हरेक दिन फेसबुकमा देख्छु, कसै न कसैको बूढीको वा बूढाको बर्थ डे वा कम्तीमा एक जोडीको म्यारिज एनिभर्सरी परेकै हुन्छ । समयको चक्र हो, वर्षमा दुई दिन एक जोडीको जन्मदिन आइरहन्छ अनि वर्षमा एक दिन विवाहको वार्षिकोत्सव पनि ।
हरेक वर्षगाँठमा बूढाले बूढीलाई ट्याग गरेर शब्दका यस्ता ज्वारभाटाहरू बर्साउँछ सम्भवत: उसले ती शब्दहरू आफंैले सिर्जना गरेको पनि हुँदैन, अज्ञात स्रोतबाट ल्याएर पेस्ट गरिएको हुन्छ । कतिपय शब्दको अर्थ आफैंलाई थाहा नहुन सक्छ अनि सम्भवत: शब्दका भावहरू उसले वास्तवमै अनुभूति गरेको हुँदैन, तैपनि ऊ जहिल्यै फेसबुक पोस्टमा दोस्रो हुन्छ, किनभने प्राय: उसकी बूढीले रातको १२ बजे नै समान किसिमका अर्थ राख्ने पोस्ट गरिसकेकी हुन्छे । प्राय: यस्ता अवसरमा बूढाबूढीबीचको पहिले भन्ने राम्रै जुहारी चलेको देखिन्छ ।
वैवाहिक जीवनमा आबद्ध भैसकेका कतिपय दम्पतीले यो लेख पढेर यो पंक्तिसम्म आइपुग्दा रिसले कान राता बनाइसकेका होलान् । नबनाउन पनि किन ? ठाडै कुनै एउटा पोस्टका लागि गरिने सिर्जना आफ्नो नभै कसै न कसैको चोरेको हो भन्दा रिस त उठिहाल्छ । त्यसै पनि सबै सिर्जना आफ्नै हुने भए शेक्सपियरका उद्गार के कामका ? अनि सबै लक्ष्मीप्रसाद देवकोटा पनि त हुँदैनन् । कहीँ थोरोका वाक्य सापटी लिइन्छ त कहीँ चाणक्यका । उहाँहरूको रिसको लजिक अर्को पनि हुन सक्छ, के अब आफ्नो म्यारिज एनभर्सरीमा बूढीले बूढालाई वा बूढाले बूढीलाई विस पनि गर्न नपाउनु ? तथापि विवाहपछि कसैको मौलिकता नासिएर जान्छ भन्न खोजिएको पनि होइन र कसैले कसैलाई विस गर्न मनाही गर्ने कुरा पनि आउँदैन । यहाँ त केवल प्रविधिसँग जोडीएर आएको विकासशील नूतन जीवनशैलीका केही विचारणीय पाटाहरू केलाउन खोजिएको मात्र हो ।
आज विश्व प्रविधिको चरम विकासले धेरै सानो भएको छ । संसारको कुनै कुनाबाट इच्छाएको व्यक्तिसँग चाहेको समयमा भिडियो कल गर्न कुनै महाभारत छैन । यसर्थ आज एउटा पूर्ण जीवनमा सम्पर्कमा आउने मानिसहरूको संख्या असीमित छ । सामाजिक सञ्जालमा साथीहरूको हूल बहु–आयामिक, बहु–भाषिक, बहु–सांस्कृतिक, बहु–राष्ट्रिय, अनेकानेक छन् । ‘ह्यापी एनिभर्सरी माई डियर बूढा’ भनेर गाला जोडेको पोस्ट हाल्दा पल्ला गाउँको सन्ते कार्कीले त देख्छ नै, त्यही पोस्टमा अन्जानमा ट्याग खाएका उनकै बूढाका टियुका प्राध्यापकले पनि थाहा पाउँछन्, अंग्रेजी खासै नबुझ्ने बिन्देश्वरी मिसले देख्छिन् अनि स्विट्जल्यान्डका टिम कुकले पनि देख्छन् । फ्रेन्ड सूचीमा २ हजार छन् भने १ हजारले त पक्कै हेर्छन् । तैपनि, सेलेब्रिटीलाई छोडेर, मरेर २ सय लाईक र २० कमेन्टभन्दा बढी बिरलैको देखिन्छ । केटाका नजिकका साथीहरू जो उसको विवाहमा जन्त गएका थिए, केटीका नजिकका साथीहरू जो उनलाई दही–चिउरा ख्वाउन जानेवाला छन् र परिवार–नातागोताबाहेक उनीहरूको एनिभर्सरीको खबरले न कसैलाई हर्ष दिन्छ न त बिस्मात नै । केवल उनीहरूको इन्टरनेटको केही डाटा खाइदिन्छ । खाइँदो नपरेको कुरामा लाईक र कमेन्ट गरेर बस्न अलि बढी नै फुर्सद हुनुपर्ने हुन्छ वा मुड बेसी नै खराब हुनुपर्छ ।
