सोर्हश्रृंगारमा सजिएर हिँड्ने यो मौसममा महिलाहरू छड्के तिलहरी, रातो, सुनौलो वा हरियो रंगका नयाँ–नयाँ डिजाइनर पोतेहरू लगाउन चाहन्छन् । अहिले बजारमा दर्जनौं डिजाइनका पोते उपलब्ध छन् । नौगेडी तथा पाँच गेडीका तिलहरी यसपटक पनि फेसनमा यथावत् छन् । केश विन्याससँगै सुनका सूर्य, चन्द्रमाका साथै विभिन्न फूलको सेपका क्लिप लगाउने चलन पनि फेसनमा छ । तीजका अवसरमा टिनएजरहरू फेन्सी एसेसरिज बढी रुचाउँछन् । दुलहीजस्तो सजिने हुँदा धागो, चुरा, गहना, इयररिङ, औंठी तथा बालाहरूको बजार पनि उस्तै छ । विवहित महिलाहरूका लागि विभिन्न स्टोन तथा रंगमा फरक–फरक डिजाइनका टीका पनि बजारमा भित्रिएका छन् । काँच तथा मेटलका सयौं डिजाइनका चुराले जोसुकैलाई आकर्षित गर्छन् । तीजका लागि रातो, हरियो, पहेंलो तथा सुनौलोदेखि हेभी स्टोनले डिजाइन गरिएका चुरा पनि फेसनमा छन् ।
मेहन्दी
तीजमा मेकअप तथा हेयरस्टाइल जत्तिकै महत्व मेहन्दीको पनि छ । तीजका बेला आफ्नो इच्छाअनुसार रिसर्व, कोहिनूर, मारवाडी, राजस्थानी आदि कलात्मक डिजाइनका मेहन्दी लगाउन सकिन्छ, तर यो अवसरका लागि सबैभन्दा उपयुक्त अरेविक मेहन्दी हुन्छ । यसमा फरक प्याटर्न मात्र हुँदैन यो सफा पनि देखिन्छ । मेटालिक, फेब्रिक तथा गोल्डेन मेहन्दी फेन्सी डिजाइनको मेहन्दीमा पर्छ । ग्लिटर टाटु, ब्ल्याक तथा ब्राउन मेहन्दी टेम्पोररी टाटु हुन् । त्यसैले यदि तीजमा मेहन्दी लगाउने हो भने कुन मेहन्दी लगाउने हो पहिले नै निर्णय गर्नुपर्छ, किनभने मेहन्दी लगाएपछि तुरुन्तै मेट्न सकिँदैन ।
नेल आर्ट
नङलाई आकर्षक बनाउन नेल एक्सटेन्सन तथा नेल आर्टका विभिन्न विधि प्रयोग गर्न सकिन्छ । त्यसमध्ये तीजका लागि जेल नेल एक्सटेन्सन उपयुक्त हुनसक्छ । यो आकर्षक तथा नेचुरलसमेत देखिन्छ । फ्रेन्च नेल बनाउँदा नङ सफा देखिन्छ । फ्रेन्च नङलाई आकर्षक देखाउन नेल आर्ट गराउन सकिन्छ । नेल आर्ट तथा पेन्टिङका सौखिनहरूका लागि टेम्पोररी नेल आर्ट उपयुक्त हुन्छ । तुलनात्मक रूपमा यो नेल आर्ट सस्तो पनि पर्छ । पर्मानेन्ट नेल आर्ट व्यस्त महिलाहरूका लागि उपयुक्त हुन्छ । पर्मानेन्ट नेल आर्टलाई सफा, डिसेन्ट तथा स्टान्डर्ड लुक्स दिने खालको मानिन्छ । पानी चलाउँदा वा लुगा धुँदा पनि यो नेल आर्ट बिगँ्रदैन । त्यसैले अहिले यो नेल आर्ट धेरैको रोजाइमा परेको छ ।