साप्ताहिक संवाददाता
अब एप्पलले पनि एन्ड्रोइडमा जस्तै ड्युअल सिम लाग्ने आइफोन बजारमा ल्याउने भएको छ । दुईवटा सिम लाग्ने एन्ड्रोइड फोन धेरै रुचाइएका कारण एप्पलले पनि ड्युअल सिमयुक्त आइफोन तयार पार्ने योजना बनाएको हो । हालसम्म एप्पलको आइफोनमा एउटा मात्र सिम प्रयोग गर्न सकिन्छ ।
विश्वभर अधिकांश मोबाइल उत्पादकले दुईवाट सिम प्रयोग गर्न सकिने अप्सन ल्याइसकेको भए पनि आइफोन भने त्यसमा अपवाद रहँदै आएको थियो । कम्पनीले यही वर्षदेखि नै आइफोनमा दुईवटा सिम लाग्ने सुविधा थप गर्ने तयारी गरेको बताइएको छ ।
कम्पनीले सार्वजनिक गरेको आइओएस १२ को डेभलपर बिटा ५ भर्सनमा ड्युअल सिम अप्सनको कोड देखिएको छ । यो भर्सन अहिलेसम्म परीक्षणकै क्रममा छ । ड्युअल सिम भएको आइफोन विशेषगरि युरोप तथा एसियाली मुलुकमा प्रयोग हुन सक्ने अनुमान गरिएको छ । नेपाल, भारत, चीन आदि मुलुकका उपभोक्तालाई ड्युअल सिम नयाँ विषय नभए पनि कतिपयले यही कारणले पनि एप्पलको यो डिभाइस किन्ने सम्भावना छ ।