कानुनत: नेपालमा यौन व्यापार गर्न पाइँदैन, तैपनि विभिन्न ठाउँमा खुलेआम भैरहेको छ । यदाकदा यसरी व्यापार गर्नेलाई पक्राउ गरिए पनि अधिकांशले सेटिङ मिलाएरै यसबाट फाइदा उठाइरहेका छन् ।
केही वर्ष अघिसम्म पोखराको बाग्लुङ बसपार्क अघोषित रेट लाइट एरियाका रूपमा चिनिन्थ्यो । प्रहरीको सक्रियतामा त्यसलाई त्यहाँबाट हटाइयो । केही यौन व्यवसायी तथा यौनकर्मी विस्थापितसमेत भए, तर पनि यो व्यवसाय पूर्ण रूपमा निमिट्यान्न हुन सकेन । बाग्लुङ बसपार्कबाट विस्थापित भएका व्यवसायी एवं यौनकर्मीको धन्दा पोखराका घर, होटल, फ्ल्याट मात्र नभएर पोखरा आसपासका खुल्ला एरियातर्फ समेत सर्यो । त्यतिबेला पनि बाग्लुङ बसपार्क मुख्य ठाउँ भनिए पनि पोखराका अन्य ठाउँमा समेत यस्तो धन्दा चल्थ्यो । पोखराका विभिन्न क्षेत्रमा अहिले पनि यो व्यवसाय भैरहेको बताइन्छ । पोखराका केही ठूला होटलमा समेत यस्तो व्यवसाय हुने गरेको आरोप लाग्दै आएको छ ।
यही समयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थापन गर्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरेपछि यसले सबैतिर तरंग ल्याएको छ । मुख्यमन्त्री गुरुङले त्यस्तो व्यवसायमा लाग्नेलाइ कार्ड दिने व्यवस्था गर्नुपर्ने बताउँदै यसको व्यवस्थापनका विषयमा छलफल र बहस सुरु गर्नुपर्ने कुरा उठाएका हुन् ।
यसअघि पनि बेला–बेलामा यस्तो बहस–छलफल बाहिर आउँथे । एकथरीको भनाइ यौन व्यवसायलाई पूर्ण रूपमा बन्द गरिनुपर्छ भन्ने छ अर्कोथरीको भनाइ व्यवस्थित गरेर यसलाई सञ्चालन गर्न दिनुपर्छ भन्ने छ ।
संसारमा प्रमुख आयस्रोत नै यौन बजार भएका देशसमेत छन्, जहाँ कानुनी मान्यता दिएरै ‘रेडलाइट’ एरिया निर्धारण गरी यो व्यवसायलाई व्यवस्थित गरिन्छ । यसको उदाहरणमा थाइल्यान्ड, स्पेन, ब्राजिल, केन्या जस्ता मुलुक छन् ।
पोखरामा साधारणदेखि उच्च तहसम्मका यौनकर्मी महिला छन् । साधारण युवती पोखरामा सजिलै पाइन्छन् । पोखराका रेस्टुराँ समेतमा उक्त यस्ता युवतीले एक पटकको सेवा बापत १ हजार रुपैयाँसम्म लिन्छन् भने एक रातको ३ हजार रुपैयाँसम्म लिने उनीहरूको शुल्क विदेशीको हकमा त्यसभन्दा केही बढी हुन्छ ।
पोखरामा फोनमार्फत नै सम्पर्क गरेर सेवा दिने युवतीहरू पनि छन् । खुलेर आफूलाई यौन व्यवसायी भन्न नचाहे पनि उनीहरू आपसी सहमतिमा सेवा दिँदै रकम असुल्छन् । उनीहरूले ग्राहककै खर्चमा स्तरीय होटलमै पुगेर सेवा दिन्छन् । यसरी सेवा दिनेहरू जिल्ला भित्रका भन्दा बाहिरका बढी हुन्छन् । रमाइलोका लागि यसरी हिँड्नेहरू पनि छन् । कलेज अध्ययनरत युवतीसमेत यस्तो कार्यमा लागेको पाइन्छ, जसमा बाहिरबाट आउनेहरू नै बढी भएको बताइन्छ । उनीहरू बाहिरभन्दा पनि आफ्नै डेरामा सेवा दिन रुचाउँछन् ।
दिउँसो अन्यत्र काम गर्ने केही युवतीले समेत आम्दानीको मुख्य पाटो यसैलाई बनाउने गरेका छन् । उनीहरू रात परेपछि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा भेटिन्छन् । उनीहरूको मुख्य ग्राहक विदेशी हुन्छन् । अव्यवस्थित रूपमा यसरी हुने क्रियाकलापका कारण विभिन्न यौन रोग फैलन सक्ने खतरा समेत छन् । पोखरामा महिलासँगै पुरुष यौनकर्मीहरूसमेत सक्रिय छन् । यसमा नियन्त्रणका लागि बेला–बेलामा प्रयास भए पनि अहिले भित्रभित्रै डरलाग्दो गरी फैलँदै गएको छ ।
कानुनले के भन्छ ?
