साप्ताहिक संवाददाता
विश्व बजारमै एसयूभी अर्थात स्पोर्ट युटिलिटी भेइकल सेगमेन्टका गाडी महँगा मानिन्छन् । विभिन्न विशेषताका कारण यी गाडी आरामदायकका साथै महँगा पनि हुन्छन् । नेपाली बजारमा पनि १ करोड भन्दा बढीका गाडीहरू उपलब्ध छन् । तीमध्ये अधिकांश एसयूभी सेगमेन्टकै छन् । यस्ता अधिकांश गाडी काठमाडांैमा जारी यो वर्षको नाडा अटो शोमा प्रदर्शनका लागि राखिएका छन् ।
न्यू महिन्द्रा एक्सयूभी–५००
नयाँ एक्सयूभी–५०० अल ह्विल ड्राइभ अप्सनसम्मको क्षमतामा उपलब्ध छ । यसमा भएको ४ सिलिन्डरको एमहक १५५ डिजेल इन्जिन प्रशस्तै क्षमताको छ । यो नयाँ एसयुभीमा कम्पनीले अत्याधुनिक तथा सुविधासम्पन्न फिचर्स थप गरेको छ । यो गाडीको माथिल्लो भर्सनको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ सम्म छ ।
जिप कम्पास
नेपाली बजारमा जिपका कम्पास तथा रेंगलर गाडी भित्रिएका छन् । जिपको कम्पासलाई संसारकै पहिलो एसयुभीका रूपमा लिइन्छ, तर जिप र अन्य एसयूभी फरक हुन् । जिप आफैंमा एउटा ब्रान्ड हो । जिप कम्पासको मूल्य ९६ लाख ५० हजार रुपैयाँसम्म पर्छ ।
जिप रेंगलर
जिप रेंगलरको डिजाइन ‘आइकनिक’ छ । जिप रेंगलर त्यस्ता सीमित सवारीमध्ये पर्छ, जसको पारम्परिक लुक्स र डिजाइन दशकौंदेखि उस्तै छ । ठूलो बम्पर, आइकनिक ग्रिल तथा ठूल्ठूला टायर, जिप रेंगलरबाहेक अरु कुनै गाडीमा पाइँदैन । रेंगलरलाई अफरोड किङ समेत मानिन्छ । यसको मूल्य २ करोड ५० लाख रुपैयाँ छ ।
एमजी जीएस
एमजी जीएस उत्कृष्ट फुल अप्सन एसयुभी हो । यसमा अटोमेटिक हेडल्याम्पदेखि क्रुज कन्ट्रोलसम्म छ । रियर पार्किङ सेन्सर र क्यामेरा, डिएबी रेडियो र ब्लुटुथ जस्ता उत्कृष्ट एसयुभीमा हुनेसबै सुविधा यो कारमा छ । जीएस २.० लिटर इन्जिन, टर्बो ४ सिलिन्डरमा उपलब्ध एमजी जीएसको मूल्य ५४ लाख ९० हजार देखि ७४ लाख ५० हजार रुपैयाँसम्म पर्छ ।
सुबारु आउटब्याक
सुबारुको एसयूभी आउटब्याक निकै महँगो गाडी हो । यसको मूल्य १ करोड ९५ लाख रुपैयाँ छ । यसमा ३.६ लिटरको बक्सर इन्जिन जडान गरिएको छ । यो सिमेट्रिकल अल ह्विल ड्राइभ गाडी हो ।
टोयोटा
टोयोटा आफैमा महँगो ब्रान्ड हो । टोयोटाका निकै महँगा गाडी पनि नेपाली बजारमा उपलब्ध छन् । केही दिन पहिले मात्र नेपालमा उपलब्ध टोयोटा रसको मूल्य ६६ लाख ९० हजार देखि ७५ लाख ५० हजार रुपैयाँसम्म पर्छ, तैपनि नेपालमा टोयोटाको सबैभन्दा महँगो गाडी ल्यान्डक्रुजर हो । यो स्टोर्म वागन हो र यसलाई भी८ मात्र पनि भनिन्छ । हाइड्रोलिक सस्पेन्सन तथा इन्डिपेन्डेन्ट ब्रेकिङ सिस्टमयुक्त उक्त गाडीको मूल्य (नेपाली बजारमा) ४ करोड ८ लाख रुपैयाँ छ ।
