बिहान सबेरै उठिन्थ्यो तर आज अलि ढिला उठियो । हिजोको लामो यात्राको थकान भएर होला । बीएएमएसको साढे पाँच वर्षको अन्तिम परीक्षा दिएर घर आएको थिएँ । लामो समयपछि घर आएको खुसी बेग्लै थियो । नित्यकर्म गरेर बजार घुम्न निस्किएँ । बाटामा एक जना नजिकका काका भेटिनुभयो । ‘ओहो ! काका नमस्कार !’ मैले सम्बोधन गरे । काकाले ‘न..म..स्कार......!!’ भन्दै एकछिन ट्वाल्ल परेर मेरो अनुहारतिर हेर्नुभयो । ‘चिन्नु भएन कि क्या हो ?’ मैले सोधें । ‘ए ! ए ! (मेरो कुममा हात राख्दै) चिनें–चिनें, किन नचिन्नु बाबुलाई ।’ काकाको अनुहारमा अलिकति चमक देखियो । ‘ल आऊ ! चिया पिऊँ न त है ?’ म केही नबोली काकाको पछि लागे । नजिकको पसलमा ‘काकाले दुईवटा चिया है साउजी’ भन्दै चिया मगाउनुभयो । काका सरकारी जागिरे हुन्, त्यो बेलामा पनि स्नातक गरेका ।
मुडा तान्दै काकाले सोध्नुभयो, ‘बाबु कहाँ छौ आजभोलि ? के पढ्छौ ?’ ‘म काठमाडांै छु, डाक्टर पढ्छु काका ।’ ‘ए † एमबीबीएस पढेको ?’ ‘होइन बीएएमएस,’ मैले उत्तर दिएँ । काकाले फेरि सोध्नुभो, ‘के हो नि यो बीएएमएस भनेको ?’ ‘आयुर्वेदिक डाक्टर, ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी भनिन्छ काका ।’ काका र मेरो प्रश्नोत्तर चलिरह्यो । काकाले फेरि जिज्ञासा जनाउँदै सोध्नुभो, ‘अनि कति ? तीनवर्षे कोर्स हो ?’ ‘होइन नि काका, साढे पाँच वर्षको हो ।’ ‘ए † साढे पाँचै वर्षको पो हो ?’ काकाले नौलो कुरो सुनेझैं गरी भन्नुभो ।
म मात्र होइन, आयुर्वेद पढ्ने प्राय: सबैजसो विद्यार्थीले यस्तो प्रश्नको सामना गरिरहेका हुन्छन् । आयुर्वेद पढेका डाक्टर पनि हुन्छन् भन्ने धेरै कमलाई मात्र थाहा छ । डाक्टर भनेको एमबीबीएस मात्र हो भन्ने बुझाइ जनमानसमा रहिआएको छ । काकाजस्तो पढेलेखेको मान्छेलाई त बीएएमएसका बारेमा थाहा छैन भने साधारण मानिसलाई जानकारी नहुनु सामान्य नै हो । मलाई भने आज काकालाई राम्रोसँग कुरा बुझाउनुपर्यो भन्ने लागिरहेको थियो । ‘ल † चिया लिनुस्,’ साउजीले हातमा चिया थमाइदिए । ‘अँ † हामी कहाँ थियौ रे ?’ चियाको चुस्की लगाउँदै काकाले सोध्नुभभो ।
‘अँ † काका सुन्नुस्, हजुरले भनेको तीनवर्षे कोर्सचाहिँ कविराजको हो । आयुर्वेद अध्यापनका पनि विभिन्न तह छन् । वैद्य, कविराज र बीएएमएस यसअन्तर्गत पर्छन्, जसमध्ये वैद्य १८ महिने, कविराज ३ वर्षे र बीएएमएस साढे ५ वर्षे कोर्स हो । बाउबाजेका पालादेखि आयुर्वेदको अभ्यास गरिरहेकाहरूलाई बोलीचालीमा वैद्य भनिए पनि वैद्यको डिग्री भने आयुर्वेदको १८ महिने कोर्स गरेपछि मात्र प्राप्त हुन्छ ।’
