युवा पुस्तामाझ चर्चित नितेशजंग कुँवर गायक मात्र होइनन्, सिर्जनाकार तथा संगीतकर्मीका रूपमा पनि उनको परिचय स्थापित छ । कुँवरले स्वर भरेका गीत युट्युबको ट्रेन्डिङमा आइरहेका छन् । अहिले उनी देश तथा विदेशमा हाइ डिमान्ड भएका गायकको सूचीमा पर्छन् ।
काठमाडौंको त्रिपुरेश्वरमा जन्मिएका नितेश हाल भंैसेपाटीमा बस्छन् । आठ–नौ वर्षकै उमेरमा उनले गितार बजाउन थालेका हुन् । एकपटक उनले आईसीएमसी सिंगिङ कम्पिटिसनमा भाग लिने मौका पाए । उनले उक्त प्रतिस्पर्धाका लागि आफंैले गीत लेखेका थिए । कक्षा ७ मा पढ्दा उनले पहिलो पटक स्टेज पर्फमेन्स दिएका थिए ।
यो पनि पढ्नुहोस् :
संगीतमा नितेशजंगको गहिरो रुचि थियो, तर उनको परिवार पढाइ नबिग्रियोस् भन्ने चाहन्थ्यो । जे भए पनि सांगीतिक क्षेत्रमा लाग्ने प्रेरणा नितेशजंगले आफ्नै बुबा नरेन्द्र कँुवरबाट पाएका हुन् । उनका बुबा दुबईमा बस्थे । बुबाले त्यहाँबाट जे भन्यो त्यही पठाइदिन्थे । सानोमा उनी हरेक विधाका गीत चाखपूर्वक सुन्थे । रेगे, स्लो म्युजिक, साइकेडेलिक, रक र मोर्डन, तर उनलाई मन पर्ने विधा कन्ट्री हो । उनले लेख्ने, गाउने गीतहरू यही विधामा आधारित हुन्छन् । बब मार्ली उनका प्रिय कलाकार हुन् । जोन मेयर, इडि शेरन पनि उनले रुचाएका कलाकार हुन् । ‘जोन मेयरबाट बढी प्रभावित छु,’ कुँवर भन्छन्, ‘मेयरका शब्दहरू सुनेपछि म आफैं उनीप्रति तानिँदै गएँ ।’
आफूले लेखेका गीतमध्ये ‘हे, आमाबुबा’ उनको प्रिय गीत हो । यो २० वर्षभन्दा कम उमेर समूहका लागि समर्पित भएर लेखिएको, गाइएको गीत हो । उनका अधिकांश गीत श्रोताहरूको मनमा बसेका छन् । विदेशमा बस्ने नेपालीहरूप्रति समर्पित ‘हाम्रो नेपालमा’ गीतले मात्र १ करोड १६ लाख बढी भ्युज पाइसकेको छ । त्यस्तै ‘बिन्दास’, ‘आस्मा, ‘म तिम्रो’ उनका अन्य चर्चित गीत हुन् । नितेश ब्लगर सिसन बानियाँसँग ह्याङ आउटमा निस्कन्थे । बानियाँकै संगतले उनी युट्युबमा सक्रिय हुन थाले अनि आफ्ना हरेक गीत युट्युबमा अपलोड गर्न थाले । उनले बिस्तारै दर्शक–श्रोताहरूको माया पाउँदै गए । त्यसपछि मिडियाको नजर पनि उनीमाथि पर्न थाल्यो ।
नितेशजंगले कहिल्यै गीत गाएर जिन्दगी बित्छ भन्ने सोचेका थिएनन् । नेसनल जोग्राफी र डिस्कभरी च्यानल हेर्दाहेर्दै उनी साइन्सको अध्ययनतर्फ आकर्षित भएका थिए । यिनै च्यानलको प्रभावले त्यो समय उनी ‘रेन्जर’ बनेर वन–जंगल डुल्ने कल्पनामा डुब्थे । कुनै बेला थापाथलीको एउटा मोटर कम्पनीमा काम गर्ने नितेशले नेपालमा आफ्नो भविष्य नदेखेपछि अमेरिका जाने सोचसमेत बनाए । त्यसका लागि उनले तयारी पनि थाले । त्यसपछि उनका बुबाको स्वास्थ्यमा खराबी आयो । उनलाई लाग्यो, घरमा आमा–बुबालाई मेरो आवश्यकता छ । उनले परिवारलाई महत्व दिए । एकाएक उनले अमेरिका जाने सपना त्यागे अनि आफ्नो कला–संगीत कर्मलाई अघि बढाए ।
यो पनि पढ्नुहोस् :
जीवनको एनिमेशन
नितेश कुनै समय अलि बढी ‘एग्रेसिभ’ थिए । छिटै रिसाइहाल्ने, केही नसोची निर्णय गरिहाल्ने उनको बानी थियो । एकपटक उनी नराम्रो दुर्घटनाबाट गुज्रिए । घरबाट बाहिर निस्किएका बेला रातको समयमा केटाहरूले इँटा प्रहार गरेर उनलाई घाइते बनाइदिए । इँटा प्रहारले नितेशको टाउकोमा १८ वटा टाँका लगाउनुपरेको थियो । यसबीच उनी हरेक दिन संगीत सुन्न थाले । संगीतकै प्रभावमा उनले इँटा प्रहार गर्ने केटाहरूलाई माफी दिए ।
कलेज पढ्दा नितेशलगायतका साथीहरूले एउटा ब्यान्ड पनि खोलेका थिए । उनलाई संगीतमा बुबाले किनिदिएको गितारले प्रेरित गरेको हो । उनी गितारको धुन भनेपछि हुरुक्कै हुन्थे । काठमाडौंको क्यालिडस्कोपमा उनले एक महिनाजति गितार सिके । नितेशजंगको पहिलो गीत ‘गफै त हो’ दुई वर्षअघि युट्युबमा सार्वजनिक भएको थियो । अहिले त उनका गीतले लाखौं भ्युज पाउँछन् ।
यो पनि पढ्नुहोस् :
त्यतिबेला केही दिनमै उनको गीत ५ हजारले हेर्दा उनलाई कम्ती खुसी लागेको थिएन । नितेशको दृष्टिमा संगीत भनेको साधना हो । यसमा करिअर बनाउन सकिन्छ, तर त्यसका लागि धैर्य तथा कडा मेहनतको खाँचो हुन्छ । निरन्तर मेहनत गर्दै गए आफूले चाहेको गन्तव्यमा पुग्न सकिने कुँवर बताउँछन् । उनी फेसबुक, ट्विटर तथा इन्स्टाग्राम आदि सञ्जालमा सक्रिय छन् । सन् २०१६ को जनवरी ९ मा उनले आफ्नै नाममा युट्युब च्यानल खोलेका थिए । हरेक गीत आफ्नै च्यानलमार्फत अपलोड गर्ने नितेशको च्यानललाई ३ लाख ५० हजार बढीले सब्सक्राइब गरेका छन् ।