कञ्चनपुरकी निर्मला पन्त बलात्कारीहरूका शिकार भइन् । उनका बलात्कारी हत्याराहरूको पत्तो लगाउन सरकार असफल भएपछि न्यायका लागि जनता एकपटक फेरि तातेका छन् । कञ्चनपुर निर्मलाको दुखान्त बाट बाहिर आउन सकेको छैन । यसअघि पनि कञ्चनपुर तातेको थियो । यस्तै हो भने कञ्चनपुरमात्र होइन, पूरै देश तात्नेछ । सरकारको मतिमा अलिकति सुधार आउला कि ? अपराधीहरू कठघरामा उभ्याइएलान कि भनेर आन्दोलन स्थगित गरियो ।
आफ्नो माग हातमा लिएर आन्दोलनकारी केन्द्रीय राजधानी आइपुगे । निर्मलाका आमा–बाले प्रधानमन्त्री तथा गृहमन्त्री गुहारे । तर, दुवैले निर्मलाका आमा–बालाई औपचारिक आश्वासनबाहेक केही दिएनन । निराशाको स्थितिमा कञ्चनपुर फर्किएकी निर्मलाकी आमाले राज्यबाट सामान्य नागरिकले न्याय नपाउने रहेछ भन्ने धारणा अभिब्यक्त गरिन ।
केन्द्रीय राजधानी काठमाडौं आएका आन्दोलनकारीहरूले घटना कसरी भयो ? षड्यन्त्रका सूत्रधार को थिए ? प्रहरी तथा गृहमन्त्रालयका अधिकारीसँग अपराधका बारेमा सामान्य जानकारी पनि थिएन । बलात्कारीहरूले निर्मलालाई किन मारे ? उनको मृत शरीर उखु बारीमा कसरी फेला पऱ्यो ? जस्तो जनताको सामान्य जिज्ञासा मेट्न पनि सुरक्षा अधिकारी तयार थिएनन । उनीहरू अपराधीहरूको संरक्षणमा लागेका छन् भन्ने छर्लंग हुन्थ्यो ।
निर्मलाका हत्यारा अहिलेसम्म पक्राउ परेका छैनन् । प्रहरीको लक्ष्य र उद्देश्यका रूपमा रहेको ‘सत्य, सेवा र सुरक्षणम’ प्रहरीको टोपीमा सुहाएको छ । उनीहरू आफनो टोपीमा जडिएको त्यो तीन शब्दको अर्थ बताउन सक्दैनन् । सुरक्षाको जिम्मेवारी लिएर बसेका प्रहरी अधिकारीहरूले बलात्कारीका अगाडि घुँडा टेकेको यथार्थसँग परिचित हुन स्कटल्यान्ड यार्डमा तालिमप्राप्त कुनै प्रहरी अधिकृतको जरुरत पर्दैन । निर्मलाको बलात्कारमा प्रभावशाली मानिसका आफन्तहरू नै सामेल छन् भन्ने कुरा अब घामजस्तै छर्लंग भैसकेको छ । सबैले अपराधीहरूको अनुहार प्रहरीले नै देखाओस् भन्ने मात्र चाहेका छन्, तर त्यो सम्भव देखिँदैन ।
निर्मला बलात्कार र हत्याका सम्बन्धमा देशका प्रधानमन्त्री के.पी. ओली तथा गृहमन्त्री रामबहादुर वादललाई कञ्चनपुर प्रशासनले अहिलेसम्म अन्धकारमै राखेका छन् भन्ने तर्कमा कुनै शक्ति छैन । उनीहरू काठमाडौं बसेर कञ्चनपुरमा भएको हत्याकाण्डको विवरण संकलन गर्दै थिए । प्रधानमन्त्री ओली र गृहमन्त्री बादल दुवैले निर्मला हत्याकाण्डमा आफ्नो विवेक र सरकार सञ्चालनमा चाहिने सन्तुलन गुमाइसकेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनका क्रममा दिएको एक टेलिभिजन अन्तर्वार्तामा निर्मला बलात्कार तथा हत्यासँग जोडिएका विषयलाई नै घालमेल गर्न खोजे । उक्त अन्तर्वार्ता हेर्दा प्रम ओलीका लागि निर्मलाले न्याय पाउने नपाउने कुराको चिन्ता थिएन । उनी घटनासँग