्य महिलाले विवाहपूर्व हाइमेन सच्याउने शल्यक्रिया गराउँछन् । बजारमा कृत्रिम हाइमेन पनि किन्न पाइन्छ ।
राम्रोसँग योनिद्वारमा टाँसेको खण्डमा कृत्रिम हाइमेन पनि वास्तविक नच्यातिएको हाइमेन जस्तै देखिन्छ । यस्तो हाइमेन हाल चीनबाट इजिप्टमा बढी निर्यात हुने गरेको छ । जबर्जस्ती (करणी), बाल यौन दुव्र्यवहारका घटनामा हाइमेनको परीक्षणमा जोड दिइए पनि जसरी तस्बिर हेरेर अघाएको हो कि भोको भन्न सकिँदैन त्यसैगरी केवल हाइमेनको जाँच गरी कुमारित्व छ कि छैन भन्न सकिँदैन । किनभने युवावस्थामा च्यातिएको हाइमेन चाँडै निको हुन सक्छ भने हाइमेनको छिद्र आपैंm विभिन्न प्राकृतिक कारणले ठूलो हुन् वा विभिन्न आकार ग्रहण गर्न सक्ने हुन्छ ।
हाइमेनसम्बन्धी
रोमान्टिक कथा
तल्लो जातिको भए पनि हाइमेन निकै सुन्दर एथेनियन युवक थिए जो सहरकै एक धनाढ्यकी छोरीको प्रेमजालमा परे । उनी आफ्नो सामाजिक हैसियतका कारण आफ्नो प्रेम व्यक्त गर्न सक्दैनथे तर पनि चुपचाप जहाँतहीँ पछ्याउँथे । एकपटक हाइमेन केटीको भेषधारण गरी केटीहरू मात्र जान मिल्ने समारोहमा छिरे, तर विपक्षी गार्डहरूले उनलाई पक्रेर बन्दी बनाए ।
त्यसपछि हाइमेनले केटीहरूलाई मोहजालमा पारी ती गार्डहरूलाई नै मार्ने योजना बनाए, र त्यसमा सफल पनि भए । त्यसपछि हाइमेन केटीहरूसँगै एथेन्स फर्किए । त्यसपछि हाइमेनले आफ्नी प्रेमिकासँग विवाह गरे । यसरी उनले एकैपटक दुवै लक्ष्य फेला पारे । उक्त विवाहोत्सव यति रमाइलो भयो कि स्थानीयवासीले त्यहीबेलादेखि उनको सम्मानमा हाइमेन पर्व मनाउन थालेको बताइन्छ ।