साप्ताहिक संवाददाता
त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयका साथै केही विदेशी विश्वविद्यालयहरूले पनि नेपालमा होटल व्यवस्थापन अध्यापन गराउँदै आएका छन् । यो विषय अध्ययन गरेका ६० प्रतिशतको रोजाइ विदेश हुने गरेको क्वेस्ट कलेज बीएचएम डिपाटमेन्ट प्रमुख ओलीम श्रेष्ठ बताउँछन् । यो विषय पढेका विद्यार्थीको आम्दानी नेपालका होटलको तुलनामा विदेशका होटलमा चार गुणासम्म बढी हुने हुँदा अधिकांशको रोजाइ नेपाल बाहिरकै होटल हुन्छन् । सिलवाल भन्छन्– नेपालका तारे होटलहरूले २५ देखि ३० हजार रुपैयाँसम्म दिन्छन् तर विदेशमा प्रत्येक महिना सबै खर्च कटाएर १ लाख ५० हजार रुपैयाँसम्म जोगाउन सकिन्छ ।
होटल व्यवस्थापन अध्यापन गराउँदै आएका नेपालका चारवटै विश्वविद्यालयमा दस जोड दुईमा जुनसुकै विषयमा सी ग्रेडभन्दा माथि ल्याएका विद्यार्थीले प्रवेश पाउँछन्् । चार वर्षमा ८ सेमेस्टर पढ्नु पर्ने होटल व्यवस्थापनअन्तर्गत पहिलो ६ सेमेस्टरमा सैद्धान्तिक कक्षा सञ्चालन गरी सोहीअनुसारको काम दिइन्छ । त्यसपछिको दुई सेमेस्टर प्रयोगात्मक रूपमा विद्यार्थीलाई होटलमै काम गराउँदै पढाइन्छ । अध्ययनका हिसाबले नेपालमा चारवटा फ्रन्टलाइन अफिस, हाउसकिपिङ, किचेन तथा सर्भिस विधामा होटल व्यवस्थापनको अध्यापन गराइन्छ । यी विषयसँगै सहयोगी विषयका रूपमा मार्केटिङ, एकाउन्ट, हेल्थ, अंग्रेजी, कम्प्युटर, फुड तथा माइक्रो बायोलोजीसमेत अध्ययन गर्नुपर्छ ।
इन्टर्नसिपमै विदेश
नेपालका अधिकांश कलेजले नेपाली होटलभन्दा पनि विदेशका होटलमा इन्टर्न गर्न पठाउने गरेका छन् । नेपाली होटलहरूमा इन्टर्न गराउँदा त्यसबापत शुल्क तिर्नुपर्ने हुन्छ भने विदेशका अधिकांश होटलले इन्टर्न गर्ने विद्यार्थीलाई पारिश्रमिकसमेत उपलब्ध गराउँछन् । विदेशमा इन्टर्न गर्न जाँदा लाग्ने हवाई टिकट तथा भिसा विद्यार्थीले नै मिलाउनुपर्छ । विदेशमा इन्टर्न गर्दा होटलहरूले पारिश्रमिकका साथै खाने तथा बस्ने व्यवस्था मिलाउँछन् । विदेशमा इन्टर्न गर्नेहरूले देश र होटलअनुसार फरक–फरक पारिश्रमिक पाउने गरेका छन् । इन्टर्नका लागि नेपालका कलेजहरूले चीन, भारत, युएई, इन्डोनेसिया, थाइल्यान्ड तथा बहराइनका ५ देखि ७ तारे होटल पठाउने गरेका छन् । चीन जाने विद्यार्थीका लागि भने होटलहरूकै सहकार्यमा चिनियाँ भाषा अध्ययनको व्यवस्था समेत मिलाइन्छ । विद्यार्थीहरू आफ्नै पहलमा अन्य देश समेत जान सक्छन् । यसरी इन्टर्नसिपका लागि विदेश पठाउँदा अन्तर्राष्ट्रिय अनुभव प्राप्त हुने र विद्यार्थीले पढाइसँगै पकेट खर्च पनि कमाउने हँुदा विदेशका होटल नै विद्यार्थीको रोजाइमा पर्ने क्वेस्ट कलेजका ओलिम श्रेष्ठ बताउँछन् ।
कस्तो छ भविष्य
होटल व्यवस्थापन अध्ययनपछि अहिलेसम्म कुनै पनि विद्यार्थीले बेरोजगार बस्नु नपरेको गोल्डेनगेटका प्रिन्सिपल सिलवालको दाबी छ । यो विषय अध्ययनपछि स्वरोजगार र रोजगार दुवै बाटो खुल्ला छन् अनि दुवैको भविष्य पनि राम्रो छ । आफैं उद्यमी भएर होटल सञ्चालन गर्ने वा नेपालभित्र वा बाहिर रोजगारी गर्ने त्यो विद्यार्थीको आफ्नै छनौट हो । रोजगारी गर्नेहरूले होटलको रिसेप्सनदेखि हाउसकिपिङ, किचेन म्यानेजमेन्ट, कुकिङ वा सर्भिस म्यनेजमेन्टसम्मको काम सहजै प्राप्त गर्न सक्छन् । नेपालमा यो विषयको अध्ययन–अध्यापन सुरु भएयता नेपाली विद्यार्थीहरू नेपालका होटलमा भन्दा विदेशी होटलमै बढी खपत भएका छन् ।
नेपालमै प्राप्त हुने अवसरलाई हेर्ने हो भने अबको तीन वर्षभित्र नेपालमा स्टार होटलहरूमा १० हजारभन्दा बढी कोठा थपिने निश्चित छ भने थप १० हजार कोठा थपिने प्रक्रियामा छ । यसरी तारे होटल थपिनु भनेको नेपालमै भएको जनशक्तिका लागि राम्रो अवसर हो ।
