साप्ताहिक संवाददाता
गत आइतबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा ‘अभूतपूर्व परिकल्पना’ शीर्षक अन्तर्गत प्रस्तुत भएको फेसन कार्यक्रम शीर्षक अनुसार अभूतपूर्व नै रह्यो । विशाल र कलात्मक सजावटमा झकिझकाउ देखिएको र्याम्प सेटअप माथि ओहोर दोहोर गर्ने मोडलहरुले पहिरिएका कलात्मक, सृजनात्मक तथा फरक परिवेश र पृथक सोचबाट अभिप्रेरित पहिरन रुपी परिकल्पनाहरुले दर्शक दीर्घालाई निकै वेरसम्म मन्त्रमुग्ध बनाइरहन सफल भयो ।
परिकल्पना शीर्षक अन्तर्गतका २१ वटा पहिरनहरुमा विद्यार्थी डिजाइनरहरुको मिहेनत प्रशंसनीय थियो । ८४ जना विद्यार्थी डिजाइनहरुको २१ वटा समूहले प्रस्तुत गरेको भविष्यको परिकल्पना गर्दै तयार पारिएका पहिरनरुपी आकृतिहरु विज्ञान प्रविधि, जीव जन्तुको म्युटेसन, अनलाइन गेम्स, मानव र अन्य जीवको म्युटेसन, संगीत, रोबट, स्पेश सीप आदि प्रभावित थिए ।
सोही अनुरुप भविष्यको परिकल्पना गरिएका पहिरन रुपी आकृतिहरुमा पुच्छर, सिङ, पखेटा अदिको समायोजन पनि थियो । कपडा बाहेक विभिन्न घरायसी तथा व्यवसायिक परिवेशमा प्रयोग हुने विभिन्न सर सामाग्रीको समायोजन पनि ती पहिरनहरुको विशेषता थियो ।
नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङ पढाई अन्तर्गतको तीन वर्षे स्नातक तह पूरा गर्ने क्रममा चौधौँ ब्याचका ८४ जना विद्यार्थी डिजाइनहरुको कल्पनाशीलता र सृजनात्मक अभिव्यक्ति प्रदर्शन गरिएको सो फेसन कार्यक्रमको कोरियोग्राफी एवं निर्देशन रोजिन शाक्यले गरेका थिए । विद्यार्थी डिजाइनरहरु स्वयंले आयोजना एवं व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शो कार्यक्रमको प्रमोशनका लागि फोटोशुटमा प्रयोग भएका पहिरनका मोडलहरु सहित नमूना कलेजका संस्थापक प्रिन्सीपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रुपमा परिचित ज्ञानी शोभा तुलाधरको रनवेमा उपस्थिति संगै अगाडि बढेको थियो ।
कार्यक्रममा नेपाली सांस्कृतिक विविधता र जातिय पहिचानको चिनारी बोक्ने पहिरनहरुको फ््युजन शैलीहरु देखि जुट, हेम्प, अल्लो, ब्याम्बु जस्ता नेचुुरल फ्याब्रिक प्रयोग गरिएका पहिरनहरु पनि प्रदर्शन गरिएका थिए । २४ युवती तथा १० युवा मोडलहरुको उपस्थिति रहेको सो फेसन कार्यक्रममा ड्रामाटिक ग्ल्याम शीर्षक अन्तर्गत सुन्तला, प्याजी, पहेंलो, नीलो, सिल्भर जस्ता रंगहरुको प्रधानता रहेको साटन, नेट सिफन जस्ता फ्याब्रिकका खेलिएका लङ ड्रामाटिक गाउनहरु पनि प्रदर्शन गरिएका थिए ।
यसैगरी पप आर्ट अवधारणामा तयार पारिएका रंगी विरंगी पहिरनहरु पनि कार्यक्रम आकर्षण रह्यो भने पेस्टल कलरको प्रधानता रहेको विभिन्न स्लीव्स तथा स्लिट्सको प्रधानता रहेका पहिरनहरुले पनि र्याम्पमा ओहोर दोहोर गरेको थियो ।