भक्सवागन टिगुआन
करोड माथिका कारको नाम लिँदा भक्सवागनको नाम पनि छुट्दैन । जर्मन अटोमोबाइल कम्पनी भक्सवागनको न्यु टिगुआन मोडल महँगो र लक्जरियस सेग्मेन्टमा चर्चित छ । यसको मूल्य १ करोड ४७ लाख रुपैयाँसम्म पर्छ ।
होन्डा सी–आरभी
होन्डाको सी–आरभीमा १४९६ सीसीको इन्जिन छ । यसको मूल्य १ करोड २६ लाख रुपैयाँ पर्छ ।
प्युजो ३००८
फ्रान्सेली कम्पनी प्युजो नेपाली बजारमा भित्रिएको एक वर्ष पनि भएको छैन । यसको सर्वाधिक महँगो गाडी प्युजो ३००८ हो । एसयूभी सेगमेन्टको उक्त गाडीको मूल्य १ करोड ३० लाख रुपैयाँ छ ।
फोर्ड एन्डेभर
फोर्ड एन्डेभरको ठूलो बम्परदेखि यसमा रहेको ७ वटा एयर व्याग, आकर्षक बनावट तथा प्रविधि विश्वव्यापी फोर्ड एसयूभी डिजाइनमा आधारित छन् । यसको मूल्य १ करोड ७१ लाख रुपैयाँ छ ।
मस्ट्याङ
फोर्ड मस्ट्याङको मूल्य परिस्थितिअनुसार २ करोड रुपैयाँको हाराहारी पर्न आउँछ । ग्राहकको माग अनुसार फिचर राख्दा यसको मूल्यमा घटबढ हुन सक्ने कम्पनीले जनाएको छ ।
निसान एक्स–ट्रेल
निसानको एक्स–ट्रेल ७ सिटे एसयूभी हो । यसको मूल्य १ करोड २५ लाख ६९ हजार पर्छ ।
स्कोडा कोडियाक
स्कोडाको पहिलो फुल साइज एसयूभी कोडियाकमा ७ जना बस्न मिल्छ । यसमा अल ह्विल ड्राइभलगायतका विभिन्न विशेषता छन् । यसको मूल्य १ करोड ४९ लाख रुपैयाँ छ । स्कोडाकै अर्को महँगो गाडी सुपर्व हो जसको मूल्य १ करोड १६ लाख रुपैयाँ छ ।
साङयोङ रेक्सटन
कोरियन कम्पनी साङयोङका गाडी पनि महँगा मानिन्छन् । नेपाली बजारमा यसको सर्बाधिक महँगो गाडी रेक्सटन हो । २ हजार २ सय सीसी डिजेल इन्जिन जडान गरिएको उक्त गाडीको मूल्य १ करोड ४५ लाख रुपैयाँ पर्छ ।
किया सोरेन्टो
कियाको सोरेन्टो फुल्ली लोडेड एसयूभी हो । यसको मूल्य बजेटभन्दा पहिले नै १ करोड २० लाख रुपैयाँ थियो । हाल त्यसमा केही वृद्धि भए पनि मूल्य सार्वजनिक गरिएको छैन ।
हुन्डाईको टक्सन तथा सान्ता फे
हुन्डाईका टक्सन तथा सान्ता फे नेपालमा उपलब्ध महँगा गाडी हुन् । टक्सनको मूल्य १ करोड ४ लाख ९६ हजार रुपैयाँसम्म पर्छ भने सान्ता फेको मूल्य १ करोड २२ लाख ९६ हजार रुपैयाँ छ ।
टाटा हेक्सा
नेपालमा उपलब्ध टाटाका गाडी मध्ये सर्बाधिक महँगो गाडी हेक्सा हो । यसको मूल्य ९१ लाख ५५ हजार रुपैयाँ छ ।