गएको भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन—२०७४ मा वेश्यागमनका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गरिएको छ । उक्त संहिताको दफा ११९ मा वेश्यागमनको प्रचार–प्रसारमा रोक लगाइएको छ । यस्तो कार्यमा गर्ने–गराउनेलाई तीन वर्षसम्म कैद तथा ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । यस्तै, दफा १२० मा वेश्यावृत्ति तथा वेश्यागमनका लागि घर, जग्गा प्रयोगमा रोक लगाइएको छ । कसैले यो कार्यका लागि जानीजानी आफ्नो घर–जग्गा वा सवारी साधन उपलब्ध गराए त्यस्तो कसुर गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा ५ हजारसम्म जरिवाना वा दुवै सजाय हुने संहितामा उल्लेख छ । यसअघि भने वेश्यावृत्तिसम्बन्धी छुट्टै कानुन नभएकाले प्रहरीले यस्ता क्रियाकलापमा संलग्नहरूलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउँदै आएको थियो ।
त्यसकारण हामी रेड गर्छौं
रेस्टुराँ, होटल तथा घरहरूमा समेत बेला–बेला प्रहरीले छापा मारेर वेश्यावृत्तिमा संलग्नहरूलाई पक्राउ गर्ने गरेको छ । होटलका कोठामा पस्ने प्रहरीको व्यवहारलाई कतिपयले निजी मामिलामा दक्खल दिएको भन्दै आलोचनासमेत गर्दै आएका छन् । यही सन्दर्भमा साप्ताहिकले काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामासँग गरेको कुराकानी :
वेश्यावृत्तिले समस्या निम्त्यायो भन्दै रेडलाइट एरिया तोक्ने विषयमा बहस हुन थालेको छ । वेश्यावृत्तिले निम्त्याउने समस्या के–के हुन् ?
यो सामाजिक अपराध हो । नेपालजस्तो देशमा खुल्लमखुल्ला गर्न पाउने भन्ने कुनै पनि हातलमा हुँदैन । यो कानुनले बन्देज गरेको कुरा हो । कानुनले बन्देज गरेका कारण नेपालमा यो वैध छैन ।
के वेश्यावृत्तिको समाधान रेडलाइट एरिया हो ?
समाधान रेडलाइट एरिया होइन् । यसमा विस्तृत छलफल हुन बाँकी नै छ । हामीसँग जुन कानुन छ, त्यसमा जसले वेश्यावृत्ति गर्छ त्यसलाई कारबाही गर्नुपर्ने व्यवस्था छ । रेडलाइट एरिया यसको उपयुक्त समाधान होइन् । रेडलाइटका विषयमा छलफल र अनुसन्धान पनि भएका होलान । त्यही छलफलको निष्कर्षले कानुनी रूपमा बन्देज गर्नुपर्ने भनेकाले बन्देज लगाइएको हो । हामी कानुन कार्यन्वयन गर्ने एकाइ भएका कारण कानुनले भनेको कुरा नै हाम्रा लागि उपयुक्त हो, त्यही कुरा ठीक पनि हो ।
होटलको कोठा, कुनै व्यक्तिको घर, रेस्टुराँ आदिमा वेश्यावृत्ति विरुद्ध हुने भनिएका प्रहरी कारबाहीमाथि समेत प्रश्न उठ्ने गरेको छ । निजी मामिलामा प्रहरीले हस्तक्षेप गर्नु कति जायज हो ?
