रेखा थापा यो संसारमा नभएकी भए के हुन्थ्यो होला ?
खै, भगवान्सँग एकपटक अन्तर्वार्ता लिनुस् न, थाहा भैहाल्छ नि ।
संसारमा भगवान् छन् र ?
किन नहुनु ? छन् । हाम्रो आत्माभित्र छन् भगवान् । हामीलाई निरन्तर हेरिरहेका छन् ।
भगवान् फेला परेर कुनै एउटा कुरा माग्नुपर्यो भने ?
भगवान्सँग माग्ने बानी खासै छैन । कतै फेला परिहाले एउटै कुरा भन्नेछु— थ्यांक्स फर एभरिथिङ ।
चलचित्रमा नलागेको भए ?
म कहिल्यै विकल्प बोकेर हिँड्ने मान्छे होइन, त्यसैले यो प्रश्न सोध्नु नै बेकार छ ।
कहिलेकाहीं केटा मान्छे भएर जन्मिएको भए हिरो बन्न पाइन्थ्यो भन्ने लाग्दैन ?
हाहा.., तपाईंहरूलाई थाहै होला, म कमान्डिङ रोलमै अभिनय गरिरहेकी छु । एक हिसाबले म हिरो नै हो । हिरो भनिनेहरूले मभन्दा कम चर्चा पाउँछन् ।
३७ वर्ष पुगिसक्दा पनि विवाह गर्ने छाँटकाट छैन, किन हो ?
खुरु–खुरु काम गरिरहेकी छु, दर्शकका लागि चलचित्र दिइरहेकी छु । समय हुँदा समाजसेवामा पनि क्रियाशील छु । अहिले नै हतार नगरौं क्यारे !
उमेरले नेटो काट्दै जाला, बूढीकन्या भन्लान् नि ?
कसले के भन्छ भन्ने कुरामा म खासै चिन्ता लिन्नँ ।
होइन, बेलामा विवाह नगरेर पछि बूढीकन्या भएर केटा नपाइएला नि ?
यो विषयमा तपाईलाई किन चिन्ता ? विवाह नै गरोस् भन्ने चाहना हो भने खोजिदिनु नि राम्रो मान्छे ।
त्यसो भए विवाह नहुने सम्भावना पनि छ, होइन त ?
विवाह नहोला भन्ने त छैन, तर कहिले हुन्छ भन्ने कुरा पनि पक्का भैसकेको छैन । मलाई यति मात्र थाहा छ, मेरो विवाहचाहिँ हुन्छ ।
आजभोलि खासै चलचित्र चल्दैनन्, कहिलेकाहीं बाटो परिवर्तन गरौं भन्ने लाग्दैन ?
रेखा थापा १८ वर्षदेखि निरन्तर यो क्षेत्रमा क्रियाशील छे । हरेक वर्ष मेरो एउटा न एउटा चलचित्र आएकै छ । नाम, दाम र दर्शकको अथाह माया पाएकी छु, त्यस्तो सोच त कहिल्यै आएन र भोलिका दिनमा पनि आउँदैन ।
लङ ट्वाइलेटपछि धारामा पानी भएन भने ?
हाहाहा...त्यसको कुनै पनि विकल्प निस्कन्थ्यो होला, तर मैले अहिलेसम्म त्यस्तो अनुभव गर्न पाएकी छैन ।
मान्छेले खाना किन खान्छ ?
भोक लागेर नि !
यो संसारमा अन्न नभएको भए मानिसहरू के खाएर बाँच्थे होला ?
हावा खाएर बाँच्थे होला ।
बाटोमा हिँडिरहेका बेला युवाहरूले कत्तिको आँखा झिम्काउँछन् ?
म खासै पैदल हिँड्दिनँ । हिँडिहाले भने पनि सेल्फी खिच्न मात्र आउँछन् । आँखा झिम्क्याए त भेटिहाल्छन् नि !