साप्ताहिक संवाददाता
तपाईंको उमेर कति भयो ? सञ्चारकर्मीले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलासमक्ष जिज्ञासा राखे । दीपाले जवाफ दिनुअघि संगै रहेका दीपकराज गिरीलाई मजाले हेरिन् । कति भनौं भन्ने उनको कौतूहलताबीच दीपकराजले नै भने– ‘यस्तै २५–२६ भयौ हैन ?’ त्यसपछि दीपाले दीपकराजकै स्वरमा स्वर मिलाउँदै भनिन्– ‘अँ..त्यस्तै ।’
दीपाश्रीको उमेर जति नै भए पनि उनी दिन–प्रति दिन सुन्दर तथा स्लिम भैरहेको कुरा कसैबाट लुकेको छैन । अर्का सञ्चारकर्मीले पुन: जिज्ञासा राखे– तपाईंको यो सुन्दरताको रहस्यचाहिँ के हो नि ? अभिनेत्रीबाट निर्देशकका रूपमा समेत सफलता पाइसकेकी दीपाश्रीले छोटो–मीठो उत्तर दिइन्– ‘दीपाश्रीको सुन्दरताको राज दीपकराज ।’ दीपाश्रीको जवाफले वातावरणमा हाँसो गुञ्जियो ।
दीपाश्रीले पुन: थपिन्– ‘दीपकजीले मलाई राम्रा–राम्रा स्क्रिप्ट दिनुहुन्छ । म ती स्क्रिप्टमा आधारित भएर चलचित्र बनाउँछु । त्यो चलचित्र दर्शकले मन पराउनु हुन्छ । यी सबै कुराले मलाई खुसी दिन्छ । खुसी भएपछि मानिस त्यसै सुन्दर देखिन्छ अनि भएन त सुन्दरताको राज दीपकराज ।’