वेश्यावृत्तिलाई कानुनी रूपमा बन्देज गरिएको छ । हामीले कानुन विपरीतका कार्यहरू मात्र रोक्ने हो, त्यसमा संलग्नहरूलाई कारबाही गर्ने हो । प्रहरी निजी घरमा जाँदैन । यो ठाउँमा संगठित रूपमा वेश्यावृत्ति भैरहेको छ भन्ने सूचना आएपछि मात्र हामीले पक्राउ गर्ने हो । यस्तो ठाउँमा विकृतिका कार्यहरू भैरहेका छन् भनेर सूचना पाएपछि पनि प्रहरी त्यहाँ नजाने हो भने उहाँहरूले प्रहरी त बिक्यो भन्ने मान्नुहुन्छ । यस्ता विकृतिका सूचना दिँदादिँदै पनि त्यहाँ रेड गर्दैन भन्ने कुरा आउँछ, त्यसकारण हामी रेड गर्छौं । विकृति र अपराधका विरुद्ध कदम चाल्नु प्रहरीको दायित्व हो । अनाहकमा कसैको व्यक्तिगत स्वतन्त्रता हनन हुने गरी अनुमानको भरमा प्रहरीले कसैकहाँ छापा मार्दैन, त्यसरी छापा मारिएको छ भने त्यो गलत हो ।
भनेपछि, प्रहरीले व्यक्तिगत गोपनीयताको सम्मान गर्छ ?
एकदमै सम्मान गर्छ । सूचना आइसकेपछि कानुनविपरीत गरिएका क्रियाकलापलाई मात्र प्रहरीले नियन्त्रण गर्ने हो । हामी वेश्यावृत्ति भैरहेका पर्याप्त आधार र सूचनाहरू पाएपछि मात्र खानतलासी गर्ने, छापा मार्ने काम गर्छौं । प्रहरीले दु:ख दिने हिसाबले वा त्यस्तो विकृति हुनसक्छ भन्ने हिसाबले मात्र व्यक्तिगत गोपनीयता र स्वतन्त्रता हनन हुने गरी काम गर्नुहुँदैन् । यदि त्यस्तो भएको छ भने त्यो गलत कार्य हो, रोकिनुपर्छ ।
ओमबहादुर राना, प्रहरी प्रमुख (एसपी), जिल्ला प्रहरी कार्यालय, कास्की
कोही आर्थीक कारणले त कोही रमाइलो गर्ने सोखका कारणले यौन व्यवसायमा लाग्ने गरेका छन् । म कास्कीमा आएपछि झन्डै १ सय जति यौनकर्मी पक्राउ परेका छन् । यस्तो कार्यमा लाग्नेहरू स्थान परिवर्तन गरिरहन्छन् । यदि वैधानिक रूपमा निश्चित एरिया तोकेर यो व्यवसायलाई वैधानिकता दिने हो भने विकराल रूपमा फैलँदै गएको बालकदेखि वृद्धसम्म बलात्कृत हुने घटनामा समेत कमी आउन सक्छ । हामीअवैधानिक रूपमा हुने यस्ता क्रियाकलाप रोक्ने कार्य गरिरहेका छौं । राम्रो आम्दानी हुने तथा पैसावालाहरूसँग सम्पर्क हुने भएकाले पनि यो व्यवसायमा लागेकाहरू सितिमिति जागिर खान खोज्दैनन् । विलासी जीवन बिताउन खोज्नेहरूसमेत यसतर्फ आकर्षित भएका छन् । नयाँ फौजदारी संहिता आएपछि भदौ महिनामा भने यस्ता क्रियाकलापमा संलग्नहरू पक्राउ परेका छैनन् । अब हामी आफ्नो सक्रियता बढाउँछौं ।
विकल तुलाचन, अध्यक्ष, पश्चिमाञ्चल होटल संघ
पोखरामा यौन व्यवसायलाई व्यवस्थित गर्नुपर्छ भन्ने कुरा विगतदेखि नै उठ्दै आएको हो । पोखरामा पहिलेदेखिनै विभिन्न तरिकाले यौन व्यवसाय भैरहन्थ्यो । प्रहरीले यसलाई शून्यमा झार्ने अभियान चलाए पनि यस्ता गतिविधि पूर्ण रूपमा रोकिन सकेको छैन । फरक यति मात्र हो, यस्तो व्यवसायमा लाग्ने व्यक्ति तथा ठाउँ मात्र परिवर्तन भयो । यो क्रियाकलाप भित्रभित्रै व्यापक रूपमा फैलँदै गएको छ । यदि रेडलाइट एरिया तोकेर यसलाई