साप्ताहिक संवाददाता
अमेरिकाकी महिला साइकिलिस्ट डेनिस म्युलर कोरेनेकले सर्वाधिक तीव्र गतिमा साइकल चलाउने विश्व रेकर्ड कायम गरेकी छिन् । ४५ वर्षीया डेनिसले वल्र्ड अफ स्पिड इभेन्टमा २ सय ९६ किलोमिटर प्रतिघण्टाको गतिमा साइकल चलाएकी थिइन् ।
डेनिसले नेदरल्यान्डका राइडर फ्रेड रोमपेलबर्गको २३ बर्ष पुरानो रकेर्ड तोडेकी हुन् । फ्रेडले १९९५ मा २ सय ६९ किलोमिटर प्रतिघण्टाको गतिमा साइकिलिङ गरेकी थिइन् ।
डेनिसले रेकर्डका लागि प्रोफेसनल कार रेस ड्राइभर शिया होलब्रुकको सहयोग लिएकी थिइन् । तीव्र गतिका लागि उनले आफ्नो साइकललाई शियाको कारमा बाँधिन् । तीव्र गतिको हावाबाट जोगिन साइकल र कारको बीचमा पर्खाल जस्तो बनाइयो ।
कार चल्न थालेपछि डेनिसले पनि साइकल चलाउन थालिन् । १ सय ६१ किलोमिटरको गति पुगेपछि कार र साइकल अलग अलग भए । त्यसपछि डेनिसले कारको सहयोगबिनै साइकल चलाइन् ।
फिनिस लाइनमा पुग्दा उक्त साइकलको गति २ सय ९६ किलोमिटर प्रतिघण्टा थियो । यो कुनै बोइङ ७४७ उड्नु भन्दा पहिले रनवेमा हुने जति गति हो । यसका लागि डेनिसको साइकललाई कस्टमाइज गरिएको थियो ।