साप्ताहिक संवाददाता
कवि तथा लेखक हेमप्रभासले विकास थापाको कविता ‘बुझ्नै सकिनँ आज तिमीलाई’ को निर्देशन गरेका छन् । फिल्म निर्देशनको औपचारिक अध्ययनमा रहेका हेमले कविताको सिनेमाटिक ट्रान्सफर्मेसन गरी काव्यिक अन्तरलयलाई जनमानसमा पुर्याउने हेतुले यस प्रकारको कार्य अघि बढाएको बताएका छन् ।
कविताको भावअनुसार अभिनेता पुष्पल खड्का र अभिनेत्री वर्षा सिवाकोटीले अभिनय गरेका छन् । पुष्प भन्छन्, ‘मैले केही चलचित्र र सयौं म्युजिक भिडियोहरुमा अभिनय गरो तर यसपटक अर्कै किसिमको अनुभव भयो । कवितामाथि यो मेरो डेब्यू प्रोजेक्ट हो, केही राम्रो अवश्य हुने अपेक्षा गरेको छु ।’ आफूले पनि अन्य चलचित्र र भिडियोहरुमा भन्दा अझ बढी उत्साहका साथ पोयट्रीमाथि प्ले गरेकोले यसको प्रतिफल रामै आउनेमा आशावादी रहेको वर्षा बताउँछिन् ।
अहिलेको डिजिटल युगमा कवितालाई सिनेमाटिक अप्रोच मार्फत् विश्व बजारमा पुर्याउने निर्देशक हेमको लक्ष्य छ । उनी भन्छन्, ‘कविता हृदयको संवाद हो, यसले समाज, प्रकृति र संस्कृतिको त्रिकोणात्मक सम्बन्धलाई सुसूचित गर्ने हुनाले हामी डिजिटल मिडियामा जान ढिलो गर्नु हुँदैन । आम मानिसको हृदयको भाषा र संवेदनालाई विश्वव्यापीकरण गर्नुपर्छ ।’
छायाछवि क्रियसन र कान्तिपुर फिल्म एकेडेमीको सहकार्यमा निर्माण हुँदै गरेको यस कविता सुदिप सागरले एरेन्ज गरेका हुन् भने मिक्सिङ साउण्ड डिजाइन स्टुडियोका भोला पौडेलको रहेको छ । विरेन्द्र भाट विपिनको सिनेमाटोग्राफी रहेको यस प्रोजेक्टको छायाङ्कन चोभारमा भएको हो ।