साप्ताहिक संवाददाता
एक बेलायती महिलाको हराएको पर्स ३१ वर्षपछि प्रहरीले उनको परिवारलाई हस्तान्तरण गरेको छ । सन् १९८७ मा लिकोन्सायरस्थित डिपिङ मार्केटमा ती महिलाको पर्स हराएको थियो । ती महिलाले आफ्नो पर्स फेला नपर्ने अनुमान गर्दै त्यसको कुनै सोधखोज गरिनन् ।
पाउने व्यक्तिले पनि उक्त पर्स कसको हो भन्ने कुनै भेउ पाएनन् । उक्त पर्स फेला पार्ने व्यक्तिले त्यसलाई नखोली सीधै घरमा लगेर राखे । हालै उनले पुराना सामानहरू यताउता गर्ने क्रममा ३० वर्ष पुरानो उक्त पर्स फेला पर्यो । त्यसपछि ती व्यक्तिले उक्त पर्स प्रहरीलाई बुझाए । प्रहरीले पनि ३० वर्ष अघि हराएको पर्स कसको हो भन्ने कुरा सोधखोज गरेर फेला पार्न असम्भव देखिएपछि फेसबुकमार्फत पर्स धनीलाई त्यसमा दाबा गर्न अपिल गर्यो ।
प्रहरीको उक्त अपिल आउँदासम्म पर्सकी वास्तविक धनी महिला यो संसारबाट बिदा भैसकेकी थिइन् । यद्यपि उनको अनुपस्थितिमा उनका श्रीमान् अघि सरे । उक्त पर्समा १०/१० पाउन्डका दुई पोलिमर नोट तथा केही सिक्का रहेको थियो ।