साप्ताहिक संवाददाता
सुनसरीको हरिनगर–२, भुटाहास्थित रैयान नेसनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल खुर्सिद आलमको हत्या दुईवटा मोटरसाइकलमा आएका सार्प सुटरले फिल्मी शैलीमा गोली प्रहार गरे । असोज ४ गते भएको उक्त घटनापछि सुटरहरू सीमापारि भारतर्फ फरार भएको प्रहरीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा खुर्सिद हत्यामा तालिमप्राप्त सार्प सुटर प्रयोग भएको पत्ता लागेको छ । चार जना सुटर भारतीय नम्बर प्लेटको एउटा कालो पल्सर र अर्को सेतो अपाचे मोटसाइकलमा आएका थिए । उनीहरू खुर्सिदको हत्यालगत्तै भारतर्फ फरार भएकाले प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेको छैन ।
यसरी भयो हत्या
खुर्सिद स्थानीय रैयान नेसनल बोर्डिङ स्कुलका सञ्चालक हुन् । घटना भएको दिन बिहान उनी स्कुलको बैठकमा सहभागी थिए । बैठक सकिएपछि खुर्सिद भुटाहा बजारमा चिया पिउन गए । चिया पिएपछि उनी घरतर्फ जान आफन्त पर्ने अमिन आलमको मोटसाइकल चढे र स्कुलभन्दा ५० मिटर दक्षिण मात्र के पुगेका थिए । पछाडिबाट दुईवटा मोटरसाइकलमा आएका सुटरले उनीमाथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
यतिसम्म कि बाइक चलाइरहेका अमिनले खुर्सिदलाई गोली हानिएको थाहा पाएनन् । ‘अमिनले सुरुमा मोटरसाइकलको टायर पड्किएको आशंका गरे । दोस्रो गोली बर्सिएर खुर्सिदको जीउबाट रगत बगेको देखेपछि मात्र गोली प्रहार भएको थाहा पाएको थिएँ,’ जलालले बताए । जलालका अनुसार खुर्सिदलाई तीन गोली लागेको थियो । आक्रमणकारीहरूले हेलमेट र मास्क दुवै लगाएको स्थानीय बासिन्दाहरू बताउँछन् ।
यसरी उम्किए सुटर
खुर्सिदलाई गोली प्रहार गरेपछि बन्दुकधारीहरू भुटाहाबजारबाट करिब ८ किलोमिटर दक्षिणमा रहेको सिमातर्फ तीव्र गतिमा अघि बढे । दुईवटा मोटरसाइकलमा आएका बन्दुकधारीले खुर्सिदलाई बिहीबार ११ बजेर ३ मिनेटमा गोली प्रहार गरेका थिए ।
घटनापछि भुटाहाका स्थानीय बासिन्दा समसाद अन्सारीले घुस्कीबजारमा हार्डवेयर पसल गरी बस्ने आफन्त इसा अन्सारीलाई घटनाका सम्बन्धमा जानकारी गराउँदै दुबै मोटरसाइकल रोक्न आग्रह गरे । इसाले तत्काल प्रहरी चौकी घुस्कीहाटका असई शिवकुमार शर्मालाई घटनाको जानकारी गराएर पसलमा काम गर्नेलाई मोटरसाइकल रोक्न सडकमा उभ्याउन भ्याएको बताए ।
फोनमा कुरा गर्दा गर्दै बन्दुकधारी दुवै मोटरसाइकल घुस्की बजार आइपुगेको उनले बताए । घुस्की बजारमा मानिसहरूको चहलपहल देखेर सुटरहरूले मोटरसाइकलको गति कम गरे, इशाले भने— अगाडिको अपाचे मोटरसाइकलका चालकको कठालो समात्ने बित्तिकै पछाडि बसेका व्यक्तिले मेरो हातमा हानेर छुटाइदियो र मोटरसाइकलको गति बढाएर उनीहरू उम्की हाले । इशाका अनुसार त्यतिबेलासम्म सय मिटरको दूरीमा रहेको प्रहरी चौकीका सेन्ट्रीमा रहेका जवान शिवलाल पौडेल राइफल लिएर सडकमा आइसकेका थिए । अपाचेको पछाडि रहेको पल्सर मोटरसाइकलमा पछाडि बसेको व्यक्तिले तत्काल प्रहरी जवान पौडेलमाथि तीन फायर गर्यो । एउटा गोली तिघ्रामा लागेपछि प्रहरी जवान पौडेल घाइते भएर लडे । त्यतिकैमा असई शर्मा आइपुग्दा हतियारधारी घुस्सी बजारबाट बेपत्ता भैसकेका थिए भने शर्मा घाइते भएका पौडेलको प्राथमिक उपचार गराउन तिर लागे । घाइते पौडेलको हाल धरानस्थित विपी प्रतिष्ठानमा उपचार भैरहेको छ ।
