यश कुमार गायक मात्र होइनन्, नायक पनि हुन् । यशको चलचित्र छिरिङ यसैसाताबाट प्रदर्शनमा आएको छ । ‘मैले छोएको पानी चल्दैन’ बाट संगीत क्षेत्रमा चम्किएका यशकुमारले आफ्नो जीवनका केही अविस्मरणीय क्षण यसरी सम्झिए :
पहिलो एल्बम रिजन सार्वजनिक भएको ६ महिनापछि म सिक्किम गएको थिएँ । सिक्किममा घुमिरहेका बेला एक जना व्यक्तिले तपाईं नेपालको हिट कलाकार, हामी यहाँ तपाईंको लाइभ कार्यक्रम गर्न चाहन्छौं भन्नुभयो । त्यतिबेला मलाई म पनि चर्चित भएछु भनेर अचम्म अनि निकै खुसी लाग्यो, पछि मैले त्यहाँ कार्यक्रमसमेत दिएँ ।
मैले छोएको पानी चल्दैन गीतबाट मनकामना रेडियोले सिङ्गर अफ दि इयर घोषणा गर्दा म निकै खुसी भएको थिएँ । त्यस्तै च्यानल नेपालबाट एल्बम अफ दि इयर पनि घोषित भए, जुन क्षण म कहिल्यै बिर्सन्नँ ।
धेरैले अभिनय क्षेत्रमा तँ के गर्न सक्छस् भनेर खिल्ली उडाउँथे । यद्यपि बाटोमुनिको फूलबाट मैले सर्वोत्कृष्ट अभिनेताको एवार्ड प्राप्त गरें । उक्त एवार्डपछि मेरो खिल्ली उडाउनेहरूको बोली बन्द भयो ।
धेरै वर्षअघिको कुरा हो, म दरबारमार्गमा रेस्टुराँ चलाउँथें । त्यतिबेला मेरो रेस्टुराँमा एक जना लेडिज स्टाफ थिइन् । ती स्टाफ सधैं आउनुपर्ने समयभन्दा चार घण्टा ढिला आउँथिन् । अति भएपछि मैले भोलिदेखि काममा नआउनू भनें । उसको ब्वाइफ्रेन्ड डन रहेछ । उसले पुलिस प्रशासनलाई अगाडि राखी गोली हानेर मार्दिन्छु भन्यो । यद्यपि त्यसको ५ दिनपछि उसलाई उसकै साथीभाइले गोली हानेर मारेछन् ।
चलचित्र बाटोमुनिको फूल पाइरेसी भयो । त्यसैले चलचित्र खासै चलेन । काठमाडौंमा घर बनाउन तयार पारेको ७ आना जग्गा बेचेर मैले उक्त ऋण तिरें ।
२०५१ सालतिर म रेडियो नेपालको स्वर परीक्षामा फेल भएको थिएँ, जुन कुरा मेरो दिमागबाट कहिल्यै निस्कन सक्दैन ।
२०६४ सालतिरको कुरा हो । होलीको समय थियो । दरबारमार्गमा मैले हाँकिरहेको बाइक अगाडिबाट आएको ट्रकमुनिबाट फुत्त निस्कियो । आर्मीहरूले आएर मलाई उठाए । अन्त्यमा आफैं बाइक चलाएर म घर पुगेँ । त्यहाँ उपस्थित मानिसहरू त्यति ठूलो दुर्घटनामा म सकुशल भएको देखेर निकै खुसी हुनुभयो । म आज पनि उक्त दुर्घटनामा कसरी बाँचे भनेर आश्चर्यचकित हुन्छु र सधैं भगवान्लाई धन्यवाद भन्छु ।