व्यवस्थापन गर्न सक्ने हो भने यो पेशा गर्ने र यौन चाहना पूरा गर्न खोज्ने दुवै पक्षलाई सहज हुनेछ । केही विदेशी पर्यटकले यस्तो सेवाको चाहना राख्छन् । त्यस्ता पर्यटकका लागि पनि यसले सहज बनाउँछ । स्वास्थ्यका दृष्टिले समेत यो फाइदाजनक हुन्छ । यसबाट व्यवसायीहरूको संख्या यकिन हुन्छ । उनीहरू चिनिन्छिन् । भित्रभित्रै अघोषित रूपमा हुँदै आएको यो व्यवसायलाई व्यवस्थित गर्नु राम्रो हुन्छ ।
सुन्दरकुमार श्रेष्ठ, वरिष्ठ पर्यटन व्यवसायी
यौन व्यवसायलाई व्यवस्थित गर्ने विषयमा नागरिक समाज, महिला सञ्जाल लगायत तमाम सम्बद्ध पक्षसँग छलफल चलाउनु पर्छ । यसमा २० वर्षभन्दा माथिको उमेर समूहकालाई व्यवस्थित तरिकाले यौन व्यवसाय गर्न दिन सक्नुपर्छ । भगवान्को पालादेखि नै यौन, धन र शक्तिका कारण झगडा भएको पाइन्छ । त्यसैले सरल तरिकाले यौनक्रियाकलाप गर्न पाए अपराधको दर घट्छ । कतिपय देशमा यसलाई राम्रो व्यवस्थापन गरिएको छ । यसलाई व्यवस्थापन गर्न सके पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्छ । संसारका ठूलो सिटीमा ‘कम्पनी’ का रूपमा यसलाई प्रयोग गरिन्छ, जहाँ सँगसँगै लिएर हिँड्ने, डुल्ने, घुम्ने, इच्छा लागे यौनसम्पर्क पनि गरिन्छ । उनीहरूले सहज तरिकाले पर्यटकलाई गाइड गर्छन् । मैले सन् २०१० मा पोखरा पर्यटन परिषद्को अध्यक्ष हँुदा यौन पर्यटनको विषयमा बहस सुरु गरेको थिएँ । त्यति बेला पनि यो विषयमा सकारात्मक तथा नकारात्मक टिप्पणीहरू भएका थिए ।
सरलाकुमारी पाण्डे, अधिवक्ता
यो काम विभिन्न माध्यमबाट लुकिछिपि भैरहेकै छ । लुकिछिपी भएको कुरालाई व्यवस्थित गर्न सके राम्रो हुन्छ । श्रीमान्बाहेक अरूसँग यौन सम्बन्ध राख्नुहँुदैन भन्ने नेपाली समाज पहिलेको तुलनामा अलि बढी खुला हुँदै गएको छ । यही कारणले पनि यौन व्यवसायमा वृद्धि भैरहेको छ । अहिले पनि कानुनी रूपमा यौन व्यवसायलाई वैधानिक मानिँदैन । निश्चित एरिया तोकेर कानुनी रूपमै यसलाई व्यवस्थित गर्न सके उपयुक्त हुन्छ ।
सरिता तिम्सिना पंगेनी, नागरिक अगुवा
यौन व्यवसायलाई व्यवस्थापन होइन, जरैदेखि निर्मूल गर्नुपर्छ । रेडलाइट एरिया तोक्ने वा अन्य कुनै तरिकाले यसलाई व्यवस्थापन गर्नु हुँदैन । निगरानी बढाएर यसलाई निर्मूल तुल्याउनुपर्छ । यदि खुल्लमखुल्ला व्यवसाय भयो भने यसले विकराल रूप लिन्छ । सबैका श्रीमान् पनि जान थाल्छन् । विभिन्न बहानामा छोरी चेलीलाई त्यहाँ पुर्याएर काम गर्न बाध्य पारिन्छ । पर्यटकका नाममा चेलिबेटीलाई अघि देखाएर कर उठाउने कुरा स्वीकार्य हुँदैन । बरु प्रदेश सरकारले के कारणले यौन व्यवसायमा लागेका छन्, त्यसको कारण के हो ? खोजेर तथ्यांक लिएर त्यसलाई व्यवस्थापन गर्नुपर्छ । बैकल्पिक रोजगारीको अवसर दिनुपर्छ । नियममा कडाइ गरेर यो व्यवसायलाई निर्मूल पार्नुपर्छ । यदि व्यस्थापनका नाममा वैधानिकता दिन खोज्ने हो भने सबै बरवाद हुन्छ ।