साप्ताहिक संवाददाता
मलाई गीत–संगीतमा सानैदेखि रुचि थियो । मैले ०५९ सालमा पहिलो पटक आफ्नै शब्द, संगीत तथा स्वरको ‘मायालु आउने जाने बाटो’ गीत बजारमा ल्याएँ । त्यति बेला अहिलेको जस्तो प्रविधिको विकास भैसकेको थिएन । गीत बजाउने माध्यम भनेकै रेडियो तथा टेलिभिजन थिए । त्यति बेला धेरै रेडियो पनि थिएनन्, तर, जति थिए ती रेडियोमा मेरो गीत अत्यधिक बज्यो । म गीत रेकर्ड गरेर, रेडियोहरूमा गीत दिएर बिदा मनाउन जन्मस्थान दोलखा गएको थिएँ । गाउँको एउटा रेडियोमार्फत मेरो गीत टपटेनमा परेको छ भन्ने सुनेँ । उक्त कुरा सुनेपछि म तुरुन्त काठमाडौं फर्किएँ । पहिलो गीतले नै यति धेरै सफलता पाएपछि मलाई गीत संगीतमा लाग्न थप हौसला मिल्यो । त्यो गीत नै मेरो जीवनको पहिलो टर्निङ प्वाइन्ट सावित भयो ।
०६५ देखि ०६७ सम्मका सिर्जना सुपरडुपर भए
मेरा सिर्जनालाई दर्शक श्रोताले रुचाइ दिनुहुँदो रहेछ भन्ने लागेपछि म सांगीतिक यात्रामा दौडन थालेँ । यही क्रममा मैले ०६० मा गैदिन्छु माइत लोकदोहोरी एल्बम सार्वजनकि गरेँ । त्यसपछि ०६१ मा पञ्चामृत एल्बम निकालेँ । यसैक्रममा मैले ०६२/६३ को आन्दोलनताका वार्ता गराइ दिऊँ लोकदोहरी एल्बम बजारमा ल्याएँ । त्यति बेलाको परिप्रेक्ष्यमा उक्त गीतले ठूलै चर्चा पायो । यसरी गीत–संगीतमा निरन्तर अघि बढ्ने क्रममा मैले ०६५, ०६६ र ०६७ भित्र विभिन्न गायक–गायिकाको आवाजमा एल्बम निकालेँ, जसमा शब्द तथा संगीत मेरो थियो । तीमध्ये धेरैजसो गीत चर्चित भए । जसले मेरो सिर्जनशीलतालाई परिचित गरायो ।
सुर्के थैली खोइ
सांगीतिक यात्राकै क्रममा ०७२ सालमा सुर्के थैली खै गीत बजारमा आयो । यो गीतले मलाई गायक तथा संगीतकारका रूपमा थप स्थापित गरायो, जुन मेरा लागि महत्वपूर्ण टर्निङ प्वाइन्ट थियो । यो गीत हिट भएसँगै पूर्व–पश्चिम रेल, कुटुमा कुटु, चिरचिरबीर चाँचरी, चरी चट्ट परी भुरुरु, सिओडब्लु काउ, चेप्टे चेप्टे पेरुंगो, टाकनटुकुन टक्क, ठेकीमा दही, उम्लियो भने पोखिन्छ, कम्पनी माला आदि गीत क्रमश: हिट हुँदै गए ।