साप्ताहिक संवाददाता
अचेल युवा–युवतीमाझ एउटा एप अत्यन्त लोकप्रिय छ । पहिले म्युजिकल्ली भनिने उक्त एपलाई अहिले टिक टक भनिन्छ । उक्त एपमा १०–१५ सेकेन्डका सामग्री राखिन्छ । नेपाली तथा हिन्दीसहित हरेक भाषाका वास्तविक गीत, संगीत तथा संवादमा आफैंले अभिनय वा नृत्य गर्न अथवा गाउन सकिने उक्त एपमा सर्वसाधारणमात्र होइन, सेलिब्रेटीहरू समेत झुम्मिन थालेका छन् ।
हलिउड, बलिउड मात्र होइन नेपालमै पनि थुप्रै अभिनेत्री यो एपमा हराउन थालेका छन् । पछिल्लो समय हास्य अभिनेत्री कुञ्जना घिमिरे सुन्तली पनि आकर्षित भएकी छिन् । गत साउन ३० गतेदेखि कुञ्जना आफ्ना श्रीमान् सीताराम कट्टेल धुमुर्ससहित टिक टकमा प्रस्तुत हुन थालेकी हुन् । कुञ्जनाले टिक टकको पहिलो सामग्री कमल खत्री र सिम्पल खरेलको ‘यो मायाको अर्थ’ लाई बनाएकी छिन्, जहाँ धुमुर्स र सुन्तली दुवैले अभिनय गरेका छन् ।
त्यसको भोलिपल्टै उनीहरूले फतौरी बुढी तथा मुस्कान पासाको वेशभूषामा प्रस्तुत हुँदै महेश काफ्ले र मेलिना राईको ‘नाच फिरीरी’ मा रमाइलो नृत्य गरेका छन् । आँखा नजुधाए है...गीतमा पनि उनीहरू त्यही भेषमा देखिन्छन् । कुञ्जनाले आफ्ना सासू–ससुराको नृत्यदेखि धुर्मससँग झगडा गरेको भिडियोमा समेत टिक टक गरेकी छिन् । ‘फुर्सदको सदुपयोग गरेको मात्र हो, साप्ताहिकको जिज्ञासामा कुञ्जनाले भनिन्–‘जस्ट टाइम पास ।’