साप्ताहिक संवाददाता
विश्व बजारमा महँगो बाइकका रूपमा परिचित हार्ले डेभिडसनका मोटरसाइकल हालै मात्र नेपाल भित्रिए । त्यसैगरी इटालियन कम्पनी एसडब्लूएम पनि यही वर्ष भित्रियो । त्यसबाहेक पहिलेदेखि नै बेनेली, सीएफ मोटो, होन्डा, रोयल इन्फिल्ड आदिका मोटरसाइकल पनि नेपाली बजारमा उपलब्ध हुँदै आएका छन् । नाडा अटो शोमा पनि यस्ता धेरै कम्पनीका महँगा मोटरसाइकल अवलोकन गर्न पाइन्छ ।
हार्ले डेभिडसन स्पोर्टस्टर आइरन–८८३
नेपालमै पहिलो पटक हार्ले डेभिडसनका मोटरसाइकल भित्रिएका छन् । हार्ले डेभिडसनको मोटरसाइकलको मूल्य ४५ लाख रुपैयाँ पर्छ । यसमा ८८३ सीसीको एयरकुल्ड ट्विन सिलिन्डर इन्जिन छ । हार्ले डेभिडसनलाई छोटकरीमा एचडी अथवा हार्ले भनिन्छ । यो अमेरिकाको मोटरसाइकल निर्माता कम्पनी हो । नेपालमा औपचारिक रूपमा बिक्री–वितरण नभए पनि केही सौखिनले हार्लेका बाइक पहिलेदेखि नै नेपालमा ल्याएर चलाएको पाइन्छ । अब भने यो औपचारिक रुपमै नेपाल भित्रिएको छ ।
एसडब्लूएम मोटरसाइकल
एसडब्लूएम मोटरसाइकल पनि पहिलो पटक नेपाल भित्रिएको हो । अहिले नेपालमा एसडब्लुएमका आरएस ३०० आर, सुपर ड्युअल ६५० टी तथा सिल्भर भेस ४४० मोडल उपलब्ध छन् । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५० टीको मूल्य २३ लाख तथा सिल्भर भेस ४४० को मूल्य १४ लाख ५० हजार रुपैयाँ पर्छ । डर्ट, क्रुजर तथा एड्भेन्चर टुरर मोटरसाइकलका रूपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
टीभीएस आरआर ३१०
टीभीएस अपाचे आरआर ३१० मा ३१२.२ सीसी क्षमताको फोरस्ट्रोक, फोरभल्भ सिंगल सिलिन्डर इञ्जिन छ । यो बाइकको उच्च गति १ सय ६० किलोमिटर प्रतिघण्टा हो । अपाचे आरआर ३१० को नेपाली बजार मूल्य ७ लाख ८० हजार रुपैयाँ छ ।
सीएफ मोटो
सीएफ मोटोको ६५० एमटी मोटरसाइकलमा ड्युअल च्यानल एबीएस छ भने यसलाई स्पोर्ट तथा टुरिङ गरी दुई मोडमा चलाउन सकिन्छ । यसको मूल्य १७ लाख ५० हजार रुपैयाँ पर्छ ।
होन्डाको नयाँ क्रुजर बाइक
होन्डाले हेर्दै फरक देखिने नयाँ क्रुजर बाइक एनएम फोर नेपाली बजारमा उतारेको छ । विशेष डिजाइनको यो क्रुजर बाइक क्लच प्रयोग नगरी पनि चलाउन सकिन्छ । यसको गियर चेन्ज गर्न बटन दबाए पुग्छ । यो बाइकमा ७ सय ५० सीसीको इन्जिन छ ।
बेनेली टीआरके
टीआरके–५०२ बेनेलीको पहिलो एड्भेन्चर बाइक हो । यसमा ५ सय सीसी क्षमताको इन्जिन छ भने ६ वटा गियर छन् । लामो दूरीको यात्राका यसमा २३ सेन्टिमिटरको ग्राउन्ड क्लियरेन्स छ भने यसको इन्धन क्षमता २० लिटर छ । बेनेली टीआरकेको मूल्य १७ लाख रुपैयाँ पर्छ ।
यसबाहेक अन्य विभिन्न ब्रान्डका महँगा तथा लोकप्रिय मोटरसाइकल पनि नाडा अटो शोमा उपलब्ध छन् । कावासाकी भर्सिस ६५० को मूल्य १८ लाख ९९ हजार रुपैयाँ छ । केटीएम ३९० ड्युकको मूल्य ८ लाख ३० हजार रुपैयाँ छ । यसैगरी यामाहा आर थ्रीको मूल्य ९ लाख २४ हजार ९ सय, यूएम रेनेगेड स्पोर्ट्स ३०० सीसीको मूल्य ६ लाख २२ हजार, रोयल इन्फिल्ड क्लासिक ५०० को मूल्य ६ लाख ८१ हजार तथा बजाज डोमिनारको मूल्य ५ लाख ८९ हजार ९ सय रुपैयाँ पर्छ ।