साप्ताहिक संवाददाता
प्रेमकथामा आधारित चलचित्र निर्माण गर्न माहिर निर्देशक सुर्दशन थापाले निर्माण गरेको चलचित्र रामकहानी आज शुक्रबार देशव्यापी प्रदर्शनमा आएको छ । निर्देशक थापाले यो चलचित्रलाई आफ्ना अघिल्ला चलचित्रको तुलनामा अलिकति फरक बनाउने प्रयास गरेका छन् । रामकहानी हरर कमेडी चलचित्र भएको बताइन्छ ।
यसअघि नै सार्वजनिक चलचित्रको ट्रेलरलाई युट्युबमा राम्रै मानिएको थियो । महेश दवाडी र दिनेश न्यौपानेको पटकथा तथा संवादको यो चलचित्रमा हास्य कलाकारहरूलाई अभिनय गराएर सुदर्शनले अलिकति फरक स्वाद दिने प्रयास गरेका छन् ।
चलचित्रको कथा निर्देशक थापा स्वयंको हो । सौरभ लामाको छायांकन तथा बनिष शाह र मिलन श्रेष्ठको सम्पादनको यो चलचित्र काठमाडौं, पोखरा, रौतहट, कतार आदि स्थानमा खिचिएको छ । २ करोड रुपैयाँ लगानी भएको रामकहानीले युवापुस्ताको कथा बोल्ने निर्देशक सुदर्शन थापाले बताएका छन् ।
निर्देशक : सुदर्शन थापा
कलाकार : आकाश श्रेष्ठ, पूजा शर्मा, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रवीन्द्र झा, राजाराम पौडेल, शिशिर राना आदि ।
संगित : अर्जुन पोखरेल