साप्ताहिक संवाददाता
विद्यालयका विद्यार्थी तथा विषय शिक्षकले तयार पारेको एउटा गीतले युट्युबमा लाखौं दर्शक पाउला अनि ट्रेन्डिङ को उत्कृष्ट १० मा पर्न सफल होला भन्ने कसैले पनि सोचेका थिएनन् । तीजको पूर्वसन्ध्या पारेर म्युजिक नेपालको युट्युब च्यानलमा अपलोड भएको नेपाली व्याकरण सिकाउने तीज गीत अहिले चर्चामा छ ।
नेपाली व्याकरणलाई सहज रूपमा सिकाउने उक्त गीतमा शंखमुल, काठमाडौंस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) का विद्यार्थीहरूको स्वर सुन्न सकिन्छ । विद्यालयकै नेपाली शिक्षक बिमल घिमिरेका शब्द तथा संगीत निर्देशनको उक्त गीतमा ह्रस्व तथा दीर्घ कसरी छुट्याउने, कस्तो शब्द ह्रस्व तथा दीर्घ हुन्छन् भन्ने कुरा सिकाइएको छ ।
गीतकार घिमिरेका अनुसार विद्यार्थीलाई सहज तरिकाबाट व्याकरण सिकाउन उक्त गीत रचिएको हो । घिमिरे भन्छन्– गीतमा वाद्यवादन पनि विद्यार्थीहरूकै छ भने भिडियोमा समेत विद्यार्थीहरूले नै नृत्य गरेका छन् । यो गीत युट्युबमा ७ लाख पटक भन्दा बढी हेरिएको छ ।
गीतको म्यूजिक भिडियो :