साप्ताहिक संवाददाता
डब्लुडब्लुईका लोकप्रिय रेसलर रिक फ्लेयरले पाँचौ विवाह गरेका छन् । रिकले आफ्नी गर्लफ्रेन्ड वेन्डी बारलोसँग एक विशेष समारोहबीच विवाह गरेका हुन् । उक्त अवसरमा डब्लुडब्लुईसँग सम्बन्धित रेसरलहरूको सहभागिता थियो ।
६९ वर्षीय रिक तथा टेनिस खेलाडी ५८ वर्षीया वेन्डी करिब ६ वर्षदेखि साथै थिए । गत वर्षको अगस्टमा रिक मुटुको समस्याका कारण गम्भीर बिरामी हुँदा वेन्डीले नै उनको हेरचाह गरेकी थिइन् । रिकले विवाहको भिडियो समेत इन्स्टाग्राम स्टोरीमा राखेका छन्, जसमा सेतो कोट लगाएका रिक हातमा फूल लिएर बेहुली वेन्डीतर्फ अघि बढिरहेका देखिन्छन् ।
उक्त अवसरमा आफ्नी श्रीमती मिसेल म्याककुलका साथ अन्डरटेकर पनि उपस्थित थिए । उक्त विवाहबाट सबैभन्दा बढी खुसी रिक फ्लेयरकी छोरी चार्लोट देखिएकी थिइन् । उनले नै वैवाहिक समारोहको तस्बिर खिच्ने देखि विभिन्न कार्य गरेकी थिइन् ।