साप्ताहिक संवाददाता
भुवन केसीसँग छुट्टिएर एक्लो जीवन बिताइरहेकी अभिनेत्री सुस्मिता बम्जनले दक्षिण भारतीय नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी छिन् । गत ९ सेप्टेम्बरमा आफूले स्वामीसँग इन्गेजमेन्ट गरेको सुस्मिता आफैंले खुलासा गरेकी हुन् । उनका हुनेवाला श्रीमान् स्वामी अस्ट्रेलियामा बस्दै आएका छन् ।
बुझिएअनुसार उनीहरू एक वर्षदेखि अफेयरमा थिए । सुस्मिता तथा स्वामीले पारिवारिक सहमतिमै इन्गेजमेन्ट गरेको बताइन्छ ।
उनीहरूले आगामी भ्यालेनटाइन डेका दिन विवाह गर्ने बताइएको छ । सुस्मिता सन् २००१ मा अभिनेता भुवन केसीसँग छुट्टिएपछि छुट्टै डेरा लिएर बस्दै आएकी थिइन् ।
म त तिम्रै हुँ, नेपाली बाबु, करोडपति, सुपरस्टार आदि चलचित्रमा अभिनय गरेकी सुस्मीताका पुर्व श्रीमान् भुवन भने अर्की अभिनेत्री जिया केसीसँगको लिभिङ टुगेदरमा छन् । सुस्मिता र भुवनलाई मिलाएर राख्न उनीहरूका सुपरस्टार पुत्र अनमोल केसीले निकै प्रयास गर्दै आएका थिए ।