साप्ताहिक संवाददाता
घरको ग्यारेजमा ७ वर्षदेखि रहेको एउटा ब्यागको मूल्य करिब ६ लाख पर्ने थाहा पाएपछि दुई दिदी–बहिनी छक्क परेका छन् । वेल्समा बसोबास गर्ने लिन्डा पिचर्डले आफ्नी बहिनी मार्गरेटको ग्यारेजमा विगत ७ वर्षदेखि फोहोर फ्याँकिएको थुप्रोलाई घरबाहिर निकाल्ने क्रममा सुनको बहुमूल्य ह्यान्ड ब्याग फेला परेको छ ।
उमेरले ६१ वर्ष पुगेकी लिन्डाकी बहिनी मार्गरेटलाई उक्त ब्याग कुनै समय समाजका प्रतिष्ठित सदस्य गुयन जोन्सले उपहारका रूपमा दिएका थिए । गुयनकी श्रीमती डोरा जोन्स आफ्नो उमेरमा मनग्य खर्च गर्ने महिलाका रूपमा कहलिएकी थिइन् । उनको मृत्युपछि गुयनको स्याहार गर्न मार्गरेट खटिएकी थिइन् । त्यही समयमा गुयनले मार्गरेटलाई उक्त ब्याग उपहार दिएका थिए ।
त्यो ब्याग उनकी श्रीमतीले सन् १९५० मा पानीजहाजको यात्राका क्रममा खरिद गरेकी थिइन् । सन् १९१३ मा डिजाइन गरिएको उक्त ब्यागको मूल्य थाहा नभएकाले मार्गरेटले त्यसलाई ग्यारेजमा
फ्याँकेकी थिइन् ।