अझ उदेक लागेर आउने कुरा त के भने उदायचलदेखि अस्तायचलसम्म एउटै घर–आँगनमा बस्ने श्रीमान्–श्रीमतीबीच फेसबुकका त्यही पोस्टमुनिका कमेन्टमा लभ यू तथा लभ यू टु अनि मुटु, माया र किसका इमोजीहरू टनाटन हुनु । लाग्छ, वास्तविक जीवनमा त उनीहरूको बोलचालसमेत हुँदैन वा फुर्सदै छैन । एउटै कमेन्टका हजारौं रिप्लाई हेर्दा लाग्छ, ‘किचेनमा भात डढ्यो जस्तो छ, म कुचो लगाउँदै छु, एकपटक गएर हेरिदिनु न’ भन्नसमेत मुख फोर्दैनन् श्रीमतीहरू, सीधै फेसबुक लग–इन गर्छन् । श्रीमान्हरू पनि कम छन् भन्न खोजेको होइन । करिब ८० वटा कमेन्ट सोही पोस्टमुन्तिर टाइप गरिरहनुभन्दा बरु बरन्डामै गएर मुखामुख कुरा गरे हुने ।
दुईमध्ये कोही विदेशमा छ भने पीएम गरे हुने, तर यहाँ सामाजिक सञ्जाललाई सुनियोजित ढंगमा कुनै पारिवारिक नाटक मञ्चनको स्टेज बनाइएको छ । ती श्रीमान्–श्रीमती कलाकार भैरहेका छन् । गोप्य हुनुपर्ने भावनाहरू छताछुल्ल विश्वसामु पोखिरहेका छन् । क्वालिटी समयसँगै बसेर, घुम्न गएर, प्रणयसूत्रमा बाँधिएर वा रचनात्मक तरिकाले आफ्नो विवाहको वार्षिकोत्सव मनाउन सकिन्छ न कि यन्त्रवत् ढंगले कुनै मेसिनमा हातका औँला चलाएर । फेसबुके पोस्ट वा कमेन्टले सम्बन्ध राम्रो हुने होइन, दैनिक व्यवहारले हुने हो । सम्बन्ध राम्रो छ भने वल्लोपल्लो घरकाले मात्र होइन, पूरै समाजले थाहा पाउँछ र उदाहरणीय मान्छ, तर स्वयं आफैंले विज्ञापन गर्नु नक्कले अनि ढोंगी प्रवृत्ति हो । यो सम्बन्ध घर चिराचिरा भएर चर्किएपछि बाहिरबाट जबरजस्ती प्लास्टर गर्न खोज्नुजस्तै हो ।
आत्मविश्वास फर्काउने आपसी कुराकानी र सद्भावले हो । अरूलाई सुनाउँदैमा कसैले आएर समस्या मिलाईदिँदैन । भनिन्छ, साँच्चै नै मिलेका जोडी फेसबुकमा टाइम पास गरेर बस्दैनन् । अझ बेलाबेलामा फेसबुकमा माया र विवाहलाई प्रोत्साहन गर्न भन्दै एक सातासम्म बूढाबूढी नारिएको तस्बिर राखेर अरू दुई जोडीलाई पनि त्यसै गर्न च्यालेन्ज दिइएको देखिन्छ । अहोरात्र आफैंसँग हुने बूढा वा बूढी सँगसँगै बसेर फोटो खिच्नुलाई पनि किन चुनौती भनिएको हो, साँचै चुनौतीपूर्ण भएर त होला । अर्काका बूढा वा बूढीसँग फोटो खिचेर हालाँैन् त्यो पो च्यालेन्ज । वैवाहिक जीवनभित्रका कतिपय विषयलाई गोपनीय नै राख्नुपर्छ । आपसी झगडा र माया आफ्नै वैवाहिक पर्खालभित्र राखेर सुल्झाउनु–बुझाउनुको मज्जा पनि बेग्लै छ । वैवाहिक जीवनका स–साना कुरा पनि बढी महत्वका हुन्छन्, यसको संवेदनशीलता नबुझ्नु वा तिनको यथोचित कदर नगरी दुनियाँसामु आदर्श प्रेमको ढोल पिट्नु किमार्थ राम्रो होइन । [email protected]