पूर्वनिर्धारित समयभन्दा केही ढिलो उपस्थित भएका अभिनेता प्रदीप खड्का दरबारमार्गस्थित एक रेस्टुराँमा प्रवेश गर्नासाथ झन्डै आधा दर्जन युवतीबाट घेरिए । त्यसपछि उनी स्विमिङ पुलनजिक गएर सबैसँग एकछिन गफिए । प्रत्येकजसो युवतीले आ–आफ्नो मोबाइलबाट प्रदीपसँग सेल्फी खिचे । अचम्मको कुरा त के भने, भेट्न आएकामध्ये एक युवती प्रदीपसँग जहिले भेट्छु त्यतिबेला गिफ्ट दिन्छु भन्दै एउटा गिफ्ट हातमै बोकेर हिँडेकी रै’छिन्, संयोगले यसपटक उनले उक्त गिफ्ट प्रदीपलाई प्रदान गर्ने अवसर पाइन् । उनी खुसी हुँदै भक्कानिइन् अनि प्रदीपलाई अँगालो मारेर रोइन् । अन्त्यमा भेट्न आएका ती युवतीलाई मीठो मुस्कान दिँदै प्रदीपले भने– थ्यांक यू, सधैंभरि यसैगरी माया गरिदिनू है ! अनुहारमा खुसी लिएर फर्किए प्रदीपका ती प्रशंसकहरू ।
प्रदीप पछिल्ला दुई वर्षदेखि यसैगरी प्रशंसकको घेरामा पर्ने गरेका छन् । प्रदीप नढाँटी भन्छन्– सकेसम्म जोगिन खोज्छु तर रिक्वेस्ट आइसकेपछि भाउ खान्नँ । एकछिन गफ गर्न, उहाँहरूको मनको कुरा सुन्न र तस्बिर खिच्न पनि किन टेन्सन लिनु नि ! उनी थप्छन्– मैले कमाएकै यिनै प्रशंसक हो, उहाँहरूकै मन दुख्यो भने मेरो भविष्य के होला !’
यो पनि पढ्नुहोस् :
लाटी पुतलीको फड्को
प्रदीपले यति धेरै फ्यान कमाएका छन् कि सार्वजनिक ठाउँमा मास्क लगाउँदा पनि प्रशंसकहरूले चिनिहाल्छन्, घेरिहाल्छन् । टाउकोमा क्याप र मास्क अनि चस्माले पनि प्रदीपका फ्यानको आँखालाई छल्न सक्दैनन् । कतिपटक त ड्राइभिङ गरिरहेका बेला गाडी नै रोक्नुपरेको छ । सडकमा हिँडिरहेका बेला कहिलेकाहीं एक्कासि झम्टिनेहरू पनि छन्, प्रदीप भन्छन्– फेसबुक, इन्स्टाग्राम आदिमा फलो गर्ने तथा म्यासेज गर्नेहरू धेरै हुनुहुन्छ, सकेसम्म रिप्लाई गर्ने प्रयास गर्छु, भेट हुने अवसर पाए एकछिन भए पनि कुराकानी गर्छु ।
स्केप चलचित्रवाट नमीठो हार खाएका प्रदीपले त्यसपछि भने हारको स्वाद चाख्नुपरेको छैन । भाग्य र परिश्रम दुवै मिल्नुपर्छ, प्रदीप भन्छन्– भाग्यलाई मात्र कुरेर बस्नु त भएन, सफलताको सिखर चुम्न प्रयासचाहिँ गर्नैपर्छ, हारसँग डराउने मान्छे चुचुरोमा पुग्न सक्दैन ।
प्रदीपको रहर जसरी पनि टिभीमा देखिनु थियो । उनलाई चलचित्रमै देखिन्छु अनि हिरो बन्छु भन्नेचाहिँ थिएन । प्रदीपलाई धेरैले चलचित्रमा खेलाउँछु भन्ने आश्वासन दिए, तर कसैले काम दिएनन् । धेरैले आश्वासनमा अल्झाइरहेपछि प्रदीप आफैंले हिम्मत गरेर चलचित्र स्केप बनाए । आफ्नो रहर पूरा गर्न कुनै न कुनै किसिमको प्रयास त गर्नैपर्छ, म पनि लगभग डेढ–दुई वर्ष अरूको आश्वासन पत्याएर हल्लिएँ तर सबैले गफ मात्र गरे, उनी चलचित्र यात्रा थालनी गर्दाको सम्झना गर्छन्– रहर पूरा गर्न केही न केही त गर्नुपर्यो, त्यसैले चलचित्र बनाउनु नै मेरा लागि वेस्ट अप्सन थियो । दु:ख गरेर उनले चलचित्र त बनाए, तर त्यो चलचित्र कहिले आयो कहिले गयो कसैले पत्तो पाएनन् । स्केप नचल्दा प्रदीप दु:खी थिए, परिवार खुसी । बुबाआमा यस अर्थमा खुसी थिए कि अब छोरो विदेश जान्छ ।
