पछिल्ला केही महिनायता शाहरूख खानकी छोरी सुहानाको गतिविधि अचानक बढेको छ । सामाजिक सञ्जालमा उनको हट एन्ड ग्ल्यामरस अवतार बाहिरिएको धेरै भएको छैन । केही साताअघि मात्र एउटा भारतीय म्यागजिनको कभरमा उनको तस्बिर प्रकाशित भएको थियो । यी क्रियाकलापसँगै भारतीय मिडियाले सुहाना अब बलिउड छिर्ने अन्तिम तयारीमा छिन् भन्न थालेका थिए ।
अहिले करण जौहरले सुहानाको डेब्यु चलचित्र निर्माण गर्न लागेको खबरसमेत बाहिरिएको छ । यो खबरसँगै धेरैले अब सुहानाले केही महिनाभित्रै बलिउडमा पाइला टेक्ने अनुमान गरेका छन् । किनभने शाहरूख र करणको सम्बन्ध धेरै राम्रो छ । शाहरूखले भनेको कुरालाई करणले कहिल्यै नाइँ भन्दैनन्, करणले भनेको कुरालाई शाहरूखले अहिलेसम्म अस्वीकार गरेका छैनन् । यो हिसाबले पनि करणको प्रस्तावलाई शाहरूखले ओके भन्न सक्ने भारतीय मिडियाको दाबी छ ।
त्यसो त यसअघि शाहरूख नजिकका आधा दर्जन निर्माता तथा निर्देशकले सुहानालाई डेब्यु गराउन खोजिरहेको खबर बाहिरिएको थियो । यसमा शाहरूखले भन्ने गरेका छन्— चलचित्रमा आउने–नआउने निर्णय छोरी सुहानामै अन्तरनिहित छ, यसमा मैले केही भन्न मिल्दैन । यद्यपि सुहानाले अध्ययन नरोकिदिए हुन्थ्यो भन्ने शाहरूखको चाहना छ । भनिन्छ, शाहरूख पत्नी गौरीले सुहानालाई ग्रिन सिग्नल दिइसकेकी छिन् ।