सुटरलाई तीन
किलोमिटर लखेटियो
भुटाहा बजारमा घटना घटाए पछि हरिनगर गाउँपालिका– ६ स्थितघुस्कीका मुस्तफा अन्सारीले जानकारी पाए । घटना थाहा पाउनेबित्तिकै बुलेट मोटरसाइकलमा सुटरहरूको पिछा गरेको उनले बताए । भारतीय सीमानातर्फ भागेका सुटरहरूलाई स्थानीयवासीले मोटरसाइकलबाट पछ्याउँदै भारतीय सीमानासम्म पुगेका थिए । मुस्तफाले सुटरहरूलाई दशगजसम्मै पछ्याएको अर्का स्थानीय बासिन्दाले बताए । घुस्कीस्थित सीमा सुरक्षाका लागि ५ सय मिटर उत्तर ड्युटीमा खटिएका तीन जना सशस्त्र प्रहरीको टोलीलाई बन्दुकधारीले गाली गर्दै बाटो छोड्न भनेको प्रत्यक्षदर्शीले बताए ।
मुस्तफाले आफूले सशस्त्र प्रहरीलाई बन्दुकधारीमाथि फायर गरेर भए पनि रोक्न आग्रह गर्दा फायर खोल्न आदेश नभएको उनीहरूले बताए । सीमावर्ती भारतीय बजार घुर्नामा भारतीय एसएसबी रहेकाले दशगजाबाट पूर्व करिब १ किलोमिटर गएर १ सय २१ नम्बरको जंगे पिल्लर नजिकबाट हत्याराहरू भारतको जटबरा गाउँ प्रवेश गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । दशगजा कट्ने क्रममा बन्दुकधारीहरूको दुबै मोटरसाइकल लडेको मुस्तफाले बताए ।
प्रहरी चुक्दा सुटर उम्किए
अन्सारीलाई गोली प्रहार गरी हत्या गर्ने पेसेवर सुटर प्रहरीहरूबीच आपसी समन्वय हुन नसक्दा भाग्न सफल भएको स्थानीय बासिन्दाहरू बताउँछन् । हत्या गरेको स्थानदेखि ५ सय मिटर उत्तर–दक्षिणमा रहेको भुटाहा प्रहरी चौकी, करिब ८ किलोमिटर दक्षिणमा रहेको प्रहरी चौकी घुस्कीहाट र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट घुस्कीबीच समन्वयको अभावमा अपराधी सजिलै उम्कन सफल भएको उनीहरूको दाबी छ ।
गोली चलेको आवाज सुन्ने बित्तिकै स्थानीयबासीले असईको कमाण्डमा बस्ने भुटाहा प्रहरीलाई फोन गरे, तर समयमा फोन नउठेको स्थानीय बासिन्दाहरूको गुनासो छ । केही ढिलै भएपनि घुस्की प्रहरी चौकीको टोली त्यहाँ आइपुग्यो । घुस्कीका प्रहरी आइपुग्दा अपराधी खुला सिमातर्फ फरार भैसकेका थिए । तर, भुटाहा प्रहरीले तत्काल घुस्कीको प्रहरी र सिमा बोर्डर आउट पोस्ट तथा घुस्कीस्थित सशस्त्र प्रहरीलाई खबर नगर्दा अपराधी सजिलैसँग भारतर्फ भाग्न सफल भएको आरोप छ । ‘सुटरले गोली प्रहार गरि हत्या गरेको र हतियारधारीहरू दक्षितर्फको सिमानाकातर्फ फरार भएको जानकारी दिने बित्तिकै भुटाहा प्रहरीले करिब आठ किलोमिटरको दूरीमा रहेको घुस्की र सीमा सुरक्षाका सशस्त्र प्रहरीले खबर गर्नुपर्ने थियो,’ हनीनगर–२ का जलाल अन्सारीले भने, ‘गोली प्रहार गरी अपराधी भागेको खबर घुस्की र सिमा सुरक्षाको प्रहरीलाई स्थानियले खबर गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट घुस्कीका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तले समयमा घटनाको सूचना नआएकाले अपराधी भाग्न सफल भएको बताए । ‘घटना हुनेबितिक्कै भुटाहा प्रहरीबाट जानकारी पाएको भए अपराधीलाई सजिलै नियन्त्रणमा लिन सकिन्थ्यो,’ पन्तले बताए । प्रहरी चौकी घुस्कीका असई शिव शर्माले पनि घटनाका सम्बन्धमा भुटाहा प्रहरीले ढिलो जानकारी दिएको बताए ।