काकाले बीचमै फेरि अर्को प्रश्न गर्नुभो, ‘अनि बाबु † यी सबैले डाक्टर लेख्न पाउँछन् तँ ?’ ‘पाउँदैनन् काका, बीएएमएसपछि मात्र हो डाक्टर लेख्न पाइने । त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा साढे चार वर्ष शैक्षिक र एक वर्ष इन्टर्नसिप गरी जम्मा साढे पाँच वर्षको स्नातक तहमा बीएएमएसको अध्यापन हुन्छ । आयुर्वेद क्याम्पस, कीर्तिपुर, नेसनल आयुर्वेद मेडिकल कलेज, वीरगन्ज, केन्द्रीय आयुर्वेद क्याम्पस, दाङ तथा मिथिला आयुर्वेद कलेज, जनकपुर र पतञ्जली आयुर्वेद कलेज, धुलिखेलमा बीएएमएसको अध्ययन–अध्यापन हुन्छ ।’ ‘अनि बाबु, बीएएमएस डाक्टरले सबै कुरा जानेका हुन्छन् त ?’ काकाले प्रश्न गर्नुभयो ।
‘जानेका हुन्छन् काका, बीएएमएस डाक्टरले पढ्ने क्रममा शरीर रचना (एनोटोमी) शरीर क्रिया (साइकोलोजी), विकृति विज्ञान (प्याथोलोजी), अगद तन्त्र (टोक्सोलोजी एन्ड फोरेन्सिक साइन्स), स्वास्थ्यवृत्त (प्रिभेन्टिभ एन्ड सोसल मेडिसिन), द्रव्य गुण (फार्माक्लोजी), शल्य (सर्जरी), स्त्री तथा प्रसूति तन्त्र (अब्स्ट्रयाटिकब एन्ड गाइनोक्लोजी), शालाक्य तन्त्र (इएनटी, अप्थमोलोजी), कौमारभृत्य (पेड्याट्रिक्स), कायचिकित्सा (इन्टरनल मेडिसिन), आत्यायिक चिकित्सा (इमर्जेन्सी मेडिसिन), बिरामी जाँच आदि अन्य विषयहरू प्राचीन(आयुर्वेदिक) का साथै अर्वाचिन (एलोप्याथिक) पद्धतिबाट पढेका र जानेका हुन्छन् ।’
‘ए † हो र ?’ काकाले अलि आश्चर्यमा परेझैं गरी सोध्नुभयो ।
‘यति मात्र होइन काका, निरामय जीवनका लागि रात्रिचर्या, दिनचर्या, ऋतुचर्याका साथै आहार–विहारका सम्बन्धमा पनि पढ्नुपर्छ । विभिन्न रोगका साथै स्वस्थ रहन आवश्यक योग चिकित्सा तथा पञ्चकर्म चिकित्साका बारेमा समेत
पढ्नुपर्छ । पञ्चकर्मअन्तर्गत स्नेहन (Oleation), , स्वेदन (Sudation), वमन (Emesis), विरेचन (Purgation), बस्ती (Enema), नस्य, जलौका (Leech Therapy) को प्रयोगको ज्ञान पनि आयुर्वेद चिकित्सकलाई हुन्छ,’ –मैले थपें ।
मेरो उत्तर नसकिँदै काकाले अर्को प्रश्न गर्नुभयो, ‘ए ! त्यसो भए त आयुर्वेद डाक्टरलाई रोग नलाग्दा पनि भेट्नुपर्ने रहेछ ?’ ‘हो नि काका, आयुर्वेद चिकित्सकलाई रोगको उपचार गर्न मात्र नभै स्वस्थ जीवनको परामर्शका लागि समेत भेट्न सकिन्छ ।’ मैले मुस्कुराउँदै उत्तर दिएँ ।
