साप्ताहिक संवाददाता
गायक कमल क्षेत्रीको पछिल्लो गीत ‘जाऊँला रेलैमा...’लाई इमेज अवार्डको बीसौं संस्करणमा ‘बेस्ट सङ अफ द इयर’ घोषित गरियो । अवार्ड वितरण कार्यक्रममा कमलसँगै टीका प्रसाई, दीपक बज्राचार्य, बानिका प्रधान र निखिता थापाका गीत प्रतिस्पर्धामा थिए । कमलले यही गीतबाट बेस्ट कम्पोजिसनको ट्रफी समेत उचाल्न सफल भए ।
कुल १८ मध्ये एसएमएस भोटिङका आधारमा प्रदान गरिएको एक मात्र विधा ‘पब्लिक च्वाइस अवार्ड’तर्फ गायिका टीका प्रसाईको ‘माया लुकी–लुकी...’ ले अन्यलाई अरुलाई पछि पार्दै अवार्ड उचाल्न सफल भयो ।
सर्वोत्कृष्ट गायनमा कर्मा ग्याल्जेन बमजन र दुर्गा परियारको नाम उद्घोष गरियो । उनीहरूले क्रमश: ‘जाऊ तिमी...’ र ‘म त हजुर वनफूल...’ गीतका लागि अवार्ड उचालेका थिए ।
कार्यक्रममा संगीतकार प्रकाश गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरियो । उनलाई इमेज गु्रप अफ कम्पनिजका आरके मानन्धर र इन्दिरा मानन्धरले सम्मानपत्रसँगै एक लाख रुपैयाँ प्रदान गरे ।
लोडसेडिङका कारण विद्युतीय सञ्चार माध्यमले निकै पीडा बेहोरेको स्मरण गर्दै मानन्धरले त्यो दर्दनाक अवस्थाको अन्त्य गरिदिएको भन्दै नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई धन्यवाद दिए । समारोहमा घिसिङलाई ‘पर्सनालिटी अफ द इयर’ को अवार्ड पनि प्रदान गरियो ।
सर्वोत्कृष्ट नवकलाकार विधामा सुवासचन्द्र जोशीको कामलाई सराहना गरियो । उनले ‘छामी हेरन...’ गीतका लागि ट्रफी हात पारे । आनन्द अधिकारीलाई ‘कति कुरा...’ गीतले बेस्ट लिरिक्स विधामा अवार्ड दिलायो भने युगल वा समूह गायनमा पूजन लोहागन र अनुपमा प्रधानलाई अब्बल मानियो । पप विधाको सर्वोत्कृष्ट गायनमा दीपक बज्राचार्य र श्रेया सोताङको नाम उद्घोष भयो । उनीहरूले क्रमश: ‘मन मगन...’ र ‘मन चरी..’ गीतका लागि ट्रफी हात पारे ।
गायिका सम्झना भण्डारीको ‘छिनछिन बज्ने चुरा...’ लाई वर्षकै सर्वोत्कृष्ट दोहोरी गीत मानियो भने प्रकाश सपुतले ‘बोल माया...’ का लागि बेस्ट फोक सङ कलेक्सन विधामा अवार्ड जितेका थिए । सर्वोत्कृष्ट गायन दोहोरी गीतमा मेक्सम खाती र पूर्णकला बिसी अब्बल ठहरिए भने सर्वोत्कृष्ट गायन लोक गीततर्फ सीता थापाले ‘दुई रुपैयाँको बिडी...’ का लागि ट्रफी उचालिन । गायक दीपक बज्राचार्यको ‘मग मगन...’ ले नै बेस्ट म्युजिक भिडियोको अवार्ड जितेको थियो ।
सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकारका रूपमा बुद्ध लामा, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकमा विकाश धमला र सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकमा निशान घिमिरेले अवार्ड उचाले । लामा र धमलालाई ‘तिमीलाई छुँदै...’ गीतका लागि अब्बल मानिएको थियो भने घिमिरेले ‘डोन्ट किल मी...’ गीतको भिडियोका लागि स्याबासी पाए ।