साप्ताहिक संवाददाता
भोलि शुक्रवार अर्थात असोज ५ गते बुटबलको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना हुने आफ्नो एकल गायन कार्यक्रम ‘कुमार सानु लाइभ इन लुम्बिनी’ मा सहभागिता जनाउन लोकप्रिय गायक कुमार सानु बुधवार अबेर राती काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन् । गायक कुमार सानुलाई वरिष्ठ संगीतकार शम्भूजीत बासकोटासहितका व्यक्तित्वले विमानस्थलमा स्वागत गरेका थिए । शुझवार साँझ ६ बजेपछि प्रारम्भ हुने एकल गायन कार्यक्रममा सहभागिता जनाउने गायक कुमार सानु अहिले बिहान काठमाडौंबाट भैरहवाहुँदै बुटवल पुगेका छन् ।
बलिउडका दर्जनौं चलचित्रमा हजारौं गीत गाएका गायक कुमार सानुले हिन्दी, नेपाली, बंगालीसहित विभिन्न भाषाका २० हजार भन्दा बढि गीतमा स्वर प्रदान गरिसकेका छन् । यसअघि काठमाडौंमा आयोजना भएको एकल गायन कार्यक्रममा प्रस्तुत भैसकेका गायक कुमार सानु लुम्बिनीमा पहिलो पटक प्रस्तुत हुन लागेका हुन् । कुमार सानुले भारतको प्रख्यात फिल्म फेयर अवार्डदेखि पद्यमश्री सम्मको सम्मान पाइस्केका छन् ।
सन् १९९० को दशकमा सर्वाधिक सफल र लोकप्रिय भएका यी गायकले नेपाली संगीतमा समेत राम्रो छाप छाडेका छन् । उनले केही दर्जन नेपाली कालजयी गीतहरुमा आफ्नो कर्णप्रिय स्वर दिइसकेका छन् । अघिल्लो वर्ष काठमाडौंमा प्रस्तुत हुँदा नेपाली दर्शकले देखाएको माया तथा प्रेमबाट प्रभावित भएरै उनले पुन: नेपाल आउने चाहाना व्यक्त गरेका थिए ।
त्यसैको फलस्वरुप गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको सांगीतिक कार्यक्रममा कुमार सानुले सहभागिता जनाउन लागेका हुन् । शुक्रवारको कार्यक्रममा कुमार सानुले नेपाली तथा हिन्दी गरी झण्डे ३० वटा लोकप्रिय गीत गाउने कार्यक्रम छ । गायक सानुले लाइभ ब्याण्डसहित आफ्नो प्रस्तुती दिने छन् ।
आयोजक पारामाउन्ट इन्टरटेन्मेन्टले लुम्बिनिमा आयोजना गर्न लागेको यो कार्यक्रममा नेपालकै लोकप्रिय गायिका देविका बन्दनाले पनि आफ्ना दुई हिन्दी गीतसहित कुमार सानुसंगको ‘भरे आउँछु सपनीमा...’ गाउँदै छिन् । भारतका लोकप्रिय गायक तथा नेपालकी स्थापित गायिकाको एउटै मञ्चमा हुने प्रस्तुतीले दर्शकलाई रोमाञ्चकता प्रदान गर्ने निश्चित छ ।
यो कार्यक्रम मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिर्सोटमा आयोजना हुने । कार्यक्रमलाई आवाजको दुनियाँको साथी दिनेश डिसीले सञ्चालन गर्नेछन् ।
भिडियोमा कुमार सानुको स्वागत :