हिमालपारिको जिल्लाबाट सबैलाई नमस्कार । कास्कीको पोखराबाट म्याग्दीको तातोपानी, मुस्ताङको जोमसोम हुँदै अपर मुस्ताङको ल्होमान्थाङसम्मको यात्रामा तपाईंलाई स्वागत छ । आउनुहोस्, यो यात्राका धेरै सम्झनामध्ये एउटा संझनाबाट मनोजरञ्जन गरौं ।
बेनीबाट सुरु भएको हाम्रो यात्रा तातोपानी, दाना, लेते, मार्फा, छुसाङ्हुँदै जोमसोम पुग्छ । बीचबीचमा स–साना बजारहरू पनि छन् । ती बजारमा सबैभन्दा बढी देख्न पाइने के होला ? अनुमान लगाउनुहोस् त ।
कसैलाई लाग्यो होला, स्याउ । कसैलाई लाग्यो होला, स्याउको ब्रान्डी । कसैलाई लाग्यो होला, याक । कसैलाई लाग्यो होला, छुर्पी । तपाईंहरूको अनुमान गलत होइन । यहाँ हिमाली भेगमा पाइने सबै कुरा पाइन्छन्, जुन अरू भेगमा पनि पाइन्छन् ।
यद्यपि अरू हिमाली भेगमा नपाइने तर यो रुटमा पाइने मुख्य कुरा भनेको थकाली खाना हो । बेनीबाट जोमसोम पुगुन्जेल जति पनि बजार छन्, जति पनि खाना वा खाजाघर छन्, तीमध्ये थकाली भान्छाघर नै सबैभन्दा बढी छन् ।
एक हिसाबले यसलाई थकाली खानाको स्वायत्त प्रदेश भने पनि हुन्छ । रमाइलो कुरा त के छ भने थकाली भान्छाघरमा थकालीमात्र होइन, अन्य नेपालीसहित भारतीय, चाइनिज, अमेरिकनलगायत सबै विदेशीको आकर्षण पाइन्छ ।
गन्ने नै हो भने त्यो रुटमा २ सयभन्दा बढी थकाली भान्छा घर होलान् । भलै थकाली भान्छाघरको अगाडि–पछाडि अन्य फुर्को पनि जोडिएका हुन्छन् । दिदीको थकाली भान्छाघर, लेते थकाली भान्छा घर, मीठो थकाली भान्छा घर, स्वादिलो थकाली भान्छाघर, आफ्नै थकाली भान्छाघर, हजुरको थकाली भान्छा घर आदि–इत्यादि ।
वास्तवमा सबैभन्दा बढी कपि गरिएको ट्रेडमार्क थकाली भान्छाघर नै होला । हुन त अमेरिकाको केएफसी तथा बर्गर किङ पनि अन्तर्राष्ट्रिय रूपमा चलेका ब्रान्ड हुन्, तर नेपालजस्तो सानो देशको यति धेरै ब्रान्ड र अमेरिकन ब्रान्डमा नेपाली ब्रान्डले नै जित्छ ।
नेपालमा मात्र होइन, विश्वको जुनसुकै सहरमा जानुहोस् जहाँ नेपालीहरूको बसोबास छ, त्यहाँ दुई–चारवटा थकाली भान्छाघर खोलिएकै हुन्छ । भलै भान्छाघरमा थकाली परिकार कम, अन्य परिकार बढी बेचियोस्, तैपनि थकाली खानाको साइनबोर्ड झुन्ड्याइएकै हुन्छ ।
एक मित्र भन्दै हुनुहुन्थ्यो, कुनै दिन यस्तो पनि साइन बोर्ड देख्न पाइएला जसलाई देख्दै हाँसो उठ्न सक्छ । ‘आपका थकाली भान्छाघर । यहाँ अनुभवी भारतीय कुकद्वारा तयार पारिएको मीठो थकाली खाना पाइन्छ । सरदार प्रोप्राइटर : राम एकवाल सिंह ।’
त्यसो त नेपालमा बाजेको पेडा पनि धेरै कपि गरिएको ब्रान्ड हो । सप्तरीको बरमझियास्थित बाजेको पेडाको नाम नसुन्ने कमै होलान्, तर पेडा पसलको नाम कमैलाई थाहा होला । बाजेको पेडा, बूढो बाजेको पेडा, उही बाजेको पेडा, साँच्चैको बाजेको पेडा, खास बुढाको पेडा, ज्यूँदै भएको बुढाको पेडा, बूढाबूढीको पेडा, बुढाका बाउको पेडा, बूढाको छोराको पेडा, बूढैबूढाको पेडा आदि इत्यादि ।
यद्यपि थकाली खानाजस्तो बाजेको पेडाको अन्तर्राष्ट्रियकरण भैसकेको छैन । भविष्यमा होला तर अहिलेलाई भने थकाली खाना नै नेपालको सबैभन्दा चर्चित ब्रान्ड हो, तर यसलाई व्यवस्थित बनाउनुपर्ने देखिन्छ ।
वास्तविक थकाली भान्सा स्वाद, स्वास्थ्य र मीठो स्वागतका लागि चर्चित रहँदै आएको छ । थकाली खाना स्वस्थ हुन्छ । उनीहरूको स्वागत आत्मीय हुन्छ । उनीहरूले तयार पारेको खाना स्वादिलो हुन्छ, तर आफ्नो दोकान चलाउन जोसुकैले ‘थकाली भान्छाघर’ नाम राख्नाले यसको विश्वसनीयता, स्वाद र मिठासमा कमी आउने खतरा बढ्दै गएको छ । लौन, थकाली खानाको साख जोगाऔं ।