साप्ताहिक संवाददाता
हिट्स नेपालले २२ औं हिट्स एफएम म्यूजिक एवार्डस–२०७५ को मनोनयन सार्वजनिक गरेको छ । २०७४ साल वैशाख १ गतेदेखि २०७४ साल चैत मसान्तसम्म हिट्स एफएममा दर्ता भएका गीत तथा गीतिसंग्रहहरूबाट हरेक विधामा उत्कृष्ट पाँच मनोनयनमा परेका हुन् ।
यसपटकको एवार्डमा नितेश जंग कुँवरको हाम्रो नेपालमा, १९७४ ए डीको पीरैपीर, वास्तु सांगीतिक समूहको हावा चल्यो तथा दीप श्रेष्ठको सम्पत्ति दिए गीत विभिन्न पाँचवटा विधाको मनोनयनमा परेका छन् । सांगीतिक समूह आर के स्क्वायर चारवटा विधामा मनोनीत हुँदा द एक्ट समूहसमेत हराएको शीर्षकको गीतबाट चारवटा विधामा मनोनित हुन सफल भएको छ । गायिका बानिका प्रधानको जानी नजानी गीत पनि चार विधामा मनोनीत छ ।
गायक विश्व नेपालीको स्वरको तिरी किटी ताका गीत तीनवटा विधामा मनोनित छ भने गायक नबिन के भट्टराई, जेम्स प्रधान, लोचन रिजाल, शिव परियार, सञ्जीव पराजुलीका गीतहरू दुई–दुई विधामा मनोनीत छन् । चलचित्रतर्फ भने अर्जुन पोखरेल, दीपक शर्मा, कल्याण सिंह, राजनराज शिवाकोटी तथा टंक बुढाथोकी मनोनयमा छन् । सर्वोत्कृष्ट एकल गायन पुरुष विधामा विश्व नेपाली, दीप श्रेष्ठ, हेमन्त शर्मा, प्रमोद खरेल तथा शिव परियार मनोनयनमा छन् भने एकल गायन महिला विधामा बानिका प्रधान, जीना रसाईली, मीलन नेवार, निखिता थापा तथा संगीता राना प्रधान मनोनयनमा परेका छन् । सर्वोत्कृष्ट लोकगीतको विधामा अन्जान बाबु र प्रतिमा विश्वकर्मा, खड्ग गर्वुजा, खड्ग बुडा, पवित्रा घर्ती मगर र भीमा सुवेदी, नाइट, राजन ठकुरी र विष्णुमाय गुरुङ तथा तुलसी पराजुली मनोनयनमा परेका छन् ।
२०५४ सालमा सात विधाबाट प्रारम्भ भएको हिट्स म्युजिक एवार्डमा यसपटक १७ वटा विधा समावेश छन्, जसमध्ये एउटा विधा लाईफ्टाइम अचिभमेन्ट पनि हो । यो एवार्ड आगामी मंसिर महिनामा आयोजित हुने विशेष सांगीतिक समारोहमा वितरण गरिने बताइएको छ ।