साप्ताहिक संवाददाता
थ्री स्टार युवा क्लबलको अगुवाईमा क्लबका अध्यक्ष तथा समाजसेवी ईश्वर काफ्ले पाल्पालीले पाल्पाको रम्भा गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् । आफ्नो व्यक्तिगत पहलमा सामाजिक सञ्जाल मार्फत उठेको रकमममा ७ लाख अपुग रकम थपेर उनले एम्बुलेस यसै साता स्वास्थ्य चौकीमा हस्तान्तरण गरेका हुन् । पाल्पामै एक सांस्कृतिक कार्यक्रमका बीच नेपाली कांग्रेसका नेता गगन थापा, ५ नम्बर प्रदेससभा सांसद बीरबहादुर राना, रामपुर नगरपालिका मेयर रमणबहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले एम्बुलेन्स सयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बद्री पंगेनीले ‘सबै जनता सचेत हुने बेला आएको छ,’ लगायतका गीत गाएका थिए । पंगेनीले स्टेजमा गीत गाउँदै गर्दा मञ्चमा रहेका नेताहरुले मुँसुमुँसु हाँसेर प्रतिकृया जनाएका थिए ।
त्यस्तै आधुनिक गायक हेमन्त शर्मा मूल हौ भने रसाइदेउ, फुल हौ भने बसाइदेउ.... भन्दै मञ्चमा उक्लिएका थिए । घर त मेरो अर्गली, मावल मेरो चिदीपानी...पाल्पाली नै हुँ भन्दै उक्लिएका उनले पनि दर्शकलाई नचाए । गायक शर्माले आफ्ना लोकप्रिय गीत सुनाए ।
कार्यक्रममा गायक रमेशराज भट्टराई, लोकगायक दुर्गा रायमाझी, लोकगायिक जमुना रानालगायतका कलाकारले आफ्नो प्रस्तुती दिएका थिए ।