साप्ताहिक संवाददाता
नेपाली लोकसंगीतमा कुनै बेला राजु परियारको एकछत्र राज थियो । दैनिक ५ वटासम्म गीत गाउँथे उनी, मेला महोत्सव तथा कार्यक्रममा पनि उत्तिकै माग हुन्थ्यो उनको । २०५६ देखि एक दशकसम्म करिब १० हजार लोकगीत गाएका राजु एक्कासि गुमनाम भए ।
अहिले राजु फेरि सक्रिय हुन थालेका छन् । ‘पारिवारिक समस्याका कारण केही वर्ष गीत गाउन सकिनँ,’ परियारले भने, ‘समस्या हल भएपछि दुई वर्षयता फेरि सक्रिय भएको छु ।’ हो, राजु परियार फेरि एल्बम तथा स्टेज कार्यक्रमहरूमा व्यस्त हुन थालेका छन् । राजुले दुई वर्षयता करिब ३० वटा जिल्लामा गीत गाइसके ।
पश्चिमका जिल्लामा अहिले उनको माग बढी छ । डेढ वर्षअघि आफ्नै रचनामा ‘दरौ सिरुवारी’ गाएका राजुले हालसालै ‘दमाईंको छोरो’ मा स्वर दिएका छन् । पछिल्लो गीत युट्युवमा करिब साढे ११ लाख पटक हेरिसकिएको छ । राजुले यो वर्ष तीजगीत र अन्य लोकभाका गरी करिब ४० वटा गीत गाइसकेका छन् ।