साप्ताहिक संवाददाता
शाही पनिर
शाकाहारीहरूलाई मनपर्ने परिकार हो– शाही पनिर । शाही पनिर बनाउन क्युब आकारमा काटिएको पनिर चाहिन्छ । कराईमा पहिले घिउ हालेर तताउने, तातेको घिउमा तेजपात, अलैंची, सुकमेल, ल्वाङ, दालचिनी तथा जिराको टुक्रा हालेर १५–२० सेकेन्ड चलाउँदै पकाउने । यसरी पकाउँदा मसलाको स्वाद घिउमा सर्छ । त्यसपछि काजु, प्याज तथा हरियो खुर्सानीको पेस्ट हाल्ने । ग्याँसलाई मिडियम रेन्जमा राखेर चलाउने र लाइट पिंक हुन्जेल चलाइरहने । ३–४ मिनेट चलाएर पकाएपछि त्यसमा अदुवा र लसुनको पेस्ट हाली २–३ मिनेट थप पकाउने । स्वादअनुसार नुन, धूलो खुर्सानी तथा गरम मसला हालेर फेरि चलाउने ।
त्यसमा काँचो गोलभेंडाको पेस्ट हाल्ने अनि गोलभेंडाको पानी नसुकुन्जेल पकाउने । यसरी पकाउँदै जाँदा तेलले मसला छोड्न थालेपछि दही हालेर चलाउने र दूधको क्रिम पनि हाल्ने अनि चलाई–चलाई पकाउने । यदि गुलियो शाही पनिर खान मन छ भने चिनी पनि हाल्न सकिन्छ । माथिबाट तेल देखिन थाल्यो भने थोरै पानी हालेर फेरि चलाइरहने । अब त्यसमा पनिरका टुक्रा हाल्ने र मसलासँग मिल्ने गरी २–३ मिनेट चलाएर मध्यआँचमा पकाइरहने । पनिरमा सबै मसला लागेपछि एक गिलास दूध हाल्ने, दूध छैन भने पानी पनि हाल्न सकिन्छ । दूध हालेपछि त्यसलाई चलाइरहनुपर्छ, अन्यथा दूध फाट्ने सम्भावना हुन्छ । त्यसैले आगोको आँच हल्का बढाएर चलाउँदै पकाइरहने । यसरी पकाउँदा हल्का उम्लिन थाल्छ अनि आगोको आँच कम गरेर ५–७ मिनेट पकाउने । त्यसपछि शाही पनिर सर्भ गर्न सकिन्छ ।
बेसनको लड्डु
लड्डु बनाउन चाहिने बेसनको पीठोमा बेकिङ पाउडर मिसाउने । त्यसपछि थोरै–थोरै पानी हाल्दै मोल्दै जाने । बेसनको यो घोल धेरै पातलो पनि हुनु हँुदैन भने धेरै बाक्लो पनि हुनु हँुदैन । लड्डुको रंगका लागि सुन्तला रंगको फुड कलर थोरै हाली राम्रोसँग चलाउने र छोपेर राख्ने ।
अर्को भाँडामा चिनीको पाक तयार पार्ने । पाक बनाउन जति चिनी प्रयोग गरिन्छ त्यसको आधा पानी हाली हल्का चलाउने । चिनीको पाक उम्लिन थालेपछि सुकमेलको धूलो, सुन्तला रंगको फुड कलर तथा एक चम्चा कागतीको रस हालेर तताउने । चिनीको पाक तयार भए–नभएको थाहा पाउन उक्त चिनीको पाकलाई बूढी औंला र चोरी औंलाले च्यापेर तान्ने । यसरी तान्दा तन्कियो भने चास्नी तयार भएको मान्नुपर्छ ।
लड्डुका लागि दाना तयार गर्न अर्को भाँडामा सन फ्लावरको तेल तताउने । तेल तातेपछि झाँझरको प्वालबाट बेसनको घोललाई तातो तेलमा झर्दै जाने । यसरी झारेको २०–३० सेकेन्डमै झिक्नुपर्छ । उक्त बुनियाँलाई पेपरमा राखेर त्यसमा भएको चिल्लो सोसिन दिनुपर्छ । बुनियाँ तयार भएपछि अर्को भाँडामा पकाइएको चिनीको पाक हालेर चलाउने । त्यसमा बदामका टुक्रा हालेर आधा घन्टा छोपेर राख्ने । त्यसपछि आफूलाई चाहिने आकारको लड्डु बनाउने ।
भेज पुलाउ
दरका रूपमा खाइने परिकारमा पुलाउ अनिवार्य मानिन्छ । पुलाउमा हालिने मसला तथा खानेकुराले भोलिपल्ट बसिने व्रतमा ऊर्जा प्रदान गर्नुका साथै भोक नलाग्ने समेत बनाउँछ भने प्रयोग हुने घिउका कारण यसलाई आडिलो खानेकुरा मानिन्छ । पुलाउ बनाउन मसिनो किसिमको चामल (सकभर बासमती भए राम्रो) लाई पकाउनुभन्दा आधा घण्टाअघि भिजाउने । पुलाउ पकाउने कराईमा भिजाइएको चामललाई पुग्ने गरी घिउ तताउने । त्यसमा २–३ वटा तेजपात, ४–५ वटा सुकमेल, ल्वाङ, दालचिनी तथा सुकेको खुर्सानी हालेर चलाउँदै तार्ने । मसला हल्का तारिएपछि त्यसमा काजु, किसमिस एवं नरिवल हालेर केही बेर चलाउने अनि त्यसमा हरियो मटर हालेर चलाउने । १–२ मिनेटपछि त्यसमा भिजाएर राखिएको चामल हालेर चलाउने । गिलो हुन नदिन जुन भाँडाले जति चामल हालिएको थियो त्यति नै पानी हाल्दा पुलाउ डल्लो पर्दैन । त्यसपछि पानी हालेर आगोको सानो आँचमा १५ मिनेट जति पकाउने । यसरी पकाउँदा पुलाउ चलाउनु हुँदैन । १५ मिनेटपछि आगो बन्द गरी त्यत्तिकै छोपेर ५–७ मिनेट जति छोड्ने राख्ने अनि सर्व गर्ने ।