प्रदीपको यो कामप्रति परिवार खुसी थिएन । प्रदीपलाई घरमा सबैले विदेश जान सल्लाह दिइरहेका थिए । उनले अस्ट्रेलियाका लागि प्रोसेस पनि गरे, तर यसै क्रममा सन्तोष सेनले निर्माण गर्न लागेको चलचित्र प्रेम गीतको अडिसन खुल्यो, प्रदीपले अडिसन दिए । उनी यो चलचित्रको मुख्य अभिनेतामा छानिए । चलचित्र प्रदर्शनमा आउनुअघिदेखि नै उनको चर्चा हुन थाल्यो । चलचित्र प्रदर्शन भयो र दर्शकले त्यसलाई अत्यन्तै मन पराए । उनले विदेश जान जे–जे प्रोसेस गरेका थिए, सबै रोके । प्रदीप सुनाउँछन्– प्रेम गीत सफल भएपछि अब नेपाली चलचित्रमा केही गर्न सकिन्छ कि भन्ने सोच पलायो, अनि विदेश जाने सोच त्यागें ।
प्रेम गीत, प्रेम गीत–२,रोज तथा लिलिबिलीको सफलतापछि प्रदीप खड्का अहिलेका डिमान्डेड अभिनेता भएका छन् । जति पनि पारिश्रमिक दिएर खड्कालाई आफ्नो चलचित्रमा काम गराउन लालायित निर्माता–निर्देशक प्रशस्तै छन्, तर प्रदीप पैसाको पछि नहिँड्ने बताउँछन् ।
प्रदीपमा खासै ठूलो महत्वकांक्षा छैन । जति सकिन्छ काम गर्ने तर राम्रो र धेरैले सम्झन लायक चलचित्रमा मात्र । प्रदीपलाई अहिले नेपालका सबैभन्दा चर्चित र लोकप्रिय अभिनेता भनिरहेका बेला प्रदीप भने यो कुरा स्वीकार गर्दैनन् । उनी भन्छन्– म खतरै अभिनेता हुँ त भन्दिनँ, तर अहिले जुन माया पाईरहेको छु, यो मेरा लागि निकै ठूलो कुरा हो । अझ राम्रो गर्न लागिरहेको छु । सपना ठूलो छैन, तर मैले अहिले जति प्रशंसक कमाएको छु, उहाँहरूलाई दु:खी बनाउन नपरोस् भन्ने मात्र छ ।
प्रदीप रमाइलो स्वभावका छन् । मन मिल्नेहरूसँग चाँडै घुममिल हुन्छन्, मन मिलेन भने नजिक हुन धेरै समय लाग्छ । बिहान ५ बजे उठ्ने प्रदीप साँझ १०–११ बजे सुत्छन् । सकेसम्म घरकै खाना रुचाउने उनी खासै चुजी स्वभावका भने छैनन् । अहिलेसम्म लगातार लभर ब्वाईको भुमिकामा देखिएका प्रदीपको आगामी योजना के छ त ? छोटो र सटिक जवाफ छ उनको— अहिले सुहाउँदो भूमिकामा मात्र काम गर्छु, पछि फ्यानहरूको मागअनुसार परिवर्तन गर्दै जानुपर्ला ।
प्रदीपले तीन वर्षमै यो स्टारडम हासिल गरेका हुन् । आकर्षक लुक्ससँगै जीवन्त अभिनयले प्रदीपलाई निरन्तर सफलता प्रदान गरिरहेको छ । उनले केही पटक उत्कृष्ट अभिनेताको एवार्डसमेत जितेका छन् । इमान्दारिता र अध्ययनशील स्वभावका कारण यो सफलता मिलेको हो कि ? आफ्नो सफलताको रहस्य खोल्दै प्रदीप भन्छन्– काममा हात हालिसकेपछि त्यसलाई जसरी पनि राम्रोसँग पूरा गर्नुपर्छ, कामलाई भगवान् सम्झने हो भने जोसुकै सफलता पाउन गाह्रो छैन । प्रदीप आफ्नो अध्ययनलाई पनि निरन्तरता दिने सोचमा छन् । अहिले उनी मार्केटिङमा एमबीए गरिरहेका छन् ।
हलिउड कलाकार लियोनार्दो तथा बलिउड अभिनेता अमिर खानलाई मन पराउने प्रदीप नेपाली कलाकारहरूमा भने राजेश हमालका प्रशंसक हुन् । प्रदीपले अहिलेसम्म न अभिनय सिकेका छन्, न त यससम्बन्धी प्रशिक्षण नै लिएका छन् । चलचित्र छायांकन जानुपुर्व सामान्य वर्कसप हुन्छ, त्यसभन्दा अरू कुनै प्रशिक्षण लिएको छैन, प्रदीप भन्छन्– सबैले मन पराउनुभएको मेरो अभिनय भगवानको उपहार नै हो कि ?’
यो पनि पढ्नुहोस् :
जीवनको एनिमेशन
चलचित्र यात्रामा निरन्तर उकालो लागिरहेका बेला कहिलेकाहीं प्रशंसकहरूको संख्या पातलो हुँदै जाला र स्टारडम घट्ला भन्ने डर लाग्दैन ? मुस्कुराउँदै प्रदीपले भने– हारसँग डराउने बानी छैन, यदि मेरा प्रोजेक्ट असफल हुँदै गए मेरो स्टारडम स्वत: तल आउँछ । त्यस्तो अवस्थामा मसँग एउटा मात्र विकल्प हुनेछ, पुन: प्रयास गर्ने ।