साप्ताहिक संवाददाता
इमेज च्यानलले आयोजना गर्ने २० औं संस्करणको इमेज एवार्डका लागि १८ विधाका उत्कृष्ट पाँचको मनोनयन सूची सार्वजनिक भएको छ । उत्कृष्ट पाँच मध्येबाट विजेता छनौट गरी यही असोज २० गते उक्त एवार्ड वितरण गरिने बताइएको छ । यो वर्षको एवार्डमा पनि गीत, संगीत, रचनालगायत म्युजिक भिडियो तथा पब्लिक च्वाइस एवार्ड गरी १८ विधाका उत्कृष्ट ५–५ को मनोनयन सार्वजनिक गरिएको हो ।
यस पटकको एवार्डका लागि २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भै दर्ता गरिएका नेपाली गीत तथा म्यूजिक भिडियो मनोनयनमा समावेश छन् । १७ विधाको मनोनयन नेपाली सांगीतिक क्षेत्रका विज्ञहरूको मूल्यांकनका आधारमा गरिएको र मनोनीत ५ मध्येबाट उत्कृष्ट चयनका लागि संगीत क्षेत्रका विज्ञहरूबाट नै प्राविधिक मत लिइने इमेज च्यानलले जनाएको छ ।
यसपटकको एवार्ड समारोहमा संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘इमेज लाइफटाइम अचिभमेन्ट एवार्ड’बाट सम्मानित गर्न लागिएको छ । यसैगरी ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दि इयर’ का रूपमा विशेष सम्मान प्रदान गर्न लागिएको छ ।
यसपटकको एवार्डका लागि सर्वाेत्कृष्ट पुरुष गायनतर्फ शिव परियार, हेमन्त शर्मा, कर्मा ग्याल्जेन बोमजन, सत्यराज आचार्य तथा अजर जंगम मनोनयनमा परेका छन् भने गायिकातर्फ बानिका प्रधान, निखिता थापा, प्रविशा अधिकारी, निशा देशार तथा दुर्गा परियार मनोनीत छन् । उत्कृष्ट पप गायकतर्फ दीपक बज्राचार्य, उल्सन श्रेष्ठ, पुष्पन प्रधान, सुगम पोखरेल तथा कमल खत्री मनोनीत छन् भने पप गायिकातर्फ आकांक्षा बस्याल, श्रेया सोताङ, निखिता थापा, टीका प्रसाईं तथा प्रमिला राई मनोनीत छन् ।
उत्कृष्ट गीतकारमा रमेश बिजी, आनन्द अधिकारी, राखी गौचन, एमडी फिराक तथा नारायण गौतम मनोनयनमा परेका छन् भने उत्कृष्ट संगीतकारमा हरि लम्साल, सागर राज, सुरेश अधिकारी, कमल खत्री तथा किरण कँडेल मनोनीत छन् । पब्लिक च्वइस एवार्डका लागि श्रोताहरूले अनलाइन भोट गर्ने छन् जसमा माया लुकी–लुकी, पर्ख–पर्ख मायालु, तिमी रोएको पल, चरी चट्ट परी तथा मन मगन मनोनित छन् ।