साप्ताहिक संवाददाता
रातो साडी लगाई व्रत बसिने तीजको पहिरन शैलीमा समेत केही परिवर्तन आइरहेको छ । तीजका लागि रातोसँगै मरुन, गुलाफी तथा रातोमा अरू रंग संयोजन गरी डिजाइन गरिएका साडी, कुर्ता आदि पनि अहिले बुटिकहरूमा देख्न सकिन्छ । अचेल साडी लगाउनेहरू कम हुँदै गएको परिप्रेक्ष्यमा दिनभरि भोकै व्रत बसी पूजा–आजा गर्नुपर्ने हुँदा कामकाजी महिलाहरू सजिलो, स्मार्ट र फेस्टिभ लुक्स दिने पहिरनमा सजिन चाहन्छन् ।
त्यसका लागि साडीकै झझल्को दिने डिजाइनर साडी गाउन, पेन्सिल साडी, ग्याडर साडी, लेहेंगा, लेहेंगा साडी आदि मोर्डन लुक्स दिने पहिरनहरू बजारमा भित्रिएका छन् । तीजका लागि आउटर लेहेंगा, लङ कुर्तीमा लेहेंगा, सरारा सुरुवाल तथा निलेन्थ पाइन्टसँग इम्ब्रोडरी गरिएको सिल्क तथा नेटका कुर्ताहरू पनि उपयुक्त हुन्छन् । यस्ता कुर्ती साडी वा लेहेंगा क्यारी गर्न नसक्नेहरूका लागि सही विकल्प हुनसक्छन् ।
साडी नै लगाउन चाहनेहरूले प्याच वर्क, लेस वर्क भएका हल्का साडी लगाउनु बेस हुन्छ । त्यस्तै अहिले साडी डिजाइनको पाइन्ट पनि फेसनमा छ । हेर्दा साडीजस्तै देखिए पनि यो पाइन्ट ग्याडर गरी बनाइने हुँदा निकै सजिलो पहिरनका रूपमा युवा पुस्ताले रुचाउन थालेको छ । साडीका लागि हाफ वा क्वाटर बाहुला भएका पोलिस्टर नमिसिएका सिल्क वा ब्रोकेटको ब्लाउज पनि उपयुक्त हुन्छ ।