सम्बन्धित षड्यन्त्रमा जोडिएको आशंका गरिएका दुई महिलाको असान्दर्भिक प्रतिरक्षामा लागेका थिए । विदेशी भूमिबाट निर्मला काण्डका बारेमा दिइएका उनका अभिब्यक्ति पनि मानवीय थिएनन् । निर्मला काण्डका अपराधी फेलापार्न बाह्र वर्ष पनि लाग्न सक्छ भन्ने उनको भनाइ जग हँसाइको कारण बन्यो । देशको मुख्य प्रशासक भएका नाताले प्रधानमन्त्री ओलीले निर्मला हत्याकाण्डका सम्बन्धमा जनतालाई आश्वस्त गराउनु आवश्यक थियो तर, उनी आफैं उत्तेजित थिए । आन्दोलनकारीको उत्तेजनालाई शान्त तुल्याउन सक्ने खुबी उनमा पटक्कै देखिएन ।
यो क्रमका अर्का पात्र रामबहादुर थापा बादलले त निर्मला बलात्कार र हत्याकाण्डलाई सांकेतिक बनाएर वादल पछाडि नै धकेली दिए । उनको बिचारमा, पुँजीवादका कारण बलात्कार र हत्याका घटना भएका हुन् । उनले कुन–कुन गैरपुँजीवादी मुलुकमा बलात्कार र हत्या हुँदैनन् ? भन्ने कुरा चाहिँे बताएनन् । बादलले आफ्ना बारेमा चलेका वा चलाइएका भ्रमको समापन आफैं गरे । उनमा नेतृत्व क्षमता र शासकीय गुण दुवै देखिएन । निर्मला काण्डमा उनले राष्ट्रपतिदेखि देशका सबै तहका मानिसलाई अनावश्यक संलग्न गराए । सरकारमा संगति देखिएन । सरकारभित्रकै एउटा पक्ष निर्मला काण्डमा सरकारको अविवेकका खिलाफ आन्दोलनलाई उक्साउँदै थियो । गृह मन्त्रालयलाई त्यसको कुनै जानकारी नै थिएन । बादलको योग्यता र क्षमता ३३ किलो सुन तस्करी काण्डमा पनि उदघाटित भैसकेको थियो । सुन तस्करको नाममा जसलाई मन लाग्छ त्यसलाई जथाभावी समातेर उनले सबैको दुर्दशा गरेका थिए तर, प्रम ओलीले बादललाई मात्र होइन, सबै नालायक मन्त्रीलाई काखी च्यापेका छन् । संसद्को दुइ तिहाई स्थान जितेर गठन हुँदैमा कुनै पनि सरकार बलियो हुँदैन । सरकार बलियो हुन त्यसले आफ्ना मात्र मतदाताको होइन, सवै मतदाताको विश्वास जित्न सक्नुपर्छ ।
सत्ताको स्वरुप यस्तै छ । अब के हुन्छ ? जनताले अहिलेसम्म प्रश्न गर्न छाडेका छैनन । जुन दिन जनताले प्रश्न गर्न छाडनेछन् त्यो दिन यो देशमा लोकतन्त्रको नाममाअधिकारहीन बुख्याँचाले शासनगर्न थाल्नेछ । त्यो बुख्याँचाको सालिक माइतीघर मण्डलामा उभिएको देखिनेछ । आवाजहीनहरूको आवाज मुखरित गर्न नसक्ने लोकतन्त्रको कुनै महत्व हुँदैन । अहिलेका शासकहरू लोकतन्त्र र जनतासंग डराएका छन् । यो डरका अगाडि त्यस्ता शासक मात्र टिक्न सक्छन् जो नैतिक रुपले बलिया छन्, श्रेष्ठ छन् । अरू सबैको अनुहार जनताले देखिसके । अपराधीको संरक्षणगर्नेहरूबाट सत्य र न्यायको संरक्षण हुन सक्दैन । निर्मला बलात्कार र हत्याकाण्डले एकपटक फेरी नेपालीहरूको दिमाग हल्लाएको छ, मस्तिष्क खलबल्याइदिएको छ । नेपाली सिनेमाकी नायिका रेखा थापाले भनेकी छिन् : छोरीहरू, डरको आँखामा तिमी आँखा जुधाएर हेर ताकि डर पनि तिमीसँग डराउन सिकोस् ।