साप्ताहिक संवाददाता
विश्वकै सबैभन्दा ठूलो फ्रेन्चाइज गायन ट्यालेन्ट शो द भ्वाइस अफ नेपाल यतिबेला नेपालमा समेत चर्चित छ । विश्वका १ सय ९२ देशमा सफल यो प्रतियोगिताले नेपालमा पनि आम दर्शक–श्रोताको मन जितिरहेको छ । हालसम्म यो प्रतियोगिताले राम्रो प्रतिक्रिया पाइरहेको द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेल बताउँछन् । पौडेल भन्छन्– सुरुवाती चरणमा मार्केटिङमा हिँड्दा धेरैले भारतको उदाहरण दिँदै भारतमा पनि यो प्रतियोगिता सञ्चालन गरिएको थियो, तर त्यसले भनेजस्तो चर्चा पाएन, नेपालमा चल्ला र ? यो फम्र्याट नेपालीहरूले बुझ्लान् त भन्नुहुन्थ्यो । यद्यपि भ्वाइस अफ नेपालले प्रारम्भदेखि नै पाएको प्रतिक्रियाबाट ठूलो हौसला मिलेको पौडेल बताउँछन् । गायन प्रतियोगिता द भ्वाइस अफ नेपालमा प्रतियोगीले आ–आफ्नो विधाका गीतमा प्रतिभा देखाउँछन् । यो ट्यालेन्ट शोमा दीप श्रेष्ठ, प्रमोद खरेल, अभया सुब्बा, सनुप पौडेल कोचका रूपमा संलग्न छन् । यतिबेला ब्लाइन्ड राउन्डको अन्तिम चरणमा पुगेको द भ्वाइस अफ नेपालले यसअघि पार गरेको चरण र त्यसपछि हुने विभिन्न राउन्डका विषयमा छोटो चर्चा :
डिजिटल अडिसन
डिजिटल अडिसन द भ्वाइस अफ नेपालको पहिलो चरणको अडिसन हो । उक्त अडिसनका लागि प्रतिभा भएका जोसुकैले पनि द भ्वाइस अफ नेपालको एपमा आफ्नो स्वरको गीत रेकर्ड गरेर पठाउन सक्थे । उक्त एपमा बढीमा २ मिनेटसम्म लामो गीत रेकर्ड गर्न सकिन्थ्यो । डिजिटल अडिसनमा द भ्वाइस अफ नेपालको एप १३ हजार पटक डाउनलोड भएको र त्यसैको हाराहारीमा भ्वाइस प्राप्त भएको निर्देशक पौडेल बताउँछन् । ती १३ हजारजति भ्वाइसबाट ट्यालेन्ट हेड तथा रिसर्च टिमले १ सय २५ जनालाई ब्लाइन्ड अडिसनका लागि छनौट गरे ।
ब्लाइन्ड अडिसन
ब्लाइन्ड अडिसन द भ्वाइस अफ नेपालको दोस्रो चरण हो । यसमा डिजिटल अडिसनबाट छनौट भएका प्रतियोगीहरूले प्रतिभा देखाउँछन् । यो प्रतियोगिताकै महत्वपूर्ण अडिसन हो । कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको यो राउन्डमा प्रतियोगीको प्रतिभा कोचले सुन्न मात्र पाउँछन्, तर प्रतियोगीलाई देख्न पाउँदैनन् । सुनिसकेपछि मन परेको आवाजका लागि कोचले बज गर्छन् । बज गर्नेबित्तिकै कोच बसेको कुर्सी १ सय ८० डिग्रीमा घुम्छ अनि मात्र उनले प्रतियोगीलाई प्रत्यक्ष देख्न पाउँछन्, तर बज गर्ने कोच एक जनाभन्दा बढी भए प्रतियोगीले आफू कसको टिममा जाने भनेर छान्न पाउँछन् भने कुनै पनि कोचले बज नगरेको अवस्थामा प्रतियोगी त्यहींबाट बाहिरिन्छन् । यसरी छानिएका प्रतियोगीहरूबाट प्रत्येक कोचको १२–१२ जनाको ड्रिम टिम तयार हुन्छ । ब्लाइन्ड अडिसन जम्मा दस एपिसोडको हुनेछ । यसरी आफ्नो भागमा परेका प्रतियोगीलाई कोचहरूले एक महिना लामो प्रशिक्षण प्रदान गर्छन् अनि ब्याटल राउन्ड सुरु हुनेछ ।
ब्याटल राउन्ड
यो द भ्वाइस अफ नेपालको तेस्रो चरण हो । यसमा ब्लाइन्ड राउन्डबाट छनौट भएका ४८ जना प्रतियोगीले प्रतिभा देखाउनेछन् । यसमा हरेक कोचले आफ्नो भागमा रहेका १२ जना प्रतियोगीलाई ६ समूहमा विभाजन गर्छन् । ती प्रत्येक समूहमा २ जना प्रतिस्पर्धी हुन्छन् । उक्त समूहमा जसले राम्रो गाउँछ उसलाई अर्को चरणका लागि छनौट गरिन्छ भने एक जना त्यहीँबाट बिदा हुन्छन् । यो ब्याटल राउन्डअन्तर्गत स्टिल अर्थात् चोरी भन्ने अप्सन पनि छ । चोरीअन्तर्गत कोचले अरू टिमबाट बाहिरिएका ६ जनामध्ये कुनै २ जना प्रतिभालाई आफ्नो टिममा समावेश गर्न सक्छन् । यसबाट हरेक कोचका साथ ८ जना प्रतियोगी हुनेछन् । यसरी ३२ जना प्रतियोगी लाइभ सोका लागि छनौट हुन्छन् ।
लाइभ शो हुँदै फिनाले
लाइभ शोमा प्रत्येक कोचले हरेक दिन आफ्ना ४ जना प्रतियोगीलाई मञ्चमा उतार्नेछन्, जसबाट एक–एक जना छनौट हुँदै जान्छन् । बाँकी ३ जना भोटिङ प्रक्रियामा जान्छन् । ती तीन जनामध्ये जसले कम भोट ल्याउँछ उसलाई त्यहीँबाट बिदाइ गरिन्छ भने बाँकी २ जना छनौट हुन्छन् । लाइभ शोका १३ एपिसोड हुनेछन् । यसरी अन्तिमसम्म पुग्दा हरेक कोचसँग एकएक जना प्रतियोगी बाँकी रहन्छन् । यसरी ४ जना प्रतियोगीलाई लिएर द भ्वाइस अफ नेपाल ग्रान्ड फिनालेमा प्रवेश गर्नेछ । त्यसपछि उनीहरू बीचको भोटिङका आधारमा पहिलो द भ्वाइस अफ नेपाल छनौट हुनेछन् । यो ट्यालेन्ट सो प्रतियोगीहरूबीचको प्रतिस्पर्धा मात्र नभएर कोचहरूबीचको प्रतिस्पर्धासमेत भएको निर्देशक पौडेल बताउँछन् ।