साप्ताहिक संवाददाता
सहरमा बग्रेल्ती रेस्टुराँ छन् । केही पाइलाको दूरीमा नयाँ–नयाँ आकर्षक रेस्टुराँ फेला पर्छन् । यद्यपि ती सबै रेस्टुराँमा उपभोक्ताहरूको पहुँच नहुन सक्छ । आर्थिक अवस्थाका कारण महँगा रेस्टुराँमा पुगेर नयाँ स्वाद लिने कतिपयको रहर पूरा नहुन सक्छ । काठमाडौंका प्रमुख सपिङ सेन्टरहरूमा साना र चिटिक्क परेका यस्ता रेस्टुराँ भेटिन्छन्, जहाँ आफूले चाहेजस्तो स्वाद लिन सकिन्छ ।
किनमेलका लागी सबैभन्दा पुरानो सपिङ सेन्टर हो, टंगालस्थित भाटभटेनी सुपर मार्केट । यो सुपर मार्केटको आँगनमा रहेका साना र चिटिक्क परेका क्याफे तथा रेस्टुराँमा भने जस्तै स्वाद फेलापार्न सकिन्छ । मिठाईका लागि आफ्नो क्षेत्रमा स्थापित र लोकप्रिय भैसकेको गुलाब स्वीट्समा मिठाईका सबै आइटम त्यहाँ उपलब्ध छन् । त्यसमा पनि लालमोहन, रसबरी र जलेबी बढी अर्डर हुने मिठाई हुन् । गुलाब स्वीट्सको ठ्याक्कै अघि छ, म्यागी नुडलको आउटलेट । जहाँ नुडल र कफी अर्डर गर्न सकिन्छ ।
काठमाडौंमा चारवटा आउटलेट भएको म्यागीका थप दुईवटा आउटलेट उपत्यका बाहिर छन् । यो भारतीय नुडलले नेपालमा पनि राम्रै बजार लिएको छ ।
भाटभटेनी सुपर मार्केटमै अवस्थित नेवारी किचेनमा बिभिन्न नेवारी परिकारहरूको स्वाद लिन सकिन्छ । चटामरी, बारा तथा नेवारी खाजा सेट त्यहाँ बढी अर्डर हुने परिकार हुन् ।
त्यस्तै तिब्बतीयन फुड्स एन्ड स्न्याक्सको मेनु हेर्नुहुन्छ भने लाफिङ, ड्रमस्टिक, स्मुदि, मिल्क सेक, हट् ड्रिंक्स, प्रोटिक सेक तथा कुखुराको मासुबाट बनेका विभिन्न परिकार चाख्न पाइन्छ । कफीका लागि चर्चित हिमालयन जाभाको आउटलेट पनि छ त्यहाँ, जहाँ झन्डै ५० भन्दा बढी कफीको स्वाद उपलब्ध छ ।