साप्ताहिक संवाददाता
नेपाली लोक तथा दोहोरी गीतमा जमेका मोडल हुन्— महेन्द्र गौतम । खासगरी भावुक शैलीका गीतमा सबैभन्दा बढी देखिने गौतमका दर्जनौं गीत चर्चित छन् । अन्य प्रकारका गीतमा काम चलाउने मोडलहरू धेरै छन् तर सिरियस प्याटनका लोक तथा दोहोरी गीतमा भने महेन्द्र अनिवार्यजस्तै छन् ।
उनी झन्डै १ सयजति आधुनिक तथा अन्य प्रकारका गीतमा देखिए पनि ४ हजारभन्दा बढी लोक तथा दोहोरी गीतमा काम गरेका छन् । कतिपय गीतमा २ महिनादेखि काम गर्छु भनेर पनि पाइँदैन, महेन्द्रले भने, ‘समयले भ्याएसम्म नाइँ भनेको छैन तर छायांकन कहिले कहाँ, कहिले कहाँ हुने भएकाले पनि गाह्रो परेको हो ।’
मोडल गौतमले थुप्रै पटक उत्कृष्ट मोडलको एवार्ड प्राप्त गरेका छन् । आश्चर्यको कुरा त के छ भने लोकदोहोरी गीतका यति हिट मोडल मिडियामा भने खासै देखिँदैनन् । उनका न अन्तवार्ता आउँछन्, न कुनै समाचार । यस विषयमा गौतम भन्छन्, ‘मिडियामा नआएको त होइन, तर नेपाली मिडियामा आफू खोज्दै गए आउने र नखोजे नआउने चलन छ ।
अर्को कुरा फुर्सद भयो भने मिडियालाई पनि समय दिन सकिन्थ्यो, अति व्यस्त भएकाले पनि हो ।’ गुल्मीमा जन्मिएका महेन्द्र कहिलेकाहीं गीत पनि गाउँछन् भने गीत रचनासमेत गर्छन् ।