साप्ताहिक संवाददाता
१२ बजे प्रेस मिट गर्ने भनिएपछि बुटवलका पत्रकार चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को टिमलाई कुरेर बसिरहेका थिए । ‘इन्टु मिन्टु लण्डनमा’का कलाकार सिंह कम्प्लेक्सस्थित फुड कोर्टमा उपस्थित त भए, तर प्रशंसकहरूले घेरेपछि प्रेस मिट ट्राफिकचोकस्थित झिमा होटलमा सारियो । यद्यपि निर्देशक रेनशा वान्तवा राई तथा कलाकार धीरज मगर प्रेस मिट प्रारम्भ हुनुअघि नै भैरहवा हुँदै काठमाडौं उडे ।
यता अभिनेता शाहरूख ताम्राकार तथा अभिनेत्री साम्राज्ञी मात्र उपस्थित भएको पत्रकार सम्मेलन ५ मिनेट पनि चलेन । साम्राज्ञी निकै हतार भएको भन्दै शाहरूखलाई जानकारीसमेत नदिई भैरहवा एयरपोर्टतर्फ लागिन् र काठमाडौं फर्किइन् । साम्राज्ञीले सँगै जाऊँ समेत नभनी काठमाडौं फर्किएपछि शाहरूख रिसले चुर भए । शाहरूख पनि तुरुन्तै मिनीबस चढेर काठमाडौं हिँडे । साम्राज्ञीले सँगै जाऊँ भनेको भए के हुन्थ्यो ?
शाहरूख पत्रकारहरूसँग दु:खेसो पोख्दै थिए, ‘मोफसल घुम्दासम्म सँगै भएको मान्छेले कम्तीमा म जाँदैछु भनेर खबर त गर्नुपर्छ नि, क्या अजीवको मान्छे यार !’ साम्राज्ञी कहिले पत्रकार सम्मेलनमा ढिला उपस्थित हुने, कहिले पत्रकारसँग कराउने, कहिले सुटिङ सेटमा ढिला उपस्थित भएर किच–किच गर्ने, कहिले अन्तर्वार्ताका लागि समय दिएर अन्तिम समयमा आएर सरी भन्ने व्यवहारका कारण बारम्बार विवादमा तानिइरहन्छिन् । साम्राज्ञीको दिमागमा कहिले घाम लाग्ला बरै !