साप्ताहिक संवाददाता
३ जना गीतकार तथा गजलकारको सयुक्त एल्वम ‘जुहार’ सार्वजनिक भएको छ । सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा गीत तथा गजलकार रमेश सुवेदी, दामु मर्सिफुल र कविता उपाध्यायका गीत तथा गजलहरुको संग्रह ‘जुहार’ सार्वजनिक भएको हो । उक्त एल्वममा संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् ।
एल्वममा रमेश सुवेदीका ‘अप्ठेरोमा नडराउ देशको माया गर्नेहरु’ बोलको राष्ट्रिय गीत तथा ‘दुनियाँले तेर्साएर हातै थाप्दो रहेछन्’ बोलेको गीत समावेश रहेका छन् । यस्तै दामु मर्सिफुलको ‘हजार जन्म जन्ममा समीप बन्न पाउँ म’ बोलको गजल तथा कविता उपाध्यायको ‘इश्वर साक्षि छन्’बोलको गीत समावेश गरिएको छ ।
एल्वममा गायक मनोजराज, बानिका प्रधान, श्रेयसी चेम्जोङ्ग, प्रकाश रेग्मी लगायतका गायक गायिकाको आवाज समावेश गरिएको छ । एल्वम सार्वजनिक कार्यक्रममा गायिका श्रेयसी तथा गायक प्रकाश रेग्मीले एल्वमभित्रका गीत गाएका थिए । वरिष्ठकवि तुलसी दिवस, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, गजलकार ज्ञानवाकर पौडेल, वरिष्ठसंगीतकार शक्तिबल्लभ लगायतका स्रष्टाले एल्वम सयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
एल्वमका स्रष्टा रमेश सुवेदीको स्वागत मन्तव्यबाट सुरुभएको उक्त कार्यक्रममा अर्का स्रष्टा दामु मर्सिफुलले धन्वाद ज्ञापन गरेका थिए भने सङ्गीतकार सन्तोष श्रेष्ठ, कविता उपाध्याय तथा बालस्रष्टा अर्चितबाबु मर्सिफुल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।