साप्ताहिक संवाददाता
यसपालिको गाईजात्रा कार्यक्रममा पत्रकार ऋषि धमलाको पाइलट पेन झ्याप हानेको छु । त्यसभन्दा अघि सानैमा छिमेकीको बारीमा पाकेको काँक्रा झ्याप हानेको याद छ ।
केदार घिमिरे, हास्यकलाकार
मैले यो उमेरसम्म झ्याप हानेको भनेको दर्शकको माया मात्र हो ।
दीपाश्री निरौला, अभिनेत्री
कलेज पढ्दा टेबलटेनिसमा राम्रो खेल प्रदर्शन गरेर एउटीको दिल झ्याप्प चोरेको थिएँ, तर उनी मेरी हुन सकिनन् ।
स्यारोन रेग्मी, मोडल
मेरी भाउजूको चस्मा निकै मन परेर उहाँसँग नसोधि सुटुक्क लिएकी छु ।
कल्पना कुसुम, गायिका
पाँच वर्षअघि शेर्पा मलको कफी सपमा बाहिरपट्टि कौशीमा बसेर हट लेमन विथ हनी खाँदा हावा चलेर मेरो केश हावाले उडाएको उडाई गर्यो अनि मलाई साह्रै रिस उठ्यो । त्यसपछि मैले त्यो हनी घोल्ने घोचोले केश जुरो पारेर त्यसलाई अड्याएकी थिएँ । पार्किङमा पुगेर स्कुटरको ह्यान्डलमा भएको हेयर क्लिप देखेपछि त्यो घोचोको याद आयो तर हतार भएकाले म त्यो घोचो फिर्ता गर्न माथि चढिनँ । त्यो घोचो झ्याप हानेजस्तै भयो ।
नानी थापा, रंगकर्मी
धेरै मानिसले आफूलाई मन परेको कुरामा अरुलाई चुना लगाइदिने, गिफ्ट माग्ने, झ्याप पार्ने आदि गरेको देख्छु । त्यसरी अरूलाई दु:ख दिन यो कृष्ण काफ्लेलाई कहिल्यै आएन । त्यस्तो गर्दा आफू असक्षम भएको पुष्टि हुन्छ । त्यसैले म कहिल्यै त्यस्तो गर्न चाहन्नँ र अरुले त्यस्तो गरेको पनि मलाई मन पर्दैन ।
कृष्ण काफ्ले, गायक
सामान नै त झ्याप परेको छैन । आजसम्म सबैभन्दा ठूलो झ्याप हानेको कुरा भनेकै दर्शकहरूको माया हो । त्यसैले आउने दिनमा पनि अझ राम्रो टेलिभिजन कार्यक्रम बनाएर दर्शकको माया झ्याप हान्ने दाउमा छु ।
पुजन थापा, मोडल
म सानोमा निकै चञ्चल थिएँ । मलाई एउटा म्युजिक क्यासेट किन्ने ठूलो धोको थियो, तर आफूसँग पैसा थिएन । त्यतिबेला मैले क्यासेट किन्न बुबाको खल्तीबाट ५० रुपैयाँ झ्याप पारेको थिएँ । मैले जीवनमा झ्याप पारेको महत्वपूर्ण कुरा भनेको त्यही ५० रुपैयाँ मात्र हो ।
विक्रान्त मेहता, चिकित्सक तथा गायक
सानोमा बुबाको पैसा धेरै झ्याप हानेको छु । यद्यपि मैले त्यसबाहेक अरू केही झ्याप हानेको छैन । मेरा साथीहरूले भने मेरा सामान खुबै झ्याप पारेका छन् । त्यो कुरा थाहा पाएर मैले उनीहरूको संगतै छाडिदिएँ ।
कृष्ण आचार्य, पत्रकार तथा लेखक
अहिलेसम्म त्यस्तो केही झ्याप पारेको सम्झना छैन ।
गौरव पहारी, अभिनेता
म धेरैजसो मेरा दिदीबहिनीहरूको नयाँ ड्रेस झ्याप हान्छु अनि कहिलेकाहीँ ड्याडीको एटिएमबाट नगदसमेत झ्याप हानेकी छु ।
सञ्चिता लुइँटेल, अभिनेत्री
मैले अहिलेसम्म कसैको केही कुरा झ्याप पार्न सकेकी छैन ।
अस्मिता राना, मोडल
मैले अहिलेसम्म झ्याप हानेको भनेकै मेरी श्रीमती हुन् ।
प्रदिप भट्टराई, निर्देशक
मैले अहिलेसम्म कसैलाई पनि झ्याप हान्न पाइनँ । यद्यपि मलाई भने धेरैले झ्याप हानेका छन् ।
दिनेश काफ्ले, हास्यकलाकार
करिब ३० वर्षअघि न्युरोडस्थित एक भिडियो क्यासेट पसलबाट हिन्दी चलचित्र सत्ते पे सत्ताको भीएचएस चक्का भाडामा लगेको थिएँ । त्यो चलचित्र साह्रै मन परेर नबुझाए पनि बुझाइसकेको छु भनेर पच पारेको थिएँ ।
निर्मल शर्मा, अभिनेता
दारुले झ्याप चाहिँ धेरैपटक भएको छु । झ्याप पारेको चाहिँ याद छैन । विवाह गरेको दिन आफूले झ्याप पारियो भन्ठानेको त पछि बुझ्दै जाँदा आफैं पो झ्यापमा परिएको रहेछ ।
दीपकराज गिरी, अभिनेता
मैले अहिलेसम्म कसैको केही झ्याप पार्न सकेको छैन, किनभने मागेर धनी र दिएर गरिब भइँदैन भन्ने मलाई राम्रोसँग थाहा छ ।
प्रल्हाद सुवेदी, गीतकार
आमाको डायालोसिस गर्ने बेला औषधि पसलबाट रगत बढाउने एउटा इन्जेक्सन झ्याप पारेको थिएँ ।
संगीता तिमिल्सिना, गायिका