साप्ताहिक संवाददाता
विश्व बजारमै इलेक्ट्रिक कारले बजार लिने सम्भावना देखिइरहेको समयमा नेपालमा पनि केही कम्पनीले इलेक्ट्रिक कार भित्र्याएका छन् । नेपाली बजारमा लोकप्रिय टाटा, हुन्डाई तथा महिन्द्राले समेत यस्ता गाडी उपलब्ध गराइरहेका छन् । रेनल्टले पनि भर्खरै यस्तै गाडी भित्र्याएको छ । महिन्द्राको ईटुओ तथा कियाको ईभी सोल पहिलेदेखि नै नेपाली बजारमा उपलब्ध छन् ।
महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटो
महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटोमा ७२ भोल्टको मोटर छ । यो कार एकपटक फुल चार्ज गरेपछि १ सय १० किलोमिटरसम्म गुडाउन सकिन्छ । यो कारमा जडान गरिएको रि–जेनेरेटिभ ब्रेकिङ प्रणालीले पावर तथा ब्याट्री चार्ज गर्छ । त्यसका अतिरिक्त महिन्द्राले ई–भेरिटोमा फास्ट चार्जिङ सिस्टम समेत जडान गरेको छ । यसको सहयोगमार्फत् एक घण्टा ४५ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज हुन्छ । महिन्द्रा ई–भेरिटोको मूल्य २८ लाख ८० हजार रुपैयाँ पर्छ ।
टाटा टिगोर इलेक्ट्रिक
टाटाले इलेक्ट्रिक कार टिगोर इभी नेपाली बजारमा उपलब्ध गराएको छ । यो कारमा ३० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ भने यसमा सिंगल स्पिड अटोमेटिक ट्रान्समिसनसमेत छ । यो कार ७२ भोल्टको ब्याट्रीद्वारा सञ्चालित हुन्छ । फास्ट चार्जरमार्फत डेढ घण्टामा ८० प्रतिशत चार्ज हुने यसको ब्याट्री नर्मल चार्जरबाट चार्ज गर्दा ६ देखि ८ घण्टामा फुल चार्ज हुन्छ । यो कारको टप स्पिड १ सय ३० किलोमिटर प्रतिघण्टा छ ।
हुन्डाई आयोनिक इलेक्ट्रिक
हुन्डाईको इलेक्ट्रिक कार आयोनिक मिड साइज सेडान आकारको छ । यो कारमा ८६ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । यो कारलाई एकपटक फुल चार्ज गरेपछि २ सय २० देखि २ सय ५० किलोमिटर सम्म चलाउन सकिन्छ । यसमा ड्युअल एलईडी लाइट, सुरक्षाका लागि ७ वटा एयर ब्याग, सिक्स व्रेकिङ सिस्टम उपलव्ध गराइएको छ । ५ सिट क्षमताको यो कारले सेफ्टीमा फाइभ स्टार रेटिङ सहित उत्कृष्ट नतिजा हात पारेको छ । यसको मूल्य (नेपाली बजारमा) ५३ लाख ९६ हजार रुपैयाँसम्म पर्ने बताइएको छ ।
रेनो जोइ
फ्रान्सेली कम्पनी रेनोले इलेक्ट्रिक कार जोइलाई नाडा अटो शोमा पहिलो पटक सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रचलित निसानको इलेक्ट्रिक कार लिफसँग प्रतिस्पर्धा गरिरहेको जोइलाई नेपाली ग्राहकको मनस्थिति बुझ्न ल्याइएको यसको आयातकर्ता कम्पनी एड्भान्स्ड अटोमोबाइल्सले जनाएको छ । त्यसैले अहिले यसको मूल्य सार्वजनिक गरिएको छैन । यो कार दुई फरक ब्याट्री प्याक क्षमतामा उपलब्ध हुन्छ । एउटा २२ किलोवाट क्षमताको ब्याट्रीले फुल चार्जमा १ सय ६० किलोमिटर तथा अर्को ४१ किलोवाटको ब्याट्रीले २ सय ८८ किलोमिटर गुड्न सकिन्छ । यसको फास्ट चार्जर प्रयोग गर्दा ६५ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज हुन्छ ।
किया सोल ईभी
नेपालमा पहिले देखि नै चल्तीमा रहेको अर्को विद्युतीय गाडी हो कियाको सोल इभी । उच्च प्रविधि जडान भएको सोल इभीको ब्याट्री शक्तिशाली छ र एकपटकको पूरा चार्जमा सोलइभीले १ सय ८० किलोमिटर बाटो तय गर्छ । यो कारमा २७ केडव्ल्युएच लिथियम आयोन पोलिमर ब्याट्री प्रयोग गरिएको छ, जसको पावर ९० किलोवाट छ । यसको व्याट्री चार्ज स्टेसनको डिसी फास्ट चार्जरबाट ३३ मिनेट तथा एसी फास्ट चार्जरबाट ४ घण्टामा चार्ज हुन्छ । यात्रु एवं चालकको सुरक्षाका लागि यसमा एयरब्यागसमेत समावेश छ । यो कारमा गियरको झन्झट छैन । दुई मोडलमा उपलब्ध किया सोल ईभीको मूल्य ५६ लाख तथा ५८ लाख रुपैयाँ पर्छ ।