टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा प्वाक्क मुखाँ हान्नु जस्तो भन्दै दर्शक हँसाउने अभिनेता शिवहरि पौडेलकी कान्छी श्रीमतीको भूमिकामार्फत चर्चित भएकी अभिनेत्री हुन्– अंशु थापा (महर्जन) । खाइलाग्दो ज्यान अंशुको विशेषता हो । कुनै बेला उनी स्लिम थिइन् । त्यही बेला उनले मोडलका रूपमा ग्ल्यामरको संसारमा पाइला राखेकी थिइन् । तिनै अंशुलाई अहिले उनकै सहकर्मी कलाकारहरूले ‘हात्ती’ उपनाम दिएका छन् । अंशुलाई हात्ती भनिएकोमा कुनै आपत्ति छैन । किनभने उनी आफ्नो खाइलाग्दो ज्यानप्रति गर्व गर्छिन् । उनी आफ्नो हृष्टपुष्ट ज्यानलाई ‘खान्दानी’ भन्न समेत पछि पर्दिनन् । खानपिनमा विशेष रुचि राख्ने अंशुलाई धेरै प्रकारका परिकार आफैं बनाउन आउँछ । उनले बनाउने परिकारहरू स्वादिष्ठ हुने उनका परिवारका सदस्य, नजिकका साथीभाइ एवं सहकर्मीहरू बताउँछन् । तीजको पूर्वसन्ध्या पारेर साप्ताहिकले उनलाई मनपर्ने परिकार तथा यसपटकको तीजको दरका सम्बन्धमा जिज्ञासा राखेको थियो ।
दाल, भात तथा तरकारी
मलाई प्राय: सबै परिकार मनपर्छन् । मलाई मन नपर्ने कुनै परिकार नै छैन भन्दा फरक पर्दैन । सबैभन्दा मनपर्ने खाना कुन हो ? भन्ने जिज्ञासा राख्नुभयो भने मेरो जवाफ हुनेछ– दाल, भात तथा तरकारी । जहाँ पुगे पनि मलाई योभन्दा मिठो अरू केही लाग्दैन ।
माछा–मासु
दिनको एकपटक खानामा माछा अथवा मासु छुटाउँदिन । मासुमा चिकेनका विभिन्न परिकार मनपर्छन् । परिवारका सदस्य तथा साथीहरूलाई मैले पकाएको चिकेन असाध्यै मनपर्छ । चिकेन फ्राई होस् अथवा ग्रेभी, चिकेन चिल्ली होस् अथवा चिकेन साँधेको । मैले बनाएको चिकेन भनेपछि हुरुक्क हुनेहरू प्रसस्तै छन् ।
ढिँडो
काठमाडौंका सीमित रेस्टुराँमा ढिँडोका परिकार उपलब्ध छन् । म कम्तीमा महिनाको एक पटक ती परिकार चाख्नकै लागि भए पनि ती रेस्टुराँ पुगिरहन्छु । घरमा चाहिँ मैले अहिलेसम्म ढिँडो बनाउने प्रयास गरेकी छैन ।
अण्डा
हिन्दीमा एउटा भनाइ नै छ नि, सण्डे हो या मण्डे रोज खाओ अण्डे । म पनि हरेक दिन दुईवटा उसिनेको अण्डा खान्छु ।
बिरयानी र म:म
बिरयानी र म:म मलाई मनपर्ने परिकार हुन् । यद्यपि म यी दुवै कुरा रेस्टुराँमा खान्न । केही हप्ता बिराएर म यी परिकार घरमै बनाउँछु ।
आलु–तामा
माछा–मासुपछि मलाई मनपर्ने अर्को तरकारी आलु–तामा हो । मैले बनाएको आलु–तामामा पल्किनेहरू प्रसस्तै छन् ।
यसपटकको दर
म हरेक वर्षको दरको दिन हल्का खाना खान्छु । भोलिपल्ट निराहार व्रत बस्नु पर्ने भएकाले अघिल्लो दिन अमिलो, चिल्लो तथा पिरोरहित खानामा जोड दिन्छु ।