कति लाग्छ खर्च
होटल व्यवस्थापन अध्ययनका लागि कलेज तथा विश्वविद्यालयअनुसार फरक–फरक शुल्क तोकिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरूले ६ देखि ७ लाख रुपैयाँसम्ममा अध्यापन गराइरहेका छन् भने पोखरा विश्वविद्यालयअन्तर्गतका कलेजहरूले ८ देखि ९ लाख रुपैयाँसम्ममा पढाइरहेका छन् । त्यसैगरी पूर्वाञ्चल तथा काठमाडौं विश्वविद्यालयअन्तर्गतका कलेजहरूले पनि सोही हाराहारीमा शुल्क लिँदै आएका छन् । नेपाली विश्वविद्यालय तथा विदेशी विश्वविद्यालयहरूले अहिले नेपालमा ८५ वटा कलेजमार्फत होटल व्यवस्थापन अध्यापन गराइरहेका छन् ।
के–के पढाइ हुन्छ
नेपालमा विश्वविद्यालयअन्तर्गत तीनवर्षे र चारवर्षे गरी दुई प्रकारका पाठ्यक्रम छन् । तीनवर्षे र चारवर्षे कार्यक्रममा सैद्धान्तिक कुरा फरक नभए पनि व्यवहारिक सिकाइमा केही फरक हुने जानकारहरू बताउँछन् । सरकारले स्नातक तहको पढाइ चारवर्षर्े बनाएपछि होटल व्यवस्थापन पढाउने सबै कलेजले प्रयोगात्मक कक्षा बढाएका छन् ।
होटल व्यवस्थापनको पहिलो सेमेस्टरमा अंग्रेजी, एकाउन्टिङ, फुड प्रोडक्सन, म्यानेजमेन्ट, फुड वेभरेज सर्भिस, हाउसकिपिङजस्ता होटल व्यवस्थापनका आधारभूत सिद्धान्तहरू पढाइन्छ । दोस्रो सेमेस्टरमा कम्प्युटर एप्लाइन्स, न्युट्रेसनसम्बन्धी थप जानकारी, आर्थिक मूल्य व्यवस्थापनजस्ता विषय अध्यापन गराइन्छ । तेस्रो तथा चौथो सेमेस्टरमा एकाउन्टिङ र इभेन्ट म्यानेजमेन्ट, होटल स्टाटिक्स, फ्रन्ट अफिस अपरेसनसम्बन्धी अध्यापन गराइन्छ । ती विषयमा खाद्य विज्ञान र सरसफाइ, अर्थशास्त्र, ह्युमन रिसोर्स म्यानेजमेन्ट, पब्लिक रिलेसन, अतिथि सत्कार आदि पर्छन् ।
पाँचौं सेमेस्टर बढी प्रयोगात्मक हुन्छ । यो सेमेस्टरमा विद्यार्थीलाई काममार्फत नै सीप सिकाइन्छ । ६ सय पूर्णांकमा ४ सय पूर्णांकको प्रोजेक्ट वर्क हुन्छ भने २ सय पूर्णांकको होटल एक्सपोजरसम्बधी विषयहरू पढाइन्छ । छैटौं सेमेस्टरमा हस्पिटालिटी ल, क्याटरिङ, टुरिज्म, हस्पिटालिटी मार्केटिङका विषय अध्ययन गराइन्छ भने सातौं तथा आठौं सेमेस्टरमा इन्टर्नसिप गराइन्छ ।
अस्ट्रेलियन कुलिनरी आर्ट
कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सम्बन्धबाहेक कुलिनरी सोलुसन अस्ट्रेलियाबाट थप सम्बन्धन प्राप्त गरी होटल म्यानेजमेन्ट, कुलिनरी आर्ट्स, बार टेन्डर तथा बारिस्ताजस्ता कार्यक्रम सञ्चालनमा ल्याएको छ । ६ महिना अर्थात् ८ सय घण्टा अध्यापन हुने उक्त कोर्स पूरा गरेपछि विद्यार्थीलाई उनीहरूको चाहनाअनुुसार थप अध्ययनका लागि अस्ट्रेलिया पठाउने वा सीधै रोजगारीमा पठाइने कलेजको दाबी छ ।
अस्ट्रेलियाया गएर एड्भान्स डिप्लोमा पढ्न चाहने विद्यार्थीले भने प्लस टु उत्तीर्ण गरी आईएलटिएसमा ५ दशमलव ५ अंक ल्याउनैपर्ने हुन्छ । यदि प्लस टु फेल र आईएलटिएसमा ५ दशमलव ५ ल्याउन नसके पनि रोजगारीको ग्यारेन्टी भने गरिने कलेजका प्रबन्ध निर्देशक राम कोदान्दाले जानकारी दिए ।
उनका अनुसार यस्ता विद्यार्थीले मासिक ६० हजारदेखि १ लाख ३० हजार रुपैयाँसम्म कमाउन सक्छन् । त्यसका लागि विद्यार्थीले माल्दिभ्स, दुबई, ओमानजस्ता देशका पाँचतारे होटल रोज्न सकिने कोदान्दा बताउँछन् । यसरी ती देशमा रोजगारी गर्ने विद्यार्थीले ४/५ वर्षको अनुभवपछि अनुभवका आधारमा अस्ट्रेलियामा थप अध्ययन गर्न तथा वर्क परमिटमा त्यहाँ काम गर्न कलेजले नै प्रोसेसिङको व्यवस्था मिलाउने कोदान्दाको भनाइ छ ।