अहिले विद्यार्थीहरूले दसैं बिदा पाइसकेका छन् । जागिरेहरूले पनि अब चाँडै बिदा पाउनेछन् । व्यापार–व्यवसाय गर्नेहरूको त सधैं व्यस्तता, यद्यपि कतिपयचाहिँ दसैंको अवसरमा सम्भव भएसम्म बिजनेस रोकेरै पनि दसैं मनाउन लाग्नेछन् । टिकाको दिनबाहेक अरू दिन लगभग घुमेर, खाएर तथा साथीभाइहरूसँग भेटेरै बित्नेछ । यो समय युट्युबमा अपलोड हुने विशेष सामग्री हेरेर पनि दिन बिताउन सकिन्छ । घरमा त नेट हुन्न नि ? यदि यो प्रश्न छ भने नेट भएको ठाउँबाट आफूलाई मन पर्ने च्यानलका भिडियो डाउनलोड गरेर नेट नटिप्ने ठाउँमा समेत त्यसलाई हेरेर आनन्द उठाउन सकिन्छ ।
द भ्वाइस अफ नेपाल
द भ्वाइस अफ नेपालको लोकप्रियता निकै चुलिएको छ । यो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हो । यसको आफ्नै युट्युब च्यानल छ । नेपालमा यही वर्ष प्रारम्भ भएको यो कार्यक्रमको सबै प्रस्तुति अपलोड हुने यो च्यानलले लाइभसमेत दिन्छ । कुनै एपिसोड हेर्न छुटेको छ भने युट्युबमा मज्जाले हेर्न सकिन्छ ।
नेपाल आइडल
अहिले रियालिटी शो नेपाल आइडलको दोस्रो सिजन चलिरहेको छ । सन् २०१६ मा सुरु भएको यो कार्यक्रमको लोकप्रियता सुरुकै वर्ष ह्वात्तै बढेको हो । नेपाल आइडल च्यानलमा पहिलो वर्षदेखि यो वर्षसम्मका सहभागीहरूको प्रस्तुति हेर्न सकिन्छ । ६ लाख २६ हजारभन्दा बढीले सब्सक्राइब गरेको यो च्यानलमा लाइभको मज्जासमेत लिन पाइन्छ ।
म्युजिक नेपाल
लोकदोहोरी तथा आधुनिक–पप गीत का लागि म्युजिक नेपाल उत्तम च्यानल हो । यसमा १४ हजार ९ सय ५० भिडियो अपलोड गरिएका छन्, जसमध्ये आफूले खोजेको भिडियो खोजेर हेर्न सकिन्छ । २६ लाखले सब्सक्राइब गरेको यो च्यानल नेपाली गीतसंगीतका लागि प्रख्यात छ ।
हाइलाइट्स नेपाल
२२ लाख १० हजारले सब्सक्राइब गरेको हाईलाइट्स नेपालमा विशेष गरी चलचित्र, आधुनिक तथा लोकपप गीत अपलोड छन् । सन् २०१३ मा खुलेको यो च्यानल नेपालका लोकप्रिय च्यानलमध्ये एक हो ।
कविएस वर्ड टिभी
कोरियन चलचित्रले विश्व चलचित्र बजारमा राम्रै पकड जमाउँदैछ । कोरियन चलचित्र मन पराउनेहरू निरन्तर बढिरहेका छन् । कोरियन चलचित्र हेर्न यो च्यानल भिजिट गर्न सकिन्छ ।
बूढासुब्बा डिजिटल
नेपाली चलचित्र प्रेमीहरूका लागि सबैभन्दा प्रिय च्यानल हो— बूढासुब्बा डिजिटल । यो च्यानलमा विशेष गरी नेपाली चलचित्र हेर्न सकिन्छ । बूढासुब्बा डिजिटलमा ५ हजार ९ सय भिडियो अपलोड भएका छन् । यो च्यानलले नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न समाचार पनि निरन्तर सम्प्रेषण गर्दै आएको छ ।
ओएसआर डिजिटल
यो च्यानल पनि चलचित्रका लागि लोकप्रिय छ । पछिल्लो समय ओएसआरले चलचित्र तथा चलचित्रका गीतहरू विशेष रूपमा अपलोड गर्न थालेको छ । यो च्यानललाई १० लाखभन्दा बढीले सब्सक्राइब गरेका छन् ।
नेपाली प्रांकस्टार