‘अनि बाबु, आयुर्वेदमा विशेषज्ञ डाक्टरचाहिँ हुन्छन् कि हुँदैनन् ?’ काकाले फेरि प्रश्न गर्नुभयो । हुन्छन् नि काका, किन नहुनु ? कायचिकित्सा, शल्य, शालाक्य, कौमारभृत, स्त्री तथा प्रसूति आदि विभिन्न संकायमा एमडी गरेका विशेषज्ञ हुन्छन् । नेपालमा भन्दा पनि हाम्रो छिमेकी देश भारतमा आयुर्वेदको निकै विकास भएको छ । नेपालमा अहिले कायचिकित्सामा मात्र एमडी गर्न सकिन्छ भने अरू सबैका लागि भारतनै जानुपर्छ,’ –मैले भनें ।
‘अनि बाबु यसमा शल्यक्रिया हुन्छ कि हुँदैन ?’ काकाले पुरानै शैलीमा सोध्नुभयो । ‘हुन्छ नि काका † शल्यक्रियाको सुरुवात नै आयुर्वेदका आचार्य सुश्रूतले गर्नुभएको हो । उहाँ शल्यक्रियाका पिताका रूपमा पनि चिनिनुहुन्छ । बीएएमएस डाक्टरले गर्ने भनेको सामान्य शल्यक्रिया मात्र हो । सामान्य घाउ सिलाउनेदेखि लिएर क्षारकर्म, अग्निकर्म, सिरावेध आदि बीएएमएस डाक्टरले गर्ने शल्यक्रिया हुन । अहिले नेपालमा भने क्षारसूत्रविधिबाट पाइल्स तथा फिस्टुलाको शल्यक्रिया विशेष रूपमा गरिन्छ । सर्जन नै हुन भने तीन वर्षको एमएसइन शल्य तन्त्र पढ्नुपर्छ ।’ मैले यति भन्दा काकाले केही बुझेझैं गरिरहनुभएको थियो ।
‘मैले बुझ्न नसकेको एउटा कुरा बाबु, त्यो गाउँघरमा जडीबुटी बेच्दै हिँड्ने पनि आयुर्वेद डाक्टर हुन् र ?’ काकाले चियाको गिलास भुइँमा राख्दै सोध्नुभयो । ‘होइनन् काका, आयुर्वेद डाक्टर त्यसरी हिँड्दैनन् । गाउँ–गाउँमा म आयुर्वेद डाक्टर हुँ भन्दै हिँड्नेहरू नभेटिने होइनन्, भेटिन्छन् । उनीहरूलाई तपाईंसँग कुन डिग्री छ भनेर सोध्दा त्यसको उत्तर हुँदैन । अझ सोध्दै जाँदा दुई–चार महिना ट्ेरनिङ गरेको भन्न पनि पछि पर्दैनन्, जसलाई रोगको सामान्य ज्ञानसमेत हँुदैन । यस्ता मानिसहरूबाट आयुर्वेदको नाममा धेरै बिरामी ठगिँदै आएका छन । यस्तै गाडी–गाडीमा ग्यास्ट्रिक, गानोगोला, जन्डिस आदिको औषधि, ग्यारेन्टीका साथ उपचार भन्दै हिँडिरहेका पनि फेला पर्छन् । यसरी जाँच नै नगरी औषधि प्रयोग गर्दा विभिन्न जटिलताको सिकार भइन्छ । एक कुशल चिकित्सकले रोग कसरी लाग्छ, त्यसको जटीलता के हो, कुन अवस्थामा कुन औषधि प्रयोग गर्ने साथै विभिन्न औषधिको साइड इफेक्टका बारेमा सम्पूर्ण ज्ञान राखेको हुन्छ । तसर्थ, डाक्टरलाई जँचाएर मात्र औषधि प्रयोग गर्नुपर्छ र ग्यारेन्टी दिने उपचारको पछि लाग्नु हँुदैन ।’ मेरो यति कुरा सुनेपछि काका दंग पर्नुभयो ।
‘ल बाबु, मेरो अफिस जाने बेला भयो, भेट्दै गरौंला । मुडाबाट उठ्दै काकाले भन्नुभो । ‘हुन्छ काका,’ मैले नमस्कार फर्काएँ । काका चियाको पैसा तिरेर आफ्नो बाटो लाग्नुभयो । मलाई भने कताकता एक जनालाई भए पनि बीएएमएस डाक्टरका बारेमा विस्तृत जानकारी दिन पाएकोमा खुसी महसुस भैरहेको थियो ।
त्रिवि चिकित्साशास्त्र
नरदेवी आयुर्वेद चिकित्सालय