साप्ताहिक संवाददाता
एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । गत साता अमेरिकाको सानफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्सएस, एक्सएस म्याक्स तथा एक्सआर मोडल सार्वजनिक गरेको हो जसमध्ये एक्सएस र एक्सएस म्याक्समा डबल सिम प्रयोग गर्न सकिन्छ । यी तीनवटै फोनमा फेस डिटेक्सन फिचर भएकाले यसलाई विशेष सुरक्षित मानिएको छ । आईफोन एक्सएस म्याक्सलाई हालसम्मकै ठूलो स्मार्ट फोन भनिएको छ किनभने यसमा ६.५ इन्चको स्क्रिन छ । यी नयाँ आईफोन सेप्टेम्बर २८ देखि विश्वका २१ वटा देशमा बिक्रीमा आउनेछन् ।
आईफोन एक्सएस म्याक्स
आईफोन एक्सएस म्याक्समा ६ दशमलव ५ इन्चको ओएलईडी सुपर रेटिना एचडीआर स्क्रिन छ । यसमा नोच डिस्प्ले छ । यो फोन ए १२ बायोनिक प्रोसेसरबाट चल्छ । त्यसैगरी यसमा १२ र ७ मेगापिक्सलको ड्युअल क्यामेरा जडान गरिएको छ । यो फोन तीन कलरमा उपलब्ध हुनेछ, जसको मूल्य ६४ जीबीको १ हजार ९९ अमेरिकी डलर, २ सय ५६ जीबीको १ हजार २ सय ४९ अमेरिकी डलर तथा ५ सय १२ जीबीको १ हजार ४ सय ४९ अमेरिकी डलर तोकिएको छ ।
आईफोन एक्सएस
आईफोन एक्सएसमा ५ दशमलव ८ इन्चको ओएलईडी सुपर रेटिना एचडीआर स्क्रिन छ भने यसको रिजोलुसन २४३६ह्११२५ पिक्सेल छ । आईफोन एक्स एसमा आईफोन एक्सको तुलनामा ३० मिनेट बढी ब्याट्री क्षमता छ । आईओएस १२ सफट्वेयरयुक्त यो आईफोनमा ए १२ बायोनिक चिप तथा ७ नानोमिटर प्रोसेसर छ, जसका कारण यो सन् २०१७ का आईफोन भन्दा ३० प्रतिशत छिटो चल्ने दाबी गरिएको छ । थ्रीडी टच प्रेसर सेन्सिटिभ स्क्रिन तथा स्टेरियो साउन्ड यसका थप विशेषता हुन् । आईफोन एक्सएस ६४ जीबीको ९ सय ९९ डलर, २५६ जीबीको १ हजार १ सय ४९ अमेरिकी डलर तथा ५ सय १२ जीबीको १ हजार ३ सय ४९ अमेरिकी डलर पर्नेछ ।
आईफोन एक्सआर
आईफोन एक्सआरमा एज टु एज ६ दशमलव १ इन्चको एलसीडी लिक्विड रेटिना डिस्प्ले छ । यसमा पनि नोच डिस्प्ले छ भने ए १२ बायोनिक चिपको प्रयोग गरिएको छ । यसमा वाइड एंगल लेन्स भएको १२ मेगापिक्सलको सिंगल रियर क्यामेरा छ । यसको ब्याट्री अरू आईफोनको तुलनामा बढी टिकाउ हुने दाबी गरिएको छ । यसमा होम बटन छैन । यसलाई चलाउन हेप्टिक टच नामक नयाँ फिचर्स प्रयोग गर्नुपर्छ भने यसमा थ्रीडी टच सपोर्ट पनि छैन । यसको बजार मूल्य ६४ जीबीको ७ सय ४९ अमेरिकी डलर, १ सय २८ जीबीको ७ सय ९९ अमेरिकी डलर तथा २ सय ५६ जीबीको ८ सय ९९ अमेरिकी डलर मूल्य तोकिएको छ ।