दसैंको यो अवसरमा रमाइला भिडियो हेरेर पनि रमाउन सकिन्छ । युट्युबमा नेपाली प्रयांकस्टार च्यानलसमेत उपलब्ध छ, जहाँ प्रांक गरिएका भिडियोहरू समावेश हुन्छन् । यसमा प्रांकस्टार आकाशले निकै फन्नी तरिकाले धेरैलाई प्रांक गराइरहेका हुन्छन् ।
कलेज नेपाल
३ लाख ६९ हजारले सब्सक्राइब गरेको यो च्यानलले सामाजिक विषयवस्तुलाई टपक्कै टिपेर निकै रमाइलो ढंगका भिडियो उपलब्ध गराउँछ । युट्युबमा अहिले सबैभन्दा हिट मानिएको यो च्यानलले जानकारीमूलक सन्देश प्रदान गर्दै आएको छ । यो च्यानलमा अपलोड भएका भिडियोलाई अहिलेसम्म ६७ करोड पटक हेरिसकिएको छ ।
टि–सिरिज
हिन्दी गीतका भिडियो हेर्ने उपयुक्त च्यानल हो— टि–सिरिज । १२ हजारभन्दा बढी गीत अपलोड भएको यो च्यानल सब्सक्राइब गर्नेहरूको संख्या ६३ करोड पुगिसकेको छ ।
गोल्ड माइन्स
यो च्यानलले विशेषगरी दक्षिण भारतीय चलचित्र तथा ती चलचित्रका गीत अपलोड गर्छ । १४ करोडभन्दा बढीले सब्सक्राइब गरेको यो च्यानलमा दक्षिण भारतका हिट चलचित्रहरू हेर्न सकिन्छ ।
एस डी इन्टरटेनमेन्ट
यो च्यानलले बलिउडका चलचित्र अपलोड गर्दै आएको छ । सयौं चलचित्र उपलब्ध यो च्यानल अहिले लोकप्रिय बन्दै गएको छ ।
भिभिके भाइन्स
सम्भवत: यो सेल्फी चलचित्र उपलव्ध हुने पहिलो च्यानल हो । निकै रमाइलो तरिकाले खिचिएका यो च्यानलका भिडियोमा लाखौं भिजिटर्स हुन्छन् । यो च्यानललाई १० करोडभन्दा बढीले सब्सक्राइब गरेका छन् ।
चार्ली चाप्लिन
चर्चित कमेडियन चार्ली चाप्लिनका भिडियो हेर्नेहरू कहिल्यै दिक्क हुँदैनन् । चार्लीका भिडियो युट्युबमा अनेकन् च्यानलमा उपलब्ध छन् ।
मिस्टर विन
मिस्टर विनका भिडियो हेर्दा समय वितेको पत्तो हुँदैन । ९६ लाखले सब्सक्राइब गरेको यो च्यानलमा भएका भिडियो हेर्नेहरूको संख्या ३ अर्ब ९० करोडभन्दा बढी छ ।
कपिल शर्मा शो
कपिल शर्माको शो अहिले वन्द जस्तै छ । यद्यपि उनले दिएका प्रस्तुति विभिन्न च्यानलमा उपलव्ध छन् । खासगरी सेट इन्डिया तथा कमेडी नाइट्स च्यानलमा कपिल शर्मा शोका रमाइला भिडियो
हेर्न सकिन्छ ।
पि फर पकाओ
यो हिन्दी च्यानल हो । विशेषगरी विभिन्न व्यक्तिलाई झर्को उठ्ने गरी रिसाउन बाध्य पार्ने यो च्यानलका भिडियो हेर्नेहरूले निकै रमाइलो मान्छन् । च्यानल सञ्चालनमा आएको २ वर्षमै यसले निकै ठूलो फड्को मारिसकेको छ । पी फर पकाओमा गएर भिडियो हेर्ने हो भने मन अन्त डुलाइरहनु पर्दैन ।
ह्वाट द फ्लप
सन्दीप क्षेत्री नेपालका चर्चित हास्य कलाकार हुन । उनको कार्यक्रम ह्वाटस् द फ्लप निकै हिट छ । कान्तिपुर टिभी एचडी च्यानलमा गएर उनका प्रस्तुतिहरू हेर्न सकिन्छ ।
अमित भदाना
अमित भदाना भारतका चर्चित युट्युबर हुन् । १० करोड ७ लाखभन्दा बढीबाट सब्सक्राइब गरिएका अमित कमेडी भिडियोका लागि अत्यन्तै रुचाइएका युट्युबर हुन् । उनी ५२ वटा मात्र भिडियो अपलोड गरेर ठूलो संख्यामा भ्युज पाउने एक्ला भारतीय युट्युबर हुन् ।