झन्डै दुई दर्जन चलचित्रमा अभिनय गरिसकेका अभिनेता सविन श्रेष्ठको खाइलाग्दो ज्यानको निकै प्रशंसा हुने गरेको छ । शरीरलाई स्वस्थ्य एवं तन्दुरुस्त राख्न सविन के–के गर्छन् त ?
जस्तोसुकै अवस्थामा पनि व्यायाम गर्न छोड्दिनँ । प्रत्येक दिन कम्तीमा दुई घण्टा व्यायाम गर्छु । नियमित व्यायामले शरीर तन्दुरुस्त बनाउनुका साथै स्वस्थसमेत राख्छ ।
डाइटिङ गर्दिनँ तर मेरो खानेकुरा नियन्त्रित हुन्छ । कहिले धेरै, कहिले थोरै खाने बानी छैन । कहिल्यै भोको बस्दिनँ । भोको रहने मानिसमा नानाथरीका रोग लाग्ने सम्भावना हुन्छ ।
नियमितजसो मर्निङ वाक जान्छु । मर्निङ वाकको छुट्टै महत्व छ ।
शरीरलाई अत्यावश्यक पानीमा हेलचेक्र्याइँ गर्नु हुँदैन । म हरेक दुई–दुई घण्टामा सफा पानी पिउँछु । दिनको कम्तीमा ७ लिटर पानी पिउँछु ।
समयमै सुत्छु र समयमै उठ्छु । नियमित कम्तीमा ६ देखि ७ घण्टा सुत्छु ।
प्रत्येक दिन ओरेन्ज जुस पिउँछु, विकल्पमा अन्य कुनै फलफूलको जुससमेत प्रयोग गर्छु । बिहान–साँझ स्याउ, अनार आदि केही फलफूल खान छुटाउँदिनँ ।
हरियो सागपात तथा गेडागुडी नियमित खान्छु । जंगफुड छुँदै छुन्न ।
दिनको ७ वटा अण्डा खान्छु, तर पहेंलो भाग खान्नँ ।
बाध्यतामा बाहेक कहिल्यै घरबाहिरको खाना खान्नँ । खानामा सकेसम्म सलाद खान्छु ।
धूमपान, मद्यपान आदिबाट टाढै रहन्छु ।