हदैसम्मको
कारबाहीको माग
खुर्सिद अन्सारीको हत्यापछि उनकी श्रमिती फोजिजाले हत्यारालाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाहीको माग राखेकी छिन् । श्रीमान्को हत्यापछि फोजिजाले हत्या गरिएका श्रीमानको हत्यारा चाँडो पक्राउ गर्न आग्रह गरेकी हुन् । खुर्सिदका ४ छोरी तथा ३ छोरा छन् ।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन
हत्यारा पक्राउ गरी कारबाहीको माग र सुरक्षालाई लिएर चौतर्फी विरोध भएपछि गृह मन्त्रालयले खुर्सिद अन्सारी हत्याका सम्बन्धमा छानबिन गर्न समिति बनाएको छ । प्रदेश नम्बर १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा गठित समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तुलसी प्रसाईं, प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य एवं सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् । समितिलाई १५ दिनभित्र घटनाको छानविन प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
निष्पक्ष छानबिनको माग
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मुस्लिम अगुवा खुर्सिद आलमको हत्याको निष्पक्ष छानबिनको माग गरेको छ । खुर्सिद आलमको हत्यापछि उनको नाम विभिन्न आतंकवादी संगठनसँग जोडिएकोमा उनीहरूले आपत्ति समेत जनाएका छन् । गठबन्धनका संयोजक समीम मियाँ अन्सारीले मुस्लिम समुदायमा मात्र नभएर यो आक्रमण देशको शान्ति–सुरक्षामा प्रश्न उठ्नेगरी भएको भन्दै छानबिनको माग गरेका छन् । खुर्सिद आलमलाई विभिन्न संगठनसँग जोडर समाचार आएको विषयमा बोल्दै उनले छानबिन समितिले सबै विषयमा छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
गठबन्धनका महासचिव मोहम्मद जाकिर हुसेनले छानविन समितिले तोकिएको समयभित्रै दोषी पत्ता लगाई यथार्थ बाहिर ल्याउनुपर्ने माग गरे । नेकपाका केन्द्रीय सदस्य महफुज आलमले नेपालमा पसेर भारतका अपराधीले जथाभावी गोली हानेको हुन सक्ने आशंका व्यक्त गरे । नेपालको सुरक्षाको आवश्यक प्रबन्ध नहुँदा समाजलाई खलल पुर्याउने गरी चलखेल भएको र मुस्लिम अगुवामाथि हुने श्रृंखलाबद्ध आक्रमणको अन्त्य हुनुपर्ने आलमको धारणा छ ।
मृतक आलमका भाई जावेद अन्सारीले समेत घटनाको छानबिन तथा दोषीलाई कारबाहीको माग गरेका छन् । खुर्सिदको हत्या भएपछि भ्रम फिँजाउने तरिकाले आएका समाचारप्रति आपत्ती जनाउँदै उनले घटनालाई गुपचुपमा राख्ने प्रपञ्च भएको बताए । जावेदले खुर्सिद आलम कुनै पनि आतंकवादी संगठनसँग सरोकार नराख्ने सामाजिक व्यक्ति भएको बताउँदै भ्रम छरिएको घटना प्रतिखेद समेत व्यक्त गरे ।
को हुन् खुर्सिद आलम ?
सुनसरीको हरिनगर गाउँपालिका –२ भुटाहा बजारका खुर्सिद आलम स्थानीय रैयान नेशनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल हुन् । उनी तत्कालीन नेकपा एमालेका सुनसरी जिल्ला सल्लाहकार समेत थिए । खुर्सिद ०५३ सालदेखि नै एमालेको कार्यकर्ता रहेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । उनका अनुसार खुर्सिद स्थानीय मदरसाको बोर्ड सदस्य समेत हुन् । उनी इस्लामिक सामाजिक संस्थाहरूमा समेत आबद्ध थिए ।