साप्ताहिक संवाददाता
अनामनगरस्थित मण्डला नाट्य समूहका कलाकारहरू विगतसँग व्यवहार कार्यक्रम लिएर पश्चिम नेपालको भ्रमणमा निस्किएका छन् । मण्डला थिएटर नेपालको आयोजना तथा स्थानीय संघसंस्थाको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत स्मृतिका लागि घुम्ती रंगमञ्च भ्रमण शीर्षकको मोवाइल थिएटर प्रस्तुत हुनेछ ।
बर्दिया, कैलाली, दाङ आदि जिल्लाका विभिन्न समुदायमा मण्डलाको घुम्ती रंगमञ्च बस (मोवाइल थिएटर स्टेज) जुनकिरीमा नाटक नउफ्रिने भ्यागुता मञ्चन हुने बताइएको छ । उक्त नाटक मण्डला नाटकघरमा वि.सं. २०७१ मा मञ्चित नाटक जम्पिङ फ्रगकै पुनरावृत्ति हो ।
असोज १५ गते प्रारम्भ भएको यो भ्रमण २५ गतेसम्म जारी रहनेछ । रंगकर्मी पशुपति राईको लेखन तथा निर्देशनको उक्त नाटकमा नाजिर हुसेन, अर्चना पन्थी, उमेश तामाङ, रञ्जना ओली, अनिल सुब्बा, सोनाम लामा, जोनेन क्षेत्री आदि कलाकारले अभिनय गर्